भन्सार शुल्क अनिवार्य गरेपछि नेपाली बजारमा बढ्यो चहलपहल !

भन्सार शुल्क अनिवार्य गरेपछि नेपाली बजारमा बढ्यो चहलपहल !


सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने प्रवृत्ति निरुत्साहित

मेची भन्सार कार्यालय काँकडभिट्टाले रु. एक सयभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क लिन थालेपछि सीमावर्ती भारतीय बजारमा घरायसी सामान किन्न जाने निरुत्साहित भएका छन् ।

पूर्वीनाकामा परिचालन गरिएका भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतबाट किनमेल गरेर फर्केकालाई भन्सार शुल्क तिराउन नाकामै जाँचमा कडाइ गर्न थालेका छन् । भन्सार र सुरक्षाकर्मीको कडाइपछि सीमावर्ती नेपाली बजारमा चहलपहल बढेको छ ।

भन्सार विभागको निर्देशनअनुसार यो नियम कडाइका साथ लागू गरिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिएका छन् । ‘साउन १ गतेदेखि नै हामीले यो नियम लागू गरिसकेका छौँ, देशभरका सीमा नाकामा यो नियम लागू भएको हो । कसैले जबरजस्ती भन्सार नतिरी लैजान खोजे सामान जफत हुनेछ’- उनको भनाइ छ ।

सीमावर्ती भारतीय बजार पानी ट्याङ्की, नक्सलबाडी र सिलिगुढीबाट किनमेल गरेर आउनेले यसअघि काँकडभिट्टा नाकाबाट भन्सार शुल्क नतिरी घरायसी सामान भित्र्याउँदै आएका थिए । भन्सारको कडाइपछि सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने निरुत्साहित भएका छन् । स्थानीयवासी चिनी, तेल, दाल, सागसब्जी, लत्ताकपडालगायत घरायसी वस्तुको किनमेल गर्न भारतीय बजार धाउँदा झापाका काँकडभिट्टा, धुलाबारी जस्ता सीमाका ठूला बजार सुनसान बन्ने गरेका थिए । अब यी बजारमा चहलपहल बढ्ने अपेक्षा गरिएको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाइँ बताउँछन् ।

भारतबाट किनमेल गरेर ल्याइएको रु. एक सयभन्दा बढीको सामानमा शुल्क लगाउने भन्सारको नयाँ नीतिलाई मेची उद्योग वाणिज्य सङ्घको समर्थन रहेको र कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न सङ्घ तयार रहेको अध्यक्ष प्रसाइँले बताए । ‘बिहान बेलुकै नुन, तेल, भुटुन र सागसब्जी किन्न भारतीय बजार जाने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी थियो’, उनले भनेका छन्– ‘नेपालका बजारमा सामान बिक्री नभएर व्यवसायीले पलायन हुनुपर्ने अवस्था आइसक्यो । भन्सारको कडाइले स्थानीय बजारलाई पुरानै लयमा फर्काउन मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।’

मेचीनगर नगरपालिकाले भन्सारको नयाँ नियमलाई सघाउने जनाएको छ । नगरपालिकाकी कार्यवाहक नगरप्रमुख मीना उप्रेतीले भारतबाट रु. एक सयभन्दा बढीको सामान आयात गर्दा भन्सार शुल्क लगाउने नीति स्वागतयोग्य भएको प्रतिक्रिया दिइन् । आयातित मालसामानमा आयातकर्ता र बजार वितरकको पूरा विवरणसहितको लेबल लगाउन भन्सारले अनिवार्य गरेको विषय पनि स्वागतयोग्य भएको उनको भनाइ छ ।

‘राज्यलाई कर छलेर सीमावर्ती भारतीय बजारलाई पोस्ने गतिविधि रोक्ने भन्सार नीतिलाई कडाइका साथ लागू गराउन नगरपालिकाको अनुगमन समितिले सहयोग गर्छ, आयातित सामानको गुणस्तरप्रति उपभोक्तालाई विश्वास दिलाउन र ब्रान्डको दुरूपयोग रोक्न आयातकर्ता र बजार वितरकको लेबल अनिवार्य लगाइनुपर्छ । यदि लेबल नलगाई सामान बेचेको भेटिएमा जफत गर्नेछौँ’- कार्यवाहक नगरप्रमुख उप्रेतीले भनेकी छन् ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रेग्मीले आयातित मालसामानमा साउन १ गतेदेखि आयातकर्ता र बजार वितरकको लेबल लगाउन अनिवार्य गरिएको बताए । यदि कुनै आयातकर्ता र बजार वितरकले लेबल नटाँसी सामान बजारमा लगेको पाइएमा नेपाल सरकारका अनुगमनकारी कुनै पनि निकायले सामान तत्काल जफत गर्ने कानूनी व्यवस्था रहेको उनले प्रष्ट पारे ।