धाँगर : नेपालमा एक द्रविड जनजाति

धाँगर : नेपालमा एक द्रविड जनजाति


इतिहास
✍ सुनिल उलक

धाँगर वा झागड भनिने नेपालको पूर्वी तराइमा रहेका अल्पसंख्यक जातिमा पर्दछ । निकै कम संख्यामा रहेका यी जातिको भाषा पनि नेपालमा खासै नबोलिने द्रविड भाषा बोल्ने एक मात्र प्रजाति हो । पछिल्लो जनगणनामा यि जातिहरूको संख्या नेपालमा ३७ हजार ४ सय २४ भनिएको छ । तर यो भन्दा निकै कम मात्र नेपालमा रहेको अनुमान गर्न सकिन्छ । भारतको छोटा नागपुर भनेर चिनिने अहिलेको झारखण्ड राज्यको पठार क्षेत्रबाट हजारौँ वर्ष पहिले नेपाल पसेको अनुमान गरिएको यो जाति निकै कम संख्यामा रहेका छन् ।

तराइमा ब्यापक छुवाछुट तथा अन्य समस्याले आफूलाई राजवंशी भनेर पनि चिनाउने प्रयास यो जातिका केहीले गरेको यस जातिको विस्तृत अध्ययन गरेका योहन रेयनहर्डको अनुभव छ । आजभन्दा ५० वर्ष अगाडि नै रेयनहर्डले यो जातिको बारेमा अध्ययन गरेका थिए । उनले सन १९७० मा नै धाँगरसम्बन्धी बिस्तृत अध्ययनको लामो लेख भियनाबाट प्रकाशित हुने ‘बुलेटिन अफ दि इन्टरनेशनल कमिटि अन अर्जेन्ट एन्थ्रोपोलोजिकल एण्ड एथ्नोलोजिकल रिसर्च’मा प्रकाशित गरेका थिए । उनको लेख ‘धाँगर : नेपालमा एक द्रविड जनजाति’ एक महत्वपूर्ण खोज रहेको थियो त्यसबेला ।

नेपालमा द्रविड भाषा बोल्ने पनि हुनसक्छ भनेर खासै कमैलाई जानकारी थियो । अमेरिकी पिसकोर भोलेन्टियरका रूपमा २०२५ सालमा सिराहा पुगेका जेराल्ड ओइकल्सले घुम्ने क्रममा सिराहाको महेन्द्रनगरबाट १० मिनेट हिँडेर जाँदा सखुवा गाउँमा धाँगर जातिका केही मानिसहरू भेटे । धाँगरहरू भारतको बिहारमा पनि रहेको हुँदा उनको विशेष चासो भयो । उनले यो जानकारी तुरुन्तै मानवविज्ञानी रेयनहर्डलाई दिए । त्यसबेला रेयनहर्ड पनि अमेरिकी पिसकोरका रुपमा बिकासोन्मुख राष्ट्र जान चाहने अमेरिकी बिद्यार्थीहरूका लागि तालिम दिने काम गर्दथे । यही कारणले पनि पिसकोर भोलेन्टियरबाट पाउने जानकारी उनका लागि महत्वपूर्ण हुने गर्दथ्यो । उनले पिसकोरहरूबाटै पाएको जानकारीका आधारमा नेपालमा कुसुन्डा, राजी, राउटे तथा कुम्हालेहरूको पनि अध्ययन गरेका थिए ।

रेयनहर्डले २०२७ सालको भदौमा अर्कै प्रोजेक्टमा काम गर्ने क्रममा जीतपुर देखि २ घण्टा पश्चिमको गाउँमा २० घर धाँगरहरूको भेटे । उनिहरूले रेयनहर्डलाई आफ्ना पुर्खाहरूले छोटा नागपुरबाट आएको भनेर सुनाएका कथन दोहोऱ्याएका थिए । उनिहरूका अनुसार धाँगरहरू सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी र मोरङमा पनि रहेको जानकारी दिएका थिए । उनिहरू शिकार नगर्ने, होली तथा दशहरा मान्ने गर्दथे । सरस्वतीलाई विशेष रूपले पूज्दथे । भोजपुरी भाषाको बाहुल्य रहेकाहरूको बिचमा बस्ने हुँदा यिनीहरूले बोल्ने द्रविड भाषामा भोजपुरी शब्दहरू पनि समाहित भएका थिए ।

अध्ययनको क्रममा धाँगरहरू कर्नाटकी नै भएको तथा बिस्तारै उत्तरतर्फ बसाइँ सर्ने क्रममा नर्वदा नदी हुँदै विहार पुगेका थिए । यसरी सोन नदीको किनारमा बस्न थाले । मुसलमानहरूको आक्रमणमा भाग्ने क्रममा एक भाग झारखंडको राजमहल पहाड तिर बस्न थाले भने अर्को भाग अझै सोन नदी हुँदै अगाडि बढेर छोटा नागपुरको पहाडी भागमा बस्न गए । यही छोटा नागपुरमा रहेकाहरू नै बिस्तारै नेपालतर्फ प्रवेश गरेका थिए ।

नेपालमा रहेका थारुहरू जसलाई हजारौँ वर्ष पहिले भारतको थार प्रदेशबाट आएको मानिन्छ । तिनको समानता भारतको दक्षिण प्रान्तसँग रहेको छ भने नेपालमा रहेका नेवारहरूमा कर्नाटकी राजा हरिसिंहदेवको साथ भक्तपुर पसेका केहीको समानता पनि दक्षिण भारतसँग रहेको छ । यस्तै दक्षिण भारतको सम्बन्ध पनि नेपालसँग रहेको छ । दक्षिण भारतको केरला राज्यमा रहेको प्रख्यात मन्दिर पद्मनाभस्वामीको मन्दिरको पूननिर्माणको क्रममा वि.सं. १७८६ मा त्रावणकोरका राजा मार्तड वर्माले काठबाट बनेको मूर्ति जीर्ण भएपछि नेपालको कालीगण्डकी किनारबाट १२००८ सालिग्राम लगेर नयाँ मूर्ति बनाउन लगाएका थिए । मन्दिर निर्माणपश्चात नेपालको पशुपतिनाथमा अनुष्ठान पूजा गरेर राजपरिवारको कूलदेवताको रूपमा रहेको पद्मनाभस्वामी मन्दिर जनतालाई सुम्पेका थिए । साथै उनले राजपरिवारका नाममा रहेको सम्पति पनि पद्मनाभस्वामी मन्दिरलाई सुम्पेका थिए । अहिले विश्वको धनी मन्दिरका रूपमा यस मन्दिरको चर्चा हुने गर्दछ । त्यसबेला भक्तपुरमा राजा रणजित मल्लको शासनकाल रहेको थियो । तसर्थ नेपालको मल्ल राजाहरूसँग पनि सहयोग लिएको अनुमान गर्न सकिन्छ ।

आलेखमा प्रस्तुत गरिएका तस्बिर एक धाँगर महिलाको हो । उनको यो तस्बिर अमेरिकी पिसकोर भोलेन्टियर जेराल्ड ओइकल्सले खिचेका थिए । सम्भवतः नेपालमा द्रविड भाषा बोल्ने पनि बसोबास गर्ने भन्ने प्रमाणित त्यही बेला नै भएको थियो ।