एक्कासी बेहोस हुँदा…

एक्कासी बेहोस हुँदा…


हामी कुनैपनि बेला अनन्त संसारमा जान सक्छौँ, जुन संसारलाई अहिलेसम्म कसैले देखेको छैन । हामी कुनैपनि बेला बेहोस हुन सक्छौँ, त्यसैले जति बाँच्छौँ सचेततापूर्वक बाँचौँ ।
✍ बबिता बस्नेत

‘अहिले म बेहोस भएर ढलेँ भने के होला ? ’ हामी प्रायः यस्तो सोच्दैनौँ । खाइरहेको छु, हिँडिरहेको छु, काम गरिरहेको छु, सक्रिय छु, स्वस्थ छु, त्यस्तो के होला र ! भन्ने हामीलाई लाग्छ । हुनपनि जिन्दगी सहज चलिरहेका बेला मलाई केही भइहाल्ला कि भनेर नकरात्मक कुरा किन सोच्नु ? तर जिन्दगी ठिकठाक चलिरहेकै बेला पनि मलाई जुनकुनै बेला जे पनि हुनसक्छ भन्ने कुरा मनमा लिएर अघि बढ्नुपर्नेरहेछ । केही क्षणअघिसम्म हिँडिरहेको, बोलिरहेको मानिस एक्कासी बेहोस भएर ढलेपछि उ र उसको परिवारका सदस्यहरू बाँचिरहेको संसार नै परिवर्तन हुने रहेछ ।

२०८० साल असार २८ गते मेरो बुबा मोहनबहादुर बस्नेतलाई ‘ब्रेन स्ट्रोक’ भएपछि अस्पताल बस्दा त्यस्ता धेरै मानिसहरू देखेँ, भेटेँ, जो अकस्मात बेहोस भएपछि अस्पतालको आइसीयुमा थिए । कतिको होस आएको थिएन, कतिको होस थियो तर बोली थिएन । आईसीयुमा धेरै सोधीखोजी गर्ने कुरा भएन, बिरामी कुरुवा कक्षमा बस्ने आफन्तहरूसँग बुझ्दा तीमध्ये धेरै मानिसहरू हिँड्दाहिँड्दै, बोल्दाबोल्दै आफ्नै लयको जिन्दगी बाँचीरहेका बेला एक्कासी ब्रेन स्ट्रोक या ब्रेन हेमरेज भएर बेहोस भएका थिए । कतिचाहिँ नशासम्बन्धित अन्य बिरामीहरू ।

अस्पतालको वार्डमा मानिसहरूले भनेको सुनिन्छ, बिचरा के भन्नु थियो होला… अह्राउनु थियो होला… सम्पत्तिको बाँडफाँड पनि भएको थिएन… के-कहाँ छ हामीलाई त थाहा पनि छैन… छोराछोरी पनि बाहिर छन्… उहाँले कुन बैंकमा पैसा राख्नुभएको थियो पनि थाहा छैन, अहिले उपचार गराउनलाई पैसा छैन… आ-आफ्नो परिस्थितिअनुसारका संवादहरू ! एक्कासी बेहोस भएर भेन्टिलेटरमा १८ वर्षको छोरा राखेकी आमालाई सम्झाउन सक्ने अवस्था थिएन । उमेरले पनि फरक नपार्ने रहेछ । मृत्युलाई नजिकबाट देख्नु र अनुभव गर्नु फरक कुरा हुन् । डाक्टरहरूले मृत्युको मुखमा पुगेका र अन्तिम सास लिँदै गरेका मानिसहरूलाई नजिकबाट देखेका हुन्छन् तर मृत्युको अनुभव त उनीहरूलाई हुँदैन, कसैलाई पनि हुँदैन । त्यसैले कहिलेकाहीँ उनीहरूको मेडिकल अनुमान फेल भएका उदाहरण पनि प्रशस्तै हुने गर्छन् । माया मारेका बिरामीहरू फर्कने र केही हुँदैन भन्ने ठानेकाहरूले आफ्नै अगाडि जिन्दगीको अन्तिम सास लिने । डाक्टर र नर्सहरूको जीवन बाहिरबाट हेर्दा र चर्चा गर्दा भन्दा कैंयौँ गुणा कठिन लाग्यो । बिहानदेखि बेलुकासम्म जसको जिन्दगीले रोग र बिरामी भन्दा अन्य कुरा देख्न र महसूस गर्न कमै पाउने गर्छ ।

अस्पताल बसाइले हामीले सित्तैमा के कुरा पाइरहेका छौँ भनेर प्रकृतिप्रति आभारी हुन मनलाग्ने धेरै कुराको महसूस गराउने रहेछ । बिनाअक्सिजन हामी तीन मिनेट मात्रै बाँच्न सक्छौँ । जन्मेदेखि वर्षौंवर्ष प्रकृतिले हामीलाई सित्तैमा अक्सिजन दिइरहेको छ ।

कुनै पनि रोग आफैमा कठिन हो । चाणक्यले भनेका छन्- रोग, शत्रु र ऋणलाई कहिल्यै सानो नठान्नु । स्ट्रोक भएर या कुनैपनि कारणले एक्कासी बेहोस हुनेचाहिँ थप कठिन हो किनभने उनीहरूले कुनै कुरा भन्न या बोल्नै पाउँदैनन् । हामीकहाँ आफूसँग भएको जायजेथा जे छ पोको पारेर जतनले राख्ने चलन छ । सन्तान या अरु कसैलाई दिन मन भएपनि अहिले बेला भएको छैन भन्दै राखिन्छ । घरजग्गाको लालपुर्जादेखि गहना-पैसासम्म दराज, सुटकेस या बाकसभित्रका पोकामा हुन्छन् । कहाँ, के छ थाहै हुँदैन । विकसित देशमा यस्ता कुराहरूमा प्रायः आफू स्वस्थ हुँदा नै ‘वील पेपर’ अर्थात इच्छापत्र बनाएर राख्ने चलन हुन्छ । कानून ब्यवसायी राखेर या आफैले आफ्नो शेषपछि यो यसलाई दिनु, यो यस्तो गरिदिनु भनेर लेखिने हुँदा मृत्युपछि सोहीअनुसार गरिन्छ । यसपटक अस्पतालको माहौलले इच्छापत्र सबैले बनाएर राख्दा राम्रो हुन्छ जस्तो लाग्यो । कतिपय मुलुकमा कानून ब्यवसायीहरूले प्रत्येक ६ महिनामा इच्छा पत्र अपडेट गर्न सम्बन्धित ब्यक्तिहरूलाई सोध्दा रहेछन् । विगतको ६ महिनामा कसैको ब्यवहारले या त्यसैपनि सोचमा कुनै परिवर्तन आयो कि भनेर त्यस्तो गरिने रहेछ । हामीकहाँ पनि इच्छापत्र बनाउँदै नबनाइने होइन तर यो आम चलनमा छैन । यसको मुख्य कारण सम्पत्तिमा सन्तानको हक कायम हुनुले पनि हो । राम्रो गरेपनि नगरेपनि हामीकहाँ सन्तानलाई स्वतः हक जान्छ । सम्पत्तिमा इच्छा-प्रणाली नै सबैभन्दा राम्रो हो भन्ने लाग्छ ।

अस्पताल बसाइले हामीले सित्तैमा के कुरा पाइरहेका छौँ भनेर प्रकृतिप्रति आभारी हुन मनलाग्ने धेरै कुराको महसूस गराउने रहेछ । बिनाअक्सिजन हामी तीन मिनेट मात्रै बाँच्न सक्छौँ । जन्मेदेखि वर्षौंवर्ष प्रकृतिले हामीलाई सित्तैमा अक्सिजन दिइरहेको छ । अक्सिजन किनेर सास फेर्नुपर्ने अवस्था आउनुअघि हामीलाई खासमा यस्ता कुराहरूको मतलव पनि हुँदैन । शरीरमा हाम्रा जे-जे अङ्गहरू छन् तिनको महत्व कुनै एउटा चलाउन नसकेपछि हुने गर्छ । दुई खुट्टाले ठमठम हिँड्न सक्ने कुरा कति ठुलो हो भन्ने हातखुट्टा नचलेपछि थाहा हुन्छ । प्रकृतिले हाम्रा हरेक अङ्गलाई बडो ध्यानपूर्वक बनाएको छ तर हामीले चाहिँ यो के ठुलो कुरा हो र ! सबैको त छ भनेर खासै वास्ता गर्दैनौँ ।

प्रायः हामी सबैलाई आफूले जिन्दगीमा संसारै धानीरहे जस्तो लाग्छ । म नभए त यो कसले गर्थ्यो र ? म छु र पो यो सबै छ भन्ने लाग्छ । खासमा हामी नहुँदा पनि यो संसार यसैगरी चलिरहनेछ जसरी अहिले चलेको छ । हामीमध्ये धेरैलाई म नहुँदा पनि यो संसार यसैगरी चल्ने ? भन्ने लाग्न सक्छ, तर वास्तविकताचाहिँ के हो भने हामी नहुँदा पनि हाम्रो परिवार, आफन्त, निकटवर्ती, प्रियजनहरू र यो संसार यसैगरी चलिरहेको हुनेछ । न हामी अफ्नो खुशीले यो संसारमा आएका हौँ न त आफ्नो स्वीकृतिले यो संसार छोड्नेछौँ । हाम्रो हातमा नभएको मृत्यु र हातमा भएको जीवनका बारेमा हामीले गहिरिएर खासै हेर्दैनौँ । कसले के गरे, के भने, कसको कति उन्नति-प्रगति भयो, कसरी भयो ? कसको स्वभाव कस्तो, त्यसले किन यसो भन्यो, किन त्यसो गऱ्यो ? मलाई होच्याउने ? मजस्तो मान्छेलाई यसो गर्ने ? या कसरी त्यो पदमा पुग्ने ? मैले यसो गरेको थिएँ, भनेको थिएँ, म जस्तो… भनेर सोच्दा र ति कुराहरूको पछि लाग्दालाग्दै मानिसले समय, मृत्यु जस्ता अकाट्य सत्यका बारेमा सोच्दैन, महत्व नै दिँदैन ।

धन सम्पत्ति भएको, नभएको, विद्वान्, ज्ञानी या मुर्ख जे भएपनि हामी कति समयका लागि यो पृथ्वीमा छौँ या हामीसँग कति समय छ भन्ने कसैलाई थाहा हुँदैन । जिन्दगीको सबैभन्दा ठुलो रहस्य र सत्य मृत्यु हो । मृत्यु मानिसको जीवनमा सबैभन्दा ठुलो त्रास पनि हो । हामी कुनैपनि बेला अनन्त संसारमा जान सक्छौँ, जुन संसारलाई अहिलेसम्म कसैले देखेको छैन । हामी कुनैपनि बेला बेहोस हुन सक्छौँ, त्यसैले जति बाँच्छौँ सचेततापूर्वक बाँचौँ ।