नारायणकाजीको सक्कली रूप !

नारायणकाजीको सक्कली रूप !


✍ विवेक शर्मा

हाल उपप्रधानमन्त्रीको हैसियतमा गृहमन्त्रालयको जिम्मेवारी लिनुहुने नारायणकाजी श्रेष्ठको औपचारिक परिचय माओवादी पार्टीको उच्च नेताका रूपमा कायम भएको छ । राजनीतिक जीवनको प्रारम्भमा काङ्ग्रेसमा आवद्ध भएर प्रजातान्त्रिक आन्दोलनमा सक्रिय श्रेष्ठ प्रजातान्त्रिक विचारप्रतिको असहमतिका कारणले भन्दा पनि काङ्ग्रेसनेताहरूको सोच-ब्यवहारप्रतिको उदासिनताले उक्त दल त्याग्न बाध्य हुनुभएको थियो । काङ्ग्रेस नेतृत्वले देश बनाउने बिश्वास भइदिएको भए सम्भवतः उहाँले कम्युनिष्ट पार्टीको सदस्यता ग्रहण गर्नुहुने थिएन । कम्युनिष्ट पार्टीमा उहाँ लामो समय बौद्धिक फाँटमा रहेर क्रियाशील हुनुभएको हो । शिक्षा र सञ्चार दुवै क्षेत्रको अनुभव उहाँले कम्युनिष्ट पार्टीमा सक्रिय हुँदाहुँदै गर्नुभएको थियो ।

तत्कालीन नेकपा एकताकेन्द्र (चौथो महाधिवेशन र मशालसहितको समूह मिलेर बनेको) भित्र सशस्त्र सङ्घर्ष गर्ने या शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट क्रान्ति सम्पन्न गर्ने भन्ने विषयमा मतभिन्नता प्रकट हुँदा निर्मल लामा हिंसात्मक सङ्घर्षको विरूद्ध उभिनुभएको थियो र, लामालाई उक्त वैचारिक धरातलमा उभ्याउन सहयोग गर्ने मुख्य नेताहरू मध्ये एक हुनुहुन्थ्यो- नारायणकाजी श्रेष्ठ । लामा झैँ श्रेष्ठ पनि प्रचण्ड र मोहन वैद्यसँग असहमति जनाउँदै वैचारिक सङ्घर्षमा उत्रिनुभएको थियो । कालान्तरमा उक्त वैचारिक सङ्घर्ष नै पार्टी विभाजनको कारण बन्यो । विभाजनको केही समयपछि नै श्रेष्ठले नेकपा चौमको कमाण्ड सम्हाल्नु परेको थियो ।

सुरुदेखि नै शान्ति र अहिंसाको पक्षमा उभिँदै आउनुभएका नारायणकाजीले माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । २०६३ मा माओवादीहरू शान्तिपूर्ण खुला राजनीतिमा आएपछि मात्र पार्टी एकीकरण भएर नारायणकाजी ‘माओवादी नेता’ बन्नुभएको हो । त्यसैले प्रचण्ड, बाबुराम, जनार्दन, नन्दकिशोर, कृष्णबहादुर, वर्षमान आदिलाई झैँ अस्वाभाविक र आपराधिक पृष्ठभूमिको नेताको रूपमा उहाँलाई बुझिँदैन । पारिवारिक जीवनमा नअल्झिने अठोटसहित अविवाहित रहनुभएका नारायणकाजीले आफ्नो पूरै जीवन देशका नाममा समर्पण गर्नुभएको आभास हुन्छ ।

मार्क्सवादीहरूलाई स्वतः भौतिकवादीका रूपमा बुझिन्छ, तर नारायणकाजी यसमा पनि अपवाद हुनुहुन्छ । उहाँ आफू अध्यात्मवादी भएको सगौरव बताउनुहुन्छ र, आध्यात्मिक साधनामा पनि उहाँले समय दिने गर्नुभएको छ । कुनै-कुनै समयमा त बेलुका ध्यानमा बसेका नारायणकाजी एकैपटक बिहान हुँदा मात्र ध्यानबाट बाहिरिनुहुन्छ । उहाँले मार्क्सवादको भन्दा बढी ज्ञान अध्यात्म र आध्यात्मिक गुरुहरूका बारेमा राख्नुभएको छ । जटिल र जटिल परिस्थितिमा कुनै निर्णय लिनुपर्दा अध्यात्मिक गुरुको शिक्षा र सुझावलाई उहाँले सर्वाधिक महत्व दिने गर्नुहुन्छ । उहाँलाई नजिकबाट बुझ्नेहरूको निष्कर्ष छ- ‘यदि नारायणकाजी राजनीतिमा नरहनुभएको भए सन्त बन्नुहुन्थ्यो ।’ तर उहाँ राजनीतिमै रहेर पनि सन्तको जीवन जिउने अभ्यास गर्दै हुनुहुन्छ । उहाँले धन आर्जनलाई आफ्नो जीवनको लक्ष्य बनाउनुभएको छैन, बरु जीवनको उत्तरार्धमा साधु-सन्त बनेर मर्ने इच्छा उहाँले राख्नुभएको बुझ्न सकिन्छ । यस्तै सोचले उहाँलाई राष्ट्रिय दायित्व पूरा गर्न उर्जा प्रदान गरेको छ ।

यतिबेला भ्रष्टाचार र भ्रष्टाचारीविरूद्ध जसरी नारायणकाजीका पाइला चलेका छन्, यो साहस र हिम्मतका पछाडि कुनै शक्तिको हात छ भने त्यो उहाँको इच्छाशक्ति र इमानदारीको मात्र हो । बाहिरी आवरण खाइलाग्दो, सफा र सुन्दर भएकोले धेरैलाई लाग्नसक्छ उहाँ अरूहरू जस्तै साधारण कोटीका मानिस हुनुहुन्छ । तर वास्तविकता त्यस्तो होइन, आफू राजनीतिमा आउनुको कारण देशका निम्ति र, केवल देशका निम्ति भएकोले निर्भयका साथ कुनै पनि कदम चाल्न पछि नहट्ने उहाँको दृढता छ । आफ्ना कमजोरीहरूलाई सुधार्दै सम्पूर्ण जीवन राष्ट्रका नाममा समर्पण गर्ने प्रतिवद्धताकै कारण उहाँसँग पार्टीभित्र र बाहिरका सबै किसिमका भ्रष्टाचारप्रेमीहरू त्राहीमाम हुन पुगेका छन् । मृत्युभयबाट मुक्त नारायणकाजी अन्तर्राष्ट्रियवादमा विश्वास राख्ने कम्युनिष्ट पार्टीमा भएर पनि एक सच्चा देशभक्त हुनुहुन्छ । देशको हितका निम्ति जो-कसैसँग सम्झौता र सङ्घर्ष गर्ने उहाँको अदम्य इच्छाशक्तिकै कारण हालैका दिनमा भ्रष्टाचारविरूद्धको अद्वितीय कदम चल्न सकेको हो ।

नारायणकाजी श्रेष्ठ कमजोरी प्रमाणित ब्यक्ति हुनुहुन्न, उहाँका पनि प्रकट-अप्रकट कमजोरी छन्, हुनसक्छन् । तर यो समयमा सतहमा आएका नेताहरूमध्ये सबैभन्दा इमान्दार, हिम्मतदार र कार्य परिणाममुखी भएकोमा चाहिँ शङ्का गरिरहनु पर्दैन । उहाँको यही चरित्र र स्वभावका कारण पक्ष र प्रतिपक्षको उच्च तहका नेता, उच्च पदका कर्मचारी र अवैध आम्दानीमा रमाइरहेका ब्यापारीहरू त्रस्त हुनुपरेको हो । ललिता निवास सरकारी जग्गा कब्जाका योजनाकार मीनबहादुर, नक्कली शरणार्थी प्रकरणका नाइकेहरू टोपबहादुर, बालकृष्ण र बहालवाला सचिव टेकनारायण लगायतलाई कानूनी कारबाहीको दायरामा ल्याउन नारायणकाजीले जुन उपाय अवलम्बन गर्नुभयो, त्यसलाई बुझ्दा उहाँबाहेक अरू कोही भएको भए यस्ता कदम चालिन सम्भव थिएन भन्ने स्पष्ट हुन्छ ।

प्रचण्ड-बाबुराम, वर्षमान-जनार्दन, नन्दकिशोर-कृष्णबहादुर र हिसिला-गंगालाई हेरेर आममानिसले माओवादीबाट भ्रष्टाचार नियन्त्रण र सुशासन असम्भव भएको जुन निष्कर्ष निकालेका छन्, त्यो गलत नभएजस्तै नारायणकाजी एक्लैको अग्रसरतामा केही सहयोगी प्रहरी कर्मचारीका कारणले मात्र भ्रष्टाचारविरूद्धको प्रारम्भिक कदम चाल्न सम्भव भएको तथ्य पनि स्वीकार गर्नुपर्ने अवस्था छ । कसै न कसैले प्रारम्भ गर्नुपर्ने काम नारायणकाजीले गर्नुभएको छ, उहाँलाई निरुत्साहित गरेर भ्रष्टाचारीहरूको मनोबल बढाउनुभन्दा सुशासन चाहने सबैले यतिबेला उहाँलाई हरतरहले साथ दिनु उपयुक्त हुनेछ । फेरि यस्तै गृहमन्त्री नेपालले पाउन अर्को कति समय पर्खनुपर्ने हुन्छ, यो समयलाई हामी सबैले सदुपयोग गर्नु उपयुक्त हुनेछ ।