ब्यङ्ग्योक्ति
✍ ज्ञानमणि भुर्तेल
निकैअघि धरावासीका छोराको बिहेपार्टी काठमाडौंमा भेट हुँदा सोधेको थिएँ- स्वास्थ्य अवस्था कस्तो छ दाइ ?
प्रसङ्ग उहाँको प्रोस्ट्रेट क्यान्सर उपचारको थियोे ! गब्बर हाँसोका साथ कुमारदाइको जवाफ आयो- कुमारेकी आमाले यति छिटो मर्ने कमजोर छोरो जन्माएकी छैनन् ! कुमारे बाघ हो ! यस्ता नाथे क्यान्सर यसै पचाइदिन्छ ! हाँसो चल्यो ! धरावासी दाइले दारु ख्वाएनन् ! सुख्खा मासुपुलाउ ग्रहण गरेर बिदा भइयो !
हो ! मैले देखे-भोगेअनुसार कुमार बुढाथोकी बाघ नै हो ! जनमत सङ्ग्रहताका तोपगाछीको निर्दलवादी दादा दारासिंहसमेत त्रसित थियोे ! भरतबाबु जस्ता शालिन बहुदलवादी नेता छिर्न नसकेको गाउँमा बुढाथोकी छिरेपछि गब्बर देख्दा रामगढवासी त्रसित भएझैँ निर्दलवादी त्रसित हुन्थे भने जय-बिरु देख्दा ढुक्क रामगढवासी झैँ हुन्थे बहुदलवादीहरू !
यसपटकको काङ्ग्रेस मवेशी-मेलामा बुढाथोकी बाघ नै सावित भए ! बेथिति औंल्याउने क्रममा बेथिति-नायक भुत्ल्याउन कुनै कसर बाँकी राखेनन् ! जङ्गबहादुर ज्वाइँ लङ्गट अग्राखसमेत पानी बनाए ! भुइँकाङ्ग्रेसको भावना बोले ! काङ्ग्रेस-पीडा बोके भन्नेमा धेरै झापाली सहमत भए !
गत काङ्ग्रेस मेलामा छोरालाई महाधिवेशन प्रतिनिधि बनाउँदा कुम जोडेर ताली बजाउने बुढाथोकीले यसपटक छोरो तरुण गोठमा हुल्दा सिटौलाविरुद्ध खनिए ! कुनै समय विश्वप्रकाशविरुद्ध आफैंले बोकेर सभापति बनाएका चेलाले आफू मुख्यमन्त्री हुन रोजेको चोरबाटोको खुलेरै आलोचना गरे ! थेवेनिर्मित जिल्ला समिति नामक गोबर अचारको विरोध बोले ! मेचीनगर महामन्त्रीले ‘आफ्नो मान्छे’ जिल्ला समितिमा भित्र्याउन विधान लँगौटी लाएको चर्चा निकाले ! समग्रमा काङ्ग्रेसभित्र बेथिति बढ्दै गएको र विधान मिचिएको चर्चाबीच जङ्गे ज्वाईं थर्काउँदै ‘हु आर यु ?’ भनेपछि बुढाथोकीको अङ्ग्रेजी नबुझेर होला भ्यारभ्यारे स्टोभसँग मितेरी लाउँदै मुखमा प्रजातान्त्रिक समाजवादको खोयो कोचर्दिएर बोल्नै दिएनन् !
बुढाथोकीको भिडियो भाइरल भो ! बुढाथोकी सही हुन् भन्ने धेरै झापाली भेटिए ! नैतिकताको खडेरी भोगिरहेको काङ्ग्रेसभित्र शितलताको अनुभूति हुँदै गर्दा-
बुढाथोकीलाई कारवाहीको मागसहितको थापा-मार्का बम झऱ्यो ! बमसँगै आरोप थियोे कि आफूलगायत थेवे हराउने बुढाथोकी नै हुन् !
बमकाजीको आरोपले कन्फ्युज गरायो ! मंसिरमा भएको चुनाव बुढाथोकीले हराएका हुन् भन्ने ब्रम्हज्ञान बमकाजीलाई अहिले मात्रै कसरी प्राप्त भो ? उसबेला चैँ किन चुइगम चपाएर बसे ! अहिले किन डकार ओकले ?
यता फेसबुके विद्वान् विवादमा उत्रिए ! कोही बुढाथोकी ठिक त कोही बमकाजी ठिक !! फेसबुके झटारोमा विराटपोखरको हरामी काङ्ग्रेस सुरेन्द्र प्रसाईं निकै कडा निस्कियो ! लेख्यो- ०४६ सालमा उद्ववदाइ मण्डले थिए ! हामीलाई पक्डाएका पनि थिए ! (पङ्क्तिकारसँग स्क्रिनसट सुरक्षित छ)
दुवै शनिश्चरेका डन ! एउटा बडका अर्को छोटका !!
स्थलगत निरीक्षणखातिर केटो पुग्यो शनिश्चरे ! चोकमा चिया तन्काउँदै भेटिए ‘हरामी काङ्ग्रेस’ लिलक सिटौला !
के हो दाइ ? यो भिडियोयुद्ध ? कुरै पो बुझिएन त ! कुमार दाइलाई त आफूसमेत थेवे हराउने आरोप पो लाए त बमकाजीले !
भुत्रो हराउँछ कुमार दाइले ! बिसुसँग चुनाव लड्दा खुलेआम बमकाजी जिताउन लाग्ने कुमार दाइ नै हैन ? कुमार दाइकै पाउ परेर सभापति भयो ! प्रदेशमा पनि कुमार दाइको आशीर्वाद नभएको भए उहिल्यै जयनेपाल हुन्थ्यो ! बमकाजीलाई यत्तिको बनाउने नै कुमार दाइ हो !
अनि थेवे हराउन लाग्यो ! चुनावका बेला अष्ट्रेलिया गएर बस्यो ! फोन गरेर भोट नहाल्नु भन्यो ! फोन रेकर्ड छ मर्जी हुन्छ त मुख्यमन्त्रीबाट !
नाप्पियो ! थेवे सभापति लड्दा ‘अब लिम्बुको छोरो सभापति बनाएर झापाली इतिहास रच्नुपर्छ’ भन्दै राम कट्टेल छोडेर खुलेआम थेवे बोक्ने कुमार दाइ नै हैन र ? कुमार दाइ नभएको भए थेवे त्यसबेलै चिवे हुन्थ्यो ! सबै क्षेत्र बिसेले खाइसकेको थियोे ! त्यै सिटौलाको क्षेत्रले त जोगाएको हो नि !
अनि ! मुख्य मन्त्रीको आरोप चैँ के हो त दाइ ?
बिष्टा खान तम्सेको बङ्गुरलाई सागको मुठो देखाएर ‘खा’ भन्यो भने डुक्रिन्छ नि ! हैन र ?
मैले ‘हो’मा टाउको हल्लाएपछि मेरो पिठ्युँमा हल्का लाठीचार्ज गर्दै लिलक दाइ बोले- आफैं कुरो बुझ ! म बोल्दिनँ !
अनि सुरेन्द्र प्रसाईंले त ०४६ मा मण्डले थिए ! मलाई थुनाएका हुन् पो लेख्यो त ! के हो कुरो ?
त्यो चैँ उसैलाई सोध ! म चिया खान्छु !- लिलक दाइ हाँसे मात्र !
सुरेन्द्रलाई फोन लाइयो ! उठेन ! मोरो अमेरिका पुगेको रैछ ! कसरी उठोस ? मेसेन्जर लाइयो !
ए भाइ ! हाम्रो मुख्यमन्त्र विरुद्ध के वउत लेखेको हौ ? ०४६ मा मण्डले थिए भनेर लेख्यौ त !
केको वउत ? तपाईंको मष्तिष्कमा पनि खोरेत पस्यो कि क्या हो ? ०४६ मा हामीलाई पक्डाउने उही हो ! हामी बजार बन्द गराउँदै हिँड्दा उ खोलाउँदै पुलिस लाएर खेद्नेमा अगाडि थियोे ! शनिश्चरेका काङ्ग्रेसलाई सोध्नुस् न !
हैट ! कस्तो उल्टा खोपडी भाइ ? बाहिर बस्दा आन्दोलनमा गोली लागेर तिमीले सिलटिम्बुर खाउँला भनेर माया गरेर भित्र हुलेको होला नि ! अनि पसल बन्द गराउँदा बिचरा पसलेको बिजोग हुन्छ भनेर खोलाएको हुनसक्छ नि ! त्यसलाई त समाजसेवा पो मान्नुपर्छ त हौ ! मण्डले भन्दिने त ? सुर्यबहादुरको छोरो त वरिष्ठ काङ्ग्रेस भैसके ! रत्नाकर डाकु वाल्मीकी भएको पौराणिक कथा पढेको छैनौं ? पूर्व बामपन्थीहरू वरिष्ठ काङ्ग्रेस भएर आयोग सम्हाल्ने भैसके ! हामिलाई बीपी पढाउने मास्टर भएका छन् अहिले ! जे-जे जसरी भए नि आफ्नै बारिको अर्गानिक मुख्यमन्त्री पाएकोमा गर्व गरौँ न भाइ ! विधिविधान गोलि मारौँ यार !!
सुरेन्द्र अलि बढी नै आक्रोशित देखियो ! तपाईंको दिमागमा पनि खोरेत पसेछ ! खोरेत काङ्ग्रेस हुनुभएछ दाइ भन्दै फोन काट्यो !
बुढाथोकी र बमकाजीको वाकयुद्ध ! भाइरल भिडियो ! काङ्ग्रेस मवेशीमेला ! लिलक सिटौला र सुरेन्द्रसँगको सम्वादले झनै कन्फ्युजन बढायो ! दिमाग गोल ! मेरोसमेत मष्तिष्कमा खोरेत पस्यो ! सुरेन्द्रले भनेझैँ म पनि खोरेत काङ्ग्रेस भएँ ! निष्कर्ष यस्तो निस्कियो-
काङ्ग्रेस मवेशिमेलाबाट बुढाथोकी दीर्घकालीन खतरा देखिए ! झापामा त यो खतरा झनै बढ्यो ! मवेशिमेलाको ब्यासासनमा बिराजमान हाम्रा आस्थापुन्जलाई बिगतमा डडेल्धुरामा ‘रोटा’ खाने अनि काठमाडौं छिरेपछि भोटेबहाल साथीको डेरामा लोकल तन्काउँदै पदोन्नति हुँदै वर्तमानमा विदेशी वाइनसँग ‘ब्रेड’ निल्ने श्री ३ का ज्वाईंलाई नचिनेझैँ गरी ‘हु आर यु ?’ भन्ने बुढाथोकी चैँ हु आर यु ?
छोरालाई महाधिवेशन प्रतिनिधि बनाउँदा कुम जोडेर ताली बजाउने अनि अहिले एकमात्र हाम्रो भविष्यको राहुल गान्धी तरुणगोठमा हुल्दा चैँ हाम्रा शान्तिनायक, संविधान पिता, विकाशप्रेमी, हाम्रा प्रातःस्मरणीय मुटुका धड्कन सिटौलाविरुद्ध विरोध ओकल्ने हु आर यु ?
यत्रो वर्ष मनोनित महामन्त्रीले विधिविधान धोती लाउँदा चुइँक्क नगर्ने अनि व्यापक जनमतबाट निर्वाचित महामन्त्रीले जिल्लामा ‘आफ्नो मान्छे’ भर्ती गर्दा चिच्याउने हु आर यु ? सानो मान्छे ठूलो मान्छे भैसकेपछि विधान उनले लँगौटी लाउनु सामान्य हुनुपर्छ काङ्ग्रेसमा !
सभापति बनाउने बेला लिम्बुको छोरो सभापति बनाएर इतिहास रच्ने दम्भ बोक्ने अनि अहिले त्यै लिम्बुले काङ्ग्रेसको काखमा सु गर्दा घिन मान्ने हु आर यु ?
झ्यालबाट होस् या ढोकाबाट होस् ! छलबाट होस् या कपटबाट होस् ! भर्खर बामे सर्न लागेको मुख्यमन्त्रीलाई विधान पालना गर्न आदेश दिँदै विधिविधानका फोस्रा आदर्श बोक्ने हु आर यु ?
आदरणीय परमपुज्य सभापति ज्यु !
यसरी विधि बिधानका आदर्श फलाक्ने हरामी काङ्ग्रेस छाडा छोड्ने हो भने झापा फर्केर सबै हरामी काङ्ग्रेस बटुलेर भ्रष्टाचारविरोधि अभियान चलाउन सक्छन् ! सुडानको चिहान खन्न सक्छन् ! आलमको घाउ कोट्याउने र त्यसबेलाको गृहप्रसासनको सुरुवाल तान्दै इँटाभट्टाको कथा उखेल्दैगर्दा लक्ष्मण लगायतका प्रहरी किन ? कसरी मारिए ? भन्ने जटिलता आउने हुनसक्छ ! मेयरको टिकट बेच्दा गाडी उपहार आउने क्रम रोकिन सक्छ ! भद्रपुरतिर वडाको टिकट किनबेच रोकिन सक्छ ! पुलिसको सरुवा बढुवामा मानसिक अपाङ्गको दलाली रोकिन सक्छ ! धेरै खतरा उत्पन्न हुन सक्छ ! काङ्ग्रेसमा सुद्धिकरणको खतरापूर्ण अवस्था आउन सक्छ !
यो घातक रोग निदान एवम् उपचारका लागि हामी खोरेत काङ्ग्रेस बेलैमा सचेत हुन जरुरी छ ! अहिले हामीसँग जिल्लादेखि केन्द्रैसम्म मष्तिष्कमा खोरेत बोकेका काङ्ग्रेसको बाहुल्यता छ ! तपाईं माथिबाट सुरु गर्नुस् ! हामी यताबाट चिच्याउछौँ- विधिविधानका स्वर फलाक्दै काङ्ग्रेसको चिन्ता गर्ने कुमार बुढाथोकी हु आर यु ?
अनि सबै मिलेर एक स्वरमा सडक नाटक मञ्चन गर्नेछौँ !
खोरेत काङ्ग्रेस हाई हाई !
कुमार बुढाथोकी बाई बाई !!
कुमारे चोर ! देश छोड !!
देश छोड ! देश छोड !!
प्रतिक्रिया