कालो गोमन र निम्छराहरू

कालो गोमन र निम्छराहरू


✍ श्यामकृष्ण लम्साल ‘दिङ्लाली’

पृथ्वीको उत्पत्तिदेखि
घाम, जूनहरू पनि
उत्पत्ति भएका होलान् ?
कतिपटक उदाए ?
अस्ताए पनि होलान् ?
उदाउने र अस्ताउने क्रमसँगै
टाउकोमा जुम्रा उम्रिएजस्तै
धोतीमा पनि जन्मिए होलान् !
तर,
धोती र टोपीको जुम्रामा
अन्तर पनि त होला,
कि उही जात, धर्म, वर्ग र लिङ्ग एउटै हुन्छ ?

जुम्राको उत्पत्तिजस्तै
कालो गोमनको सृष्टि पनि
उही प्रकृयाले नै भएको होला
कति उदाए होलान्,
कति अस्ताए (लोप भए) पनि होलान्,
सिंहदरबारदेखि
रतुवाको डिलको बगरसम्म
कालो गोमन कसले छोडेको होला ?
साँढे छाडा छाडेझैँ
तीन ‘र’ र मुथुवादमा रम्दै
पोथी जातको कालो गोमनले
सर्वसाधारण निम्छराहरूलाई डस्दै छ रे !
उहिलेको प्रजातिभन्दा
कडा विषालु प्रजातिको गोमन
कालो गोमन
निम्छराहरूको रगत, पसिनामा आहाल खेल्दै
मस्ती मारिरहेको छ रे !
यसको पहिचान गरी
सपेरा वा गरुडको खोजी गर्ने पो हो कि ?
रतुवाको डिलमा उभिएर ।

  • दिङ्गला, भोजपुर