मनको मुरली

मनको मुरली


✍ दीपेन्द्रसिंह थापा

जीवन उपहार पाएदेखि नै
बजिरहेको छ मनको मुरली
म आफैँभित्र ।
सचेत र संवेदनशील
सानासाना औंलाहरूलाई
अलिकति नचाएर
अलिकति उफारेर
मनको मुरली
गाउँछ माटोको गीत
उराल्छ मुक्तिको ध्वनि ।
औँलाहरू आफैँ अभ्यस्त छन्
संयमित र संस्कारित छन्
सुरताल मिलाउन
गति, यति र लयमा हिँडाउन
जीवनको व्याकरण बुझ्न र बुझाउन
अनि त गाउँछ
आस्थाको गीत
मनैदेखि मनाउँछ
धरतीको उत्सव ।
कोमलताभित्र झन् कोमल बनेर
सूक्ष्मता र संवेदनशीलताभित्र
झन् सूक्ष्म र झन् संवेदनशील भएर
गाउँछ मुटुको लय
फैलाउछ अनुभूतिको आयतन
खोज्दै समय र सम्भावनाको झङ्कार
बोलिरहेको छ मनको मुरली
म आफैँभित्र ।