एनआरएनए नेदरल्याण्डसको अध्यक्षमा कँडेल सर्वसम्मत

एनआरएनए नेदरल्याण्डसको अध्यक्षमा कँडेल सर्वसम्मत


  • युरोप विशेष प्रतिनिधि

गैरआवासीय नेपाली संघ नेदरल्याण्डसको अध्यक्षमा थानेश्वर कँडेलका साथमा कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।

संघको महाधिवशनअगावै सामाजिक अभियन्ता, निर्वाचन समिति, समन्वय समिति, विधान समितिहरूबीच सघन छलफलपश्चात गत सोमबार आम्सटडममा आयोजित १०औँ राष्ट्रिय महाधिवेशनले कँडेलको नेतृत्वमा सर्वसम्मत समिति घोषणा गरिएको हो । घोषणासँगै उनको काँधमा २०२३-२०२५ को जिम्मेवारी आएको छ ।

नवनिर्वाचित अध्यक्ष कँडेलले नेदरल्याण्डसको प्रवासी नेपाली समुदायको आवश्यकता, चाहना र सामर्थ्य हेरेर संघको आगामी कार्ययोजना बनाउने बताए । संघको संगठन सुदृढ तुल्याउँदै संघप्रति विश्वास तथा अपनत्व जगाउनु आफ्नो विशेष अभीष्ट रहेको जानकारी दिँदै यही मुद्धामा आफू केन्द्रित रहने प्रतिबद्धता उनले जनाए ।

नवनिर्वाचित अध्यक्ष कँडेलले पछिल्लो तथा युवा पुस्तालाई एनआरएनए र नेपालसँग जोड्न विभिन्न चरणमा गोष्ठीहरूको आयोजना गर्ने आफ्नो योजना रहेको खुलासा गरे । आम्सटडममा संसारभरीका मानिस पर्याप्त मात्रामा आउने भएकोले होटल तथा रेष्टुरेण्टको माध्यमबाट ‘नेपाललाई चिनौँ’ अभियान सञ्चालन गर्ने उनले जानकारी दिए ।

यस्तै, नेदरल्याण्डस्मा सामाजिक वा पारिवारिक शुभकार्य गर्दा आवश्यक पर्ने सामुदायिक भवन निर्माणको लागि पहल गर्ने, नेदरल्याण्डस सरकार र नेपाल सरकारसँग समन्वय गरी प्रवेशाज्ञालगायत अन्य कामहरु नेपालबाटै हुने कन्सुलर कार्यालयका लागि जतिसक्दो छिटो पहल गर्ने जस्ता आफ्ना योजना उनले सुनाए ।

नयाँ कार्यकालका लागि कँडेलको नेतृत्वमा सर्वसम्मत हुनेहरूमा आईसिसी सदस्य मिम पुर्जा, वरिष्ठ उपाध्यक्षमा भीमबहादुर रोका, उपाध्यक्षहरूमा सीता सापकोटा, संघर्षशील केसी, सीताकुमारी थापा क्षेत्री, पेमा लामा, अर्चना पाण्डे र रामचन्द्र पोख्रेल छन् भने महिला उपाध्यक्षमा अम्बिका गिरी, युवा उपाध्यक्षमा दिनेश अर्याल चयन भएका छन् ।

महासचिवमा सावित्री पौडेल निर्वाचित भएकी छन् भने सचिवमा सन्दिप विश्वकर्मा रहेका छन् । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः कमल प्रसाद विश्वकर्मा र सुमनराज काफ्ले चयन भएका छन् ।

त्यसैगरी महिला संयोजकमा सरोज ढकाल (गिरी), युवा संयोजकमा अनिल कार्की र सदस्यहरुमा धनबहादुर बोहरा, डम्बरकुमार कोइराला, रामबहादुर पौडेल, नरबहादुर कार्की (गणेश), कैलाश गिरी, प्रेमबहादुर पुन, गगनजंग बहादुर सिंह, सुबास सिंह बस्न्यात र भीमभक्त राई निर्वाचित भएका छन् ।

को हुन् कँडेल ?

बागलुङ जिल्ला काठेखोला गाँउपालिका-८ मा जन्मिएका कँडेल उत्कृष्ट विद्यार्थीका रूपमा चिनिन्थे । आफ्नो अध्ययनपश्चात शैक्षिक क्षेत्रमै काम गर्ने सोचअनुसार उनले साविकको लेखानी गाँउमा २०५२ देखि ०५७ सम्म ‘पोल स्टार बोर्डिङ स्कूल’ सञ्चालनमा ल्याएका थिए । तर ०५२ देखि माओवादीद्वारा संचालित कथित जनयुद्धका कारण उनले सहज रूपमा काम गर्न पएनन् र, आफ्नो जन्मस्थल एवम् व्यवसायबाट पलायन भएर उनी राजाधानी छिरे । शैक्षिक क्षेत्रमै रहेर समाज परिवर्तन गर्ने लक्ष्य बोकेका कँडेलले डनबस्को एकेडेमी लगायतका शैक्षिक संस्था सञ्चालन गर्ने प्रयास गरे पनि विभिन्न अवरोध झेल्नुपर्यो ।

यसक्रममा उच्च शिक्षा अध्ययनका लागि सन् २००६ मा नेदरल्यान्डस् प्रवेश गरेका कँडेलले नेदरल्याण्डसको अध्ययनलाई निरन्तरता दिन लामो समयसम्म कामदारको रुपमा काम गरे । कँडेलका अशोका, यती लगायत आधा दर्जन रेष्टुरेष्ट सञ्चालनमा छन् भने रेष्टुरेष्ट व्यवसायीका अलावा उनले आफ्नो पहिचान समाजसेवी, शिक्षाप्रेमी, विकासप्रेमी नेपालीको रूपमा पनि स्थापित गरेका छन् । उनले आफ्नो व्यवसायमार्फत करिव सयभन्दा बढी नेपाली तथा विदेशीहरुलाई रोजगारी दिएका छन् ।

सामान्य कामदारको रुपमा आफ्नो प्रवासी जीवन शुरु गरेका कँडेल पछिल्लो समयमा नेदरल्याण्डस् मात्र नभइ युरोपली नेपाली समुदायमा एउटा सफल र स्थापित व्यवसायीको रुपमा परिचित छन् भने व्यवसायबाट सयौँ नेपाली तथा विदेशीहरुलाई रोजगारी दिन सफल भएका छन् ।

महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङमा कानुन संकायमा अध्ययन गरेका कँडेल पोेखरास्थित पृथ्वीनारायण क्याम्पसका सर्वोकृष्ट विद्यार्थी पनि हुन् । मृदुभाषी, सरल स्वभाव र प्रभावकारी व्यक्तित्वका धनी कँडेल नेदरल्याण्डस्मा समाजसेवी, कर्मयोगी र सफल व्यापारीको रुपमा परिचित छन् ।