एनसीसी अष्ट्रीयाको नवनिर्वाचित कार्यसमितिलाई  कार्यभार हस्तान्तरण 

एनसीसी अष्ट्रीयाको नवनिर्वाचित कार्यसमितिलाई  कार्यभार हस्तान्तरण 


  • घटना र विचार

गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय समिति अष्ट्रीयाको नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले आफूसँग भएको  सम्पूर्ण विवरणलाई आज आइतबार एक औपचारिक कार्यक्रम आयोजना गरी  कार्यभार हस्तान्तरण तथा बुझबुझारथ सम्पन्न गरेको छ।  

एनसीसी अष्ट्रीयाको विधानअनुरुप, निर्वाचन समितिले आजको कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रमको उद्देश्य पारदर्शी रुपमा ध्रुव पौडेलको नेतृत्वमा रहेको नवनिर्वाचित २३–२५ कार्यसमितिलाई भवानी तिवारी नेतृत्वको २१–२३ कार्यसमितिले आफ्नो कार्यभार हस्तान्तरण गर्नु रहेको थियो ।

निर्वाचन आयुक्त भुपिन्द्र गुरुङको सभापतित्वमा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि युरोप क्षेत्रका उप–संयोजक सागर सुवेदी रहेका थिए भने उक्त कार्यक्रमको संचालन निर्वाचन आयोग सदस्य अन्जना घिमिरेले गर्नुभएको थियो।    

राजधानी भियनाको लियोपोल्डस्टाड जिल्लामा आयोजना गरिएको सो कार्यक्रममा निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, वर्तमान कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु र अष्ट्रीयास्थित विभिन्न संघ–संस्थाका पदाधिकारीहरु उपस्थित थिए।

कार्यक्रमपश्चात सामूहिक तस्बिर

हस्तान्तरण कार्यक्रमलार्ई निवर्तमान कार्यसमितिको अध्यक्ष भवानी तिवारीले नवनिर्वाचित  कार्यसमितका अध्यक्ष ध्रुव पौडेललाई एनसीसी अष्ट्रीयाको सम्पूर्ण चल अचल सम्पति र त्यसको विवरणसमेत हस्तान्तरण गर्नुभएको थियो भने आफ्ना कार्यकालमा गरिएका विविध विषयहरुलाई प्रकाश पार्नुको साथै संस्थाको नेतृत्व गर्दा आइपरेका सम्भावना र कठिन चुनौतीहरुका विषयमा आफ्नो कार्य अनुभवसमेत ब्यक्त गर्नुभएको थियो। यसैगरी निर्वाचन आयोगका आयुक्त भुपिन्द्र गुरुङले निर्वाचन सम्पन्न गराउने सामाजिक जिम्मेवारी लिँदा प्राप्त हौसला र आरोपका बारेमा प्रस्ट पार्दै आफूद्वारा हुन सक्ने सम्मको पारदर्शी निर्वाचन गराइ  कार्यभार हस्तान्तरणसम्म आइपुग्दा आफु हर्षित रहेको बताउनुभएको थियो । 

नवनिर्वाचित अध्यक्ष ध्रुव पौडेलले आफुले सबैलाई समेटेर अगाढि जाने भन्दै निर्वाचन ‘मात्र’ प्रक्रिया रहेको र यस प्रक्रियाबाट समाजले नयाँ कार्यसमितिको कार्यभार दिएको हुनाले आफ्ना व्यक्तिगत विषयहरु जहाँ छ त्यहीँ राखी समाजको एकताको पक्षमा आफूनेतृत्वको कार्यसमितिले कार्य गर्ने विश्वास व्यक्त गर्दै निवर्तमान कार्यसमितिलाई संघको अभियानलाई यहाँसम्म ल्याएर स-सम्मान कार्यभार हस्तान्तरण गरि दिनुभएकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिसमेत रहेका क्षेत्रीय उप-संयोजक सागर सुवेदीले कसैलाई व्यक्तिगत तहमा झरेर आरोप-प्रत्यारोप गर्दा समाजलाई बेफाइदा हुने भन्दै पछिल्लो समय संघकै कारण समाज विभिन्न  गुट-उपगुटमा विभाजित भइरहेको तितो अनुभव व्यक्त गर्दै, सामाजिक एकताका लागि आफूले आफैलाई हेरेर आफू कहाँ छु भन्ने यथार्थलाई मनन गरि समाजको पक्षमा काम गर्न र अध्यक्ष ध्रुव पौडेलको कार्यकालमा कम्तिमा गैरआवासीय नेपाली संघ अष्ट्रीयाको आफ्नै कार्यालय भएको देख्न चाहेको र, यसका लागि सामूहिक कार्य आवश्यक भएकोले सबैको सहयोगबाट यो कार्य पूरा हुने धारणा राख्दै आफूबाट एनसीसी अष्ट्रीयालार्इ हुन सक्ने सहयोगको लागि हरदम तयार रहेको धारणा प्रकट गर्नुभएको थियो ।  

नवनिर्वाचित महासचिव डाइमण्ड राइलाई निवर्तमान महासचिवले कार्यभार हस्तान्तरण गर्दै

(सबै तस्बिरहरु : मणिराज थेबे अष्ट्रीया )