मेरो एउटा मात्र विश्वास

मेरो एउटा मात्र विश्वास


✍ राजेश ढुंगाना

कुवेरको
ढिकुटी पनि देखेकै हो
रावणको
बलिष्ठता पनि हेरेकै हो
तर, न रावणको बलिष्ठताले
कहिल्यै-
लुते नै भए पनि
रामलाई पछार्न सक्यो
न त
सम्पत्तिले नै
कुवेरलाई
मृत्युबाट बचाउन सक्यो
मिथ्या !
झुट !!
भ्रममा नबाँच मान्छेहरु हो !
पत्थरको मूर्तिमा
कहिल्यै अभिव्यक्ति पलाउन सक्तैन
अथवा
पलाइ नै गए पनि
चलिरहेको
मान्छे हुनुको मुद्दामा
कहिल्यै
न्यायको पक्षमा फैसला हुन सक्तैन
अथवा
मान्छे भन्नु त मुटु न हो- मुटु
ढुंगाको मूर्तिमा
दैवसंयोग अभिव्यक्ति टुसाए नै पनि
हृदय चाहिं
पलाउन सक्तैन
मान्छे हुन त
अन्त अरुतिर कतै
र कुनै पनि चिजमा मात्र होइन
स्वयम् मान्छेभित्र पनि
हृदय चाहिँ उम्रेकै हुनुपर्छ
किन
मान्छे भएर पनि
मान्छेलाई नै अविश्वास ?

माया पनि रित्तियो
मान्छेहरुबाट ?
नत्र
के को यो आतंकको डढेलो हो
जो
रावण बनेर
मानव अस्तित्वको लंका डढाइरहेछ
नत्र के को
युद्धको रक्त-रंजित हुँकार हो यो ?
जो
राजनीति बनेर
मान्छेले
आफू मरेर गए पनि
बचाउनु पर्ने
एक रत्ति नाकको टुप्पो नै स्वयम्

मान्छेको
लाश बनेर गन्हाइरहेछ

फोहोर !
दुर्गन्ध !!
यो अस्वस्थ दूषित हावामा
बाँचिरहनु मात्र होइन
मात्रै
एक्कै पटक पनि सास नफेर अब
बुझ-
मनुष्यत्वले बाहेक
मान्छे
बाँच्न त परै जाओस्
शान्तिसँग
मर्नसम्म पनि सक्तैन
मान्छे बाहेक मान्छेको निमित्त
अर्थोक केही हुन सक्तैन !
पुनश्चः
मान्छे (मेरो एउटा मात्र विश्वास)
हृदय बाहेक
अर्थोक केही हुन सक्तैन
(मुटु हुन मान्छे
र मान्छे हुन मुटु)
तिमीलाई
मेरो-
अनिवार्य शर्त !