गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि छनौटसम्बन्धी प्रावधान प्रकाशित 

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि छनौटसम्बन्धी प्रावधान प्रकाशित 


गैरआवासीय नेपाली संघको गत हप्ता बसेको केन्द्रिय सचिवालयको बैठकले सम्बन्धित राष्ट्रिय समुन्वय परिषदबाट छनौट हुने प्रतिनिधि सम्बन्धमा प्रकाश पारेको छ । गैरआवासीय नेपाली संघ केन्द्रिय सचिवालयले आम पंजीकृत सदस्यहरुलाई सर्कुलर गरेको सूचनाअनुसार तल प्रस्तुत गरिएबमोजिमका व्यक्तिहरु स्वतः केन्द्रिय प्रतिनिधि बन्न सक्नेछन् ।

केन्द्रिय प्रतिनिधिहरु नै आगामी २३-२५ कार्यकालका लागि हुने निर्वाचनमा मतदातासमेत हुने गैरआवासीय नेपाली संघले जनाएको छ।

विद्यमान प्रावधानअनुसार, बहालवाला  केन्द्रिय पदाधिकारी तथा सदस्यहरु, संरक्षकहरु, सल्लाहकारहरु, संरक्षक परिषदका सदस्यहरु, २३-२५ कार्यकालका लागि निर्वाचित केन्द्रिय परिषद सदस्यहरु, नवनिर्वाचित एनसीसी अध्यक्षहरु (२३-२५) निवर्तमान एनसीसी अध्यक्षहरु (२१-२३) स्वतः केन्द्रिय प्रतिनिधि बन्ने प्रावधान राखिएको जनाइएको छ भने माथि उल्लेखित पदाधिकारीले केन्द्रिय प्रतिनिधिको लागि संघको एपमार्फत कुनै फारम भर्न नपर्ने गैरआवासीय नेपाली  संघका महासचिवसमेत रहेका गौरी जोशीले जानकारी दिएका छन्। 

यस पटकको केन्द्रिय महाधिवेशन र निर्वाचनको प्रयोजनको निमित्त केन्द्रिय महाधिवेशनमा भाग लिनका लागि कुनै शुल्क नलाग्ने तथा आफ्नो मताधिकार प्रयोग गर्नका निमित्त काठमाडौं नै जानुपर्ने बाध्यात्मक प्रावधान समेत हटाइएको र सम्बन्धित प्रतिनिधिले अनलाइको माध्यम बाट आफू रहेको स्थानबाट आफुले चाहेको उम्मेदवारलाई मतदान गर्न मिल्ने प्रावधान राखिएको समेत जोशीले बताए।   

उल्लिखित पदाधिकारीबाहेक केन्द्रिय प्रतिनिधि बन्नका निमित्त संघको स्मार्ट एपमार्फत आवेदन दिन पर्ने र सो आवेदनमा आएका पूर्वपदाधिकारीहरु मेरिटको आधारमा केन्द्रिय प्रतिनिधि बन्ने र सो बाहेकका प्रतिनिधिहरु बन्ने अवस्था आएमा पंजीकृत सदस्यहरुबाट बन्ने प्रावधान राखिएको जनाइएको छ । 

यससँगै नवनिर्वाचित कार्यसमितिले १० प्रतिशत केन्द्रिय प्रतिनिधि केन्द्रिय अधिवेशन प्रयोजनका लागि पठाउन सक्ने समेत व्यवस्था गरिएको बताइएको छ।