स्वार्थले थलिएको छ प्रेम

स्वार्थले थलिएको छ प्रेम


✍ डिल्ली अम्माई

सुत्केरीको सालनालसँगै गाडिएर
माटो बन्दै गरेको प्रणयको के कुरा गर्नु !
न्वारानको बेलादेखि हराएर
बिहेमा चिनाबाट फुत्त निस्केको नामको के कुरा गर्नु !
महामानवको अनिकाल
हाहाकार छ मानवताको जताततै
आफ्ना भनिएकाभित्र स्वार्थ छ
आफ्नो बनेकाभित्र आग्रह छ
स्वार्थ र आग्रहको भुमरीमा
ऊ प्रेमविहीन हराइरहेछ,

कहिलेकाहीँ सोच्छु
ऊ रागमा छ
उनकी प्रेमिका अनुरागमा छिन्
ऊ भावमा छ
ऊनी प्रभावमा छिन्
भावमा हुनु पर्ने भावना हो
ऊ भावमा भए
प्रेमिका भावनामा हुनुपर्ने हो
तर प्रभाव त आकर्षणको मात्र छ,

बासनामा दिव्यता हुँदैन
आग्रह मनमा पुग्दैन
दुई आँखाको समुद्र प्रेम
मन वृक्षको दिब्यतामा नपुगी
नहरमा फ्याकेको पलाष्टिक झैँ बगेको छ
अचेल प्रेम रोगाएको छ गाउँ शहरतिर
प्रभावमा बहकिएको छ दाम्पत्यको कन्चन इन्द्रेणी
स्वार्थमा भिजेको छ विवेकभित्रको चैतन्य।

मोक्ष र आनन्दको वन वनेलीमा मधुरस
चैतन्यको दिब्य अनुराग
रतिको जटामा गुजुल्टिएर
नाङ्गै सडकमा ओर्लिएको छ प्रेम
दौलत र आकर्षणले थलिएर
राकस बनेको छ प्रेम
क्षणिक स्वार्थले थलिएको छ प्रेम।