त्रुटी सच्च्याउन जापानका डिजिटल मन्त्रीद्वारा तलब फिर्ताको घोषणा

त्रुटी सच्च्याउन जापानका डिजिटल मन्त्रीद्वारा तलब फिर्ताको घोषणा


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानका डिजिटल मन्त्री तारो कोनोले मन्त्रिपरिषदको एक सदस्यका रुपमा आफ्नो तीन महिनाको तलब स्वेच्छाले सरकारी ढुकुटीमा फिर्ता गर्ने बताएका छन् । आफ्नो मन्त्रालय मातहतको माइ नम्बर राष्ट्रिय पहिचान प्रणालीमा देखापरेका त्रुटिहरूको जिम्मेवारी लिँदै कोनोले तलब फिर्ता गर्ने घोषणा गरेका हुन् ।

राज्यबाट लिने सेवा सुविधाहरु प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्रलाई बैंक खाताहरू जोड्ने क्रममा देखापरेको दर्ता त्रुटिहरूलाई सम्बोधन गर्न डिजिटल एजेन्सीले ढिलो काम गरिरहेको भन्दै जनस्तरबाट आलोचना भइरहँदा मन्त्री कोनोले तलब फिर्ताको घोषणा गरेका हुन् ।

भइरहेको काममा ढिलाइ भएको स्वीकार गर्दै, कोनोले आफ्नो पदबाट राजीनामा भने नदिने बताएका छन् । ‘म आफ्नो जिम्मेवारी समर्पित गर्ने कार्य जारी राख्छु, आफ्नो कर्तव्य पूरा गर्छु’, कोनोले भनेका छन् ।

व्यक्तिगत जानकारी चुहावट र आईडी कार्डहरूसँग सम्बन्धित दर्तात्रुटिहरूको श्रृंखलाले प्रणालीको बारेमा सार्वजनिक चिन्ता बढाएको छ । यही कारण हालैका महिनाहरूमा प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिपरिषदप्रति जनताको असन्तुष्टि बढेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।