नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कौलीस्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रवचन सुरु हुँदै छ । भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले शास्वतधाममा तीन दिनसम्म हनुमान कथा प्रवचन गर्नुहुने चौधरी समूहका प्रबन्धक रामचन्द्र धितालले जानकारी दिएका छन् ।
“शास्वतधाममा शनिबारदेखि सोमबारसम्म दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बागेश्वर बाबाले कथा वाचन गर्नुहुने छ, हनुमान कथा प्रवचनका लागि अवाश्यक सम्पूर्ण तयारी पूरा भएको छ”, धितालले भनेका छन् ।
तीन दिनसम्म दैनिक करिब ११ हजारभन्दा धेरैले कथा सुन्ने व्यवस्था मिलाइएको छ । शास्त्रीको कथा सुन्नका लागि शास्वतधाममा प्रवेशका लागि अनलाइन पासको व्यवस्था गरिएको छ ।
शास्वतधामस्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिएका छन् ।
उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको कम्पनी चौधरी ग्रुपले निर्माण गरेको शास्वतधाम मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलोपटक नेपाल आउनुभएको हो । शास्वतधाम हिन्दू धर्मका सबै देवीदेवताको एकै थलोमा पूजा गर्न सकिने मन्दिरका रुपमा चर्चित छ ।
शास्वतधाम वास्तुशास्त्र अनुसार निर्माण गरिएको रमणीय र आर्कषक शैलीको हिन्दू मन्दिर हो । यहाँ संस्कृत गुरुकुलसमेत सञ्चालन गरी कक्षा ६ देखि ८ सम्म पढाइ सञ्चालन हुँदै आएको छ ।
आगामी सोमबार शास्त्री चितवनको मेघौलीस्थित होटल ताज सेराइमा रहने र भोलिपल्ट काठमाडौं हुँदै सोही दिन राति दिल्ली फर्कने कार्यक्रम तय भएको बताइएको छ ।
यो पनि हेर्नुहोस्-www.ghatanarabichar.com/282152
प्रतिक्रिया