पोर्चुगलमा दुई नेपाली युवाको निधन

पोर्चुगलमा दुई नेपाली युवाको निधन


युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ ।

राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका-३ का ३१ वर्षीय अजय थापाले बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हामफालेर आत्महत्या गरेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिएका छन् । थापाले के कारणले हामफालेर आत्महत्या गरेका हुन् भन्ने विषय भने खुलिनसकेको अध्यक्ष खड्काको भनाइ छ ।

वैदेशिक रोजगारीका सिलसिलामा ६ वर्षअघि पोर्चुगल पुगेका थापा पछिल्लो समय खाना डेलिभरी गर्ने कम्पनी उबर इटमा काम गर्दै आएका थिए । परिवारसहित पोर्चुगल बस्दै आएका थापाको शव परीक्षणका लागि लिस्बनस्थित एक अस्पतालको शवगृहमा राखिएको बताइएको छ ।

यस्तै, वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्षअघि पोर्चुगल आएका बागलुङ जिल्ला बडिगाड गाँउपालिका-१ का २८ वर्षीय टेकबहादुर दर्लामीमगरको सुतेकै अवस्थामा मृत्यु भएको छ । बेजास्थित जम्बुजिरा बस्दै आएका दर्लामीमगरको बुधबार राति सुतेकै अवस्थामा निधन भएको सङ्घका अध्यक्ष खड्काले जानकारी दिए ।

खड्काका अनुसार राति खाना खाएर सुतेका उनी बिहान नउठेपछि उनका साथीहरू उठाउन जाँदा दर्लामीमगर ओछ्यानमै मृतावस्थामा भेटिएका थिए । सकुशल सुतेका साथी मृत भेटिएपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए । मृतक दर्लामीमगर त्यहाँस्थित मारभिल्ला नामक कृषि कम्पनीमा कार्यरत थिए । उनको शव परीक्षणका लागि बेजा अस्पतालको शवगृहमा राखिएको उनले बताए । दर्लामीमगरको वृद्ध बुवाआमा र श्रीमती नेपालमा रहेका छन् ।

निधन भएका दुवै नेपालीको शव नेपाल पठाउन मृतकका परिवारले आग्रह गरेका कारण सो विषयमा छलफल र आवश्यक तयारी भइरहेको खड्काको भनाइ छ ।