एनआरएनए युरोप संयोजकको लागि उम्मेदवारी घोषणा गर्दै सागर सुवेदी

एनआरएनए युरोप संयोजकको लागि उम्मेदवारी घोषणा गर्दै सागर सुवेदी


गैरआवासीय नेपाली संघको आगामी कार्यकाल युरोप संयोजक (२०२३–२०२५) का लागि वर्तमान युरोप उप–संयोजक रहेका अष्ट्रियानिवासी सागर सुवेदीले आफ्नो आधिकारिक उम्मेदवारी घोषणा अन्तिम चरणमा रहेको जानकारी दिएका छन् ।

गैरआवासीय नेपाली संघमा एक नयाँ फरक प्रकारको आन्दोलन आवश्यक छ भन्ने धारणा राख्ने जुझारु युवा सुवेदीले सङ्घमा आफूलाई स्वघोषित तवरले बौद्धिक भन्नेहरूको अराजकता र, नगद खर्च गर्न सक्नेहरू मात्र नेतृत्व तहमा पुग्ने प्रवृत्तिको खुलेर विरोध गर्दै आएका छन् । पछिल्लो समय युरोपस्थित एनसीसीमा भएका बेथितिविरुद्ध जमेर आवाज उठाएका सुवेदी युरोप संयोजकका बलिया उम्मेदवार देखिन्छन् ।

संघमा पार्टीगत राजनीतिक निर्णयबाट उम्मेदवारी प्रस्तुत गर्दा, कामबाट सकारात्मक परिणाम दिन सक्ने व्यक्ति सधै पछाडि पर्ने, राजनीतिक पार्टीबाट सिफारिस हुनेहरू पार्टी कार्यकर्ताबाहेक कसैको कुरा नसुन्ने प्रवृत्ति बढ्दै जाँदा यसले संघमा सदैव विवाद मात्र सिर्जना गरिरहेको भन्दै, सुवेदीले संघलाई संघकै आफ्नो अबधारणाका अनुरुप चलाइनु पर्ने तर कुनै आस्थागत विचारधारा बोकेका व्यक्ति भएता पनि उक्त राजनीतिक आस्थालाई संघमा आउँदा खोलेर आउन सक्यो भने असली रुपमा सबैको साझा गैरआवासीय नेपाली संघ बन्ने भन्दै लबिङ गरिरहने व्यक्तिको परिचय निर्माण गरेका देखिन्छन् ।

आफ्नो उम्मेदवारी किन र कसरी अगाडि जाने भन्ने प्रश्नमा सुवेदीले केन्द्रिय प्रतिनिधिहरूको टुंगो लागेपश्चात आफ्नो कार्ययोजना पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने र, यसका लागि संघसँग जोडिएका शुभचिन्तकहरुसँग राय र सुझावहरू संकलन गरिरहेको बताए ।