धरानमा २४ घण्टे निषेधाज्ञा जारी

धरानमा २४ घण्टे निषेधाज्ञा जारी


सुनसरीको धरान उपमहानगरपालिकामा धार्मिक/साम्प्रदायिकका साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवदेनशीलताका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी २४ घण्टे निषेधाज्ञा जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो । उहाँका अनुसार निषेधाज्ञा आदेश शनिबार राति १२ बजेसम्मका लागि जारी गरिएको छ ।

उहाँले धरान उपमहानगरपालिकाका २० वटा वडामा मात्रै १५ हजार व्यक्तिमा डेङ्गी सङ्क्रमण फैलिएकाले उपमहानगरपालिकालाई ‘जनस्वास्थ्य आपत्कालीन अवस्था’ क्षेत्र घोषणा गरिएकाले जारी गरिएको निषेधाज्ञा उल्लङ्घन नगर्न अनुरोध गर्नुभएको छ ।

धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराह क्षेत्र नगरपालिका-१ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम-दक्षिण रामधुनी नगरपालिका-६ बाट बराह क्षेत्र नगरपालिका-३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

त्यसैगरी इटहरी उपमहानगरपालिका-२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । त्यसैगरी धरान उपमहानगरपालिका-५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिकरूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, ऱ्याली/भेला गर्न रोक लगाइएको छ । प्रशासनले प्रदर्शनलगायत कुनै पनि कार्यक्रम नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्रका सबै सरोकारवालालाई आग्रह गरेको छ ।

आदेश विपरीत भए गरेको पाइए वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिनेछ आदेशमा उल्लेख छ ।

rss