Representative image
हात्तीले घर/पसल भत्काउँदा एक लाखभन्दा बढी क्षति
झापामा जङ्गली हात्तीले दैनिकजसो गाउँ शहर छिरेर स्थानीयवासीलाई दुःख दिइरहेको छ । आहाराको खोजीमा गाउँ पस्ने हात्तीले लाखौँको क्षति गर्दै आएको छ ।
शुक्रबार बिहान मात्र दमकमा किराना पसल र स्थानीयको घर भत्काएर करिब रु एक लाखभन्दा बढीको सामान खाइदिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा दिनभर बस्ने हात्तीले साँझ बिहान घरमा भण्डारण गरेको अन्नबाली खाइदिने, लहलह भएको धान कुल्चेर नष्ट गर्नेदेखि किराना पसल नै फोरेर सामान खाने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार शुक्रबार बिहान जङ्गली हात्तीले दमक नगरपालिका–३ दीपज्योति चोकका वीरबहादुर खत्रीको किराना पसल भत्काएर रु ६० हजारको सामान खानुको साथै नष्ट गरेको छ । प्रेमबहादुर निरौलाको किराना पसलको पक्की पर्खाल भत्काएर फ्रिजमा क्षति पु¥याएको छ । फ्रिज भत्काउँदा रु २५ हजार बराबरको क्षति पुगेको पीडितको भनाइ छ । सोही स्थानका बलबहादुर श्रेष्ठको जस्ताको छानो, टाटीको बेरा भएको घर भत्काएर भण्डार गरेको रु सात हजार बराबरको चामल, मकै खाइदिएको उनले जानकारी दिएका छन् ।
मेचीनगर, कचनकवल, हल्दिबारीका विभिन्न स्थानमा दैनिक जसो हात्तीले स्थानीयवासीको घर भत्काउने, भण्डारणको अन्न खाइदिने गर्दै आएको छ । जिल्लामा करिब १२ रैथाने हात्ती रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । पछिल्लो समय गाउँसँगै हात्ती शहरकेन्द्रित हुन थालेको छ ।
केही समयअघि कनकाई नगरपालिकाको सुरुङ्गा बजार, चारआली बजारलगायका क्षेत्रमा प्रवेश गरेर हात्तीले पसल भत्काउने, व्यापारीले राखेको फलफूल खाइदिने गरेको थियो । रैथाने हात्ती हुल बाँधेरभन्दा पनि एक्लै हिँड्ने गरेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया