गोवध र धर्मनिरपेक्षता

गोवध र धर्मनिरपेक्षता


यसकारण अपरिहार्य छ हिन्दुराष्ट्र

अमेरिका र अस्ट्रेलियामा कुकुरको मासु खान बर्जित छ । सांस्कृतिक हिसाबले ‘घोडा’ तथा राष्ट्रिय पंक्षी भएको नाताले ‘चील’ खान अमेरिकामा बर्जित छ । त्यस्तै साउदी अरब, कतारलगायत मुस्लिम देशमा सुंगुर खान बर्जित छ ।

✍ नरोत्तम श्रेष्ठ

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।

हिन्दु भनेको पूर्व इन्डोनेसियादेखि पश्चिम अफगानिस्तानसम्म तथा उत्तरमा तिब्बतदेखि दक्षिण श्रीलंकासम्म फैलिएको एउटा सभ्यताको नाउँ हो । हिन्दु सनातन सबै भन्दा प्राचिन धर्मशास्त्र, नीतिशास्त्र हो । हिन्दु धर्म जतिको उदारता र स्वतन्त्रता अरू कुनै धर्ममा पाइँदैन । यसका सबै शास्त्रहरू मुक्ति, मोक्ष, आत्मज्ञान र अध्यात्मको खोज मात्रमा केन्द्रित छन् । जब नेपाल हिन्दुराष्ट्र थियो, के हिन्दु, के बौद्ध, के इसाई, के मुस्लिम, स्वतन्त्र हिन्दुभित्रै धर्मनिरपेक्षता मौलाइरहेको थियो । बुद्धको जन्मस्थल र हिन्दुहरूको सयौँ ऋषिमहर्षिहरूको जन्मभूमि, साधनाभूमि, तपोभूमि, ज्ञानभूमिको धार्मिक पक्ष आदिलाई ध्यानमा राखी मक्का मदिना चर्चहरूको विकास विस्तार भइरहेको थियो, स्वतन्त्र धार्मिक पर्यटन केन्द्रको रूपमा नेपालको पहिचान विश्वभर विस्तार भइरहेको थियो । हिन्दु धर्मले कहिल्यै पनि आफ्नो प्रचारप्रसार र धर्म प्रवेशमा पहल गरेन । उल्टै बौद्ध, किराँत, शिख, बोन, जैन, इस्लाम लगायत इसाई धर्मको समेत संरक्षण पनि वैदिक सनातन हिन्दूले नै गर्दै आएका छन् । हिन्दू सनातनीहरू सधैं अन्य सबै धर्मका मानिसलाई आश्रय दिएर, अपनाएर, समाहित गरेर सहिष्णुता मात्र हैन, मानवताको अब्बल उच्च उदाहरण बन्दै आएका छन् । सर्वे भवन्तु सुखिनः, वसुदैव कुटुम्बकम का साथ सनातन हिन्दूले सबै धर्म बाटाहरू हुन्, गन्तब्य एउटै छ भन्ने मान्यता राख्छ । संसारमा शान्ति होस्, आदिदैविक शान्ति होस्, आदिभौतिक शान्ति होस् र अध्यात्मिक शान्ति होस्- शान्तिका निम्ति नै ३ पटक ‘ॐ शान्ति’ उच्चारण गरिन्छ । तर जब-जब धर्ममाथि बाह्य हस्तक्षप बढ्दै जान्छ, धर्मावलम्बीहरूमा त्रास र आतङ्क बढ्दै जान्छ, इतिहासमा जुन-जुन बेला बाह्य दमन हुँदै जान्छ, तब-तब यसको रक्षार्थ हिन्दु सनातन बढी कट्टर हुँदै गरेको पाइन्छ ।

सामाजिक सद्भाव र शान्ति नभत्कियोस् भन्ने मनसायले सर्वपक्षीय भेलासहित धरान गौहत्याको विरोधमा देशैभरिबाट जम्मा भएका सनातनी हिन्दुहरूको आजको भेलाले यहि कुरा पुष्टि गर्दछ । नेपालको कानुनले कसैको सामाजिक सद्भाव, धार्मिक आस्थालाई आघात पुÞ¥याउनु र त्यस्तो अभिब्यक्ति दिनुलाई अपराध मान्छ । नेपालमा बस्ने सबै जातजाति, धर्मका जनताको राष्ट्रिय जनावर गाई हो । गाई गोरू काट्न/मार्न नपाइने कानुन पनि नेपालमा बस्ने सबै धर्म, जातजातिका लागि नै हो । कुनै अधिकार माग्नु एउटा लोकतान्त्रिक अधिकार हो तर विद्यमान कानुन मान्नु बाध्यकारी ब्यवस्था हो । अपराधको कुनै जात हुँदैन, अपराधको कुनै धर्म हुँदैन । त्यसैले जुनकुनै जातजाति वा धर्म वा राजनीतिक आस्थाका भए पनि अपराध अपराध नै हो । अपराधीले कुनै हालतमा उन्मुक्ति पाउनु हुँदैन । सबै समुदाय मिलेर बस्न, सद्भाव राख्न चाहने हो भने अपराधीहरूलाई केलाउनै पर्छ र न्यायका कठघरामा पुऱ्याउनै पर्छ । आजको बृहत सनातनी भेलाको सन्देश पनि यहि हो ।

तत्कालिन प्रम कृष्णप्रसाद भट्टराईले २०४७ सालको संविधानमा ‘हिन्दू राष्ट्र’ भनेर लेखाउनुभएको थियो । तर २०४७ सालको प्रजातान्त्रिक संविधान जारि भएको ५ वर्ष पुग्दानपुग्दै २०५२ मा सुरू भएको हिंसात्मक सङघर्षले २०४६ को परिवर्तनलाई पूर्ण रूपमा बिथोल्यो र परिणामहीन बनाइदियो । प्रजातान्त्रिक पद्दतिले उपलब्ध गराउने सन्तुष्टि प्राप्त नहुँदै देश द्वन्द्वको भूमरीमा जकडियो । २०६३ सालको राजनीतिक परिवर्तनको सङ्घारमा नेपाली जनता हत्या, हिंसा, आतंकबाट यति प्रताडित भए, भयाक्रान्त भए कि यदि हत्या-हिंसा अन्त्य हुन्छ भने नेपाली जनता जुनसुकै सम्झौता गर्न पनि तयार भए । नेपाली जनता शान्ति चाहन्थे, समृद्धि चाहन्थे, स्थिरता चाहन्थे। नेपाली जनता प्यासी थिए, पानी पिउन चाहन्थे तर पानी पिउने भए पानीसँगै भोड्का पनि पिउनुपर्छ भनेर भोड्काको रूपमा नेपाली जनतालाई धर्मनिरपेक्षता पिलाइयो । २०६२ मंसिरको बाहबुँदे सम्झौतादेखि कयौ बुँदा सम्झौता भए तर ती कुनै पनि बुँदामा धर्मनिरपेक्षता शब्द उल्लेख गरिएको थिएन । १९दिने शान्तिपूर्ण सडक आन्दोलनमा पनि कहीँकतै धर्मनिरपेक्षताको माग गुन्जिएको सुनिएन । यसरी न यो नेपाली जनताको न त दलहरूको एजेण्डा थियो । तर एकाएक ०६३ जेष्ठ ४ को प्रतिनिधिसभा घोषणाको प्रस्ताव मन्त्रिपरिषद्ले पास गर्दासमेत उल्लेख नभएको धर्मनिरपेक्षताको शब्दावली घोषणा जारी हुन केही अघि मात्र प्रतिनिधिसभा भवनमा नै थप गरिएको हुँदा धर्मनिरपेक्षता नेपाल सरकारले नेपाली जनताप्रति गरेको अत्यन्त निन्दनीय, भत्सर्नीय र छलकपटको पराकाष्टा हो भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ । जुन दिन नाटकीय र अप्रत्याशित रूपमा नेपाल धर्मनिरपेक्ष घोषणा भयो, त्यही दिन धर्मको नाममा आन्तरिक द्वन्द्वको विजारोपण भएको छ । धर्ममाथि बाह्य हस्तक्षेप, धर्मावलम्बीहरूमा त्रास र आतङ्क पैदा गर्दै तुलसी उखेलेर भाङ सार्ने प्रपन्चका साथ हाम्रो सनातन संस्कृतिमाथि प्रहार भएको छ ।

कुनैपनि राष्ट्र कति समृद्ध, स्थिर, सुशाशित छ भन्ने कुरा त्यस राष्ट्रका एकताका सूत्रहरू कति मजबुत छ भन्ने कुरामा निर्भर गर्दछ । धर्म, संस्कृति, परम्परा, सम्पदा, पहिचान हाम्रा एकताको सूत्रहरू हुन् । यी एकताका सूत्रहरू कमजोर भए भने राष्ट्रको सार्वभौमिकता र अखण्डता नै कमजोर हुन्छ, साम्प्रदायिक द्वन्द्व प्रगाढ हुन्छ, आफ्नो मौलिक संस्कृति नष्ट भइ देश पराइको इशारामा नाच्न थाल्छ ।

अतःयव हामी नेपालीले शदियौँदेखि अबलम्बन गर्दै आएको सबै मौलिक धर्मको रक्षार्थ- १) नेपालको आन्तरिक एकता बलियो बनाउन हिमाल, पहाड र तराईलाई जोड्ने, मुक्तिनाथ र लुम्बिनीलाई जोड्ने, जनकपुर र पशुपतिलाई जोड्ने, छिन्नमस्ता र गोसाईंकुण्ड जोड्ने एक मात्र सूत्र हिन्दुत्वको रक्षा गर्न, २) देशको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न, हामी विश्वको एकमात्र हिन्दुराष्ट्र हौँ, हुन चाहन्छौँ, मुसलमानको मक्का-मदिना र इसाइको भ्याटिकन सिटी हो भने सवा अर्ब हिन्दुहरूको पुण्यभूमि नेपाल हो भनि गौरव गर्न, ३) धार्मिक पर्यटनको विकाश गरि आर्थिक समृद्धिको श्रोत बलियो बनाउन नेपाल हिन्दुराष्ट्र हुनु अपरिहार्य छ ।

पचास प्रतिशतभन्दा केही बढी इस्लाम धर्म मान्ने जनसंख्या भएको देश मलेशियाले आफूलाई इस्लामिक देश घोषणा गरेको छ भने विश्वमा आज पनि ७१ देश क्रिश्चियन, ५४ देश इस्लाम, ९ देश बुद्धिष्ट र एक यहुदी धर्मलाई राष्ट्रिय परिचयको रूपमा वा राष्ट्रिय धर्मको रूपमा स्वीकार गरेका देशहरू छन् । आफ्नो जनसंख्याको ७५ प्रतिशत जनता यहुदी भएको इजरायलले आफुलाई यहुदी राष्ट्र घोषणा गरेको छ । विश्वमा प्रजातन्त्रको जननी मानिएको देश बेलायतको २०११ को जनगणना अनुसार त्यहाँ क्रिस्चियनहरूको जनसंख्या ५९ प्रतिशत मात्र भए पनि हरेक हिसाबले त्यो देशलाई क्रिस्चियन राष्ट्र मानिन्छ र, त्यहाँका प्रमुख दलका नेता र प्रधानमन्त्रीले बेलायत इसाई राष्ट्र हो भन्ने कुरालाई सगौरव प्रस्तुत गर्दछन् ।

नेपालको पछिल्लो २०७८ को जनगणना अनुसार हिन्दु ८१. १९ प्रतिशत, बुद्धिष्ट ८.२१ प्रतिशत, इस्लाम ५.०९ प्रतिशत, किरात ३ .१७ प्रतिशत, क्रिस्चियन १.७६ प्रतिशत, प्रकृति ०.३५ प्रतिशत, बोन ०.२३ प्रतिशत, जैन ०.०१ प्रतिशत र शिख ०.०१ प्रतिशत बसोबास गर्छन् । यसरी हेर्दा ९० प्रतिशत भन्दा बढी ॐकार परिवारभित्रको जनसंख्या रहँदारहँदै पनि नेपाललाई हिन्दुराष्ट्रको पहिचानबाट बञ्चित गरिनु षड्यन्त्र सिवाय अरु केही मान्न सकिन्न ।

संसारका १९५ मुलुक मध्य १४५ देश धर्मसापेक्ष छन् । नेपाल धर्मनिरपेक्ष किन ? विश्वको सबैभन्दा शक्तिशाली, प्रजातान्त्रिक, विकसित र सबैको आकर्षकको केन्द्र रहेको मुलुक अमेरिकाको डलरमा ‘हामी भगवानमा विश्वास गर्छौं’ लेखिएको छ र आजसम्म त्यहाँका सबै राष्ट्रपति/उपराष्ट्रपतिले बाइबलमा हात राखेर आफूले मानी आएका ईश्वरको नाममा सपथ खान्छन् । आज पनि विश्वका पाँच उत्कृष्ट देशहरूमा पर्ने क्यानडाको १९८२ मा लागु भएको पछिल्लो संविधानको प्रस्तावनामा भनिएको छ- ‘क्यानडा भगवान् र कानुनको शासनको सर्वोच्चता स्वीकार गर्ने सिद्धान्तमा स्थापना भएको छ ।’

अमेरिकामा इसाई धर्म मान्दिनँ र बाईबलमा हात राखेर शपथ खान्नँ भन्ने व्यक्तिले राजनीतिको उच्चतहमा पुग्ने कल्पना गर्न सक्दैन, बेलायतको परम्पराअनुसार बेलायतको राजगद्दीमा बस्ने व्यक्ति चर्च अफ इङ्ल्याण्डको सदस्य हुनैपर्छ र त्यो नस्वीकार्नेले गद्दीमा बस्न पाउँदैन । तर नेपाल ? यहाँका राजनीतिज्ञहरू किन ईश्वरको नाममा सपथ खान डराउँछन् ? यसको उत्तर प्रष्ट छ- धर्मनिरपेक्षताको चर्को नारा लगाएर पाश्चात्य धर्मको व्यापार गर्न आएकाहरूलाई पुज्नेले हाम्रा पूर्खा र सन्ततीप्रति ठूलो अन्याय गरेका छन्, किनकि नेपाल र नेपालीका अधिकांश पहिचान मानिने सामाजिक र सांस्कृतिक रीतिरिवाज र कला संस्कृतिको सीधा सम्बन्ध हिन्दु धर्मसँग जोडिएको छ । अतयवः नेपाललाई धार्मिक स्वतन्त्रतासहितको बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, सनातन हिन्दु राष्ट्रको रूपमा पुनर्स्थापित गर्न, बौद्ध, किराँत, शिख, बोन, जैन, इस्लाम लगायतका हामी नेपालीले शदियौँदेखि अवलम्बन गर्दै आएका सबै मौलिक धर्मको रक्षार्थ ‘वैदिक सनातन हिन्दू राष्ट्र नेपाल’ स्थापनाका लागि संविधान संशोधन गर्न दबाबमुलक भूमिका निर्वाह गर्नुपर्छ । अन्यथा नेपालको धर्म, संस्कृति, परम्परा, पहिचान मासिन्छ, धर्म–संस्कृति सम्पदा मरे न्याय मर्छ, एकता मर्छ । न्याय र एकता मरे लोकतन्त्र मर्छ । अन्ततः देश देश रहँदैन, केवल भुगोलमा सीमित हुन्छ, भूगोल केवल विदेशीहरूको प्रयोगशाला मात्र हुन्छ, हामी आफ्नै भूगोलमा पराइ हुन्छौँ, अनागरिक हुन्छौँ ।

लोकतन्त्रको उदाहरण लिँदा संसारको सबैभन्दा शक्तिसम्पन्न मुलुक अमेरिकाको नाम नलिए अधुरो हुन्छ । तर, अमेरिका र अस्ट्रेलियामा कुकुरको मासु खान बर्जित छ । सांस्कृतिक हिसाबले ‘घोडा’ तथा राष्ट्रिय पंक्षी भएको नाताले ‘चील’ खान अमेरिकामा बर्जित छ । त्यस्तै साउदी अरब, कतारलगायत मुस्लिम देशमा सुंगुर खान बर्जित छ । १९७४ मा इन्दिरा गान्धीले धर्मनिरपेक्षता घोषणा गर्नुभन्दा अगाडि भारत पनि हिन्दुराष्ट्र थियो । धर्मनिरपेक्षताको घाउले क्षतविक्षत भएको भारत ६०० वर्ष मुगल बादशाह र ५५० वर्ष इसाईहरूले तहसनहस पारेको हिन्दुत्वलाई भारतमा मात्र होइन संसारमै पुनर्स्थापित गर्न लालायित छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भारतलाई हिन्दुराष्ट्र मात्र नभइ गाईलाई राष्ट्रिय जनावर बनाउने वातावरण पनि तयार गर्दैछन् ।

नेपालको वर्तमान संविधानको धारा ९ को उपधारा (३) मा ‘नेपालको राष्ट्रिय जनावर गाई हुनेछ’ भनी उल्लेख गरिएको छ । यो व्यवस्था २०१९ सालदेखि लगातार संविधानमा रहँदै आएको छ । गाई हाम्रो राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो । गोवध तथा वृषभ वध नेपालको कानून प्रणालीमा सदा-सर्वदा निषेधित छ । यस मानेमा गाई हाम्रो सनातन धर्म, संस्कृति, परम्परा समेतको सन्दर्भमा एक महत्त्वपूर्ण जनावर हुँदा गोरक्षा हाम्रो संवैधानिक दायित्वसँग जोडिएको विषय हो भन्ने स्पष्ट देखियो । गाईसँग हामी प्रत्येक नेपालीको धार्मिक र सांस्कृतिक भावना जोडिएको छ । यस्तो अवस्थामा गाईको संरक्षण, व्यवस्थापन, आदर र सत्कार गर्नुपर्ने दायित्व रहन्छ ।

हिन्दू परम्पराअनुसार नेपालमा प्रत्येक वर्ष तिहारमा लक्ष्मी पूजाको दिन लक्ष्मीको रूप गाईलाई र गोबर्धन पूजाको दिन गोरुलाई धार्मिक परम्पराअनुसार पूजा गरी गाई र गोरुलाई माला लगाइ मिठो मसिनो खाना दिने गर्दछौँ । गाईको दुध धार्मिक व्यवसायिक रूपमा वा व्यक्तिगत रूपमा प्रयोग गर्दछौँ । परम्परादेखि चलिआएको प्रथाको रूपमा गाईलाई माता मान्ने भएकोले गाईको गउँत पूजाआजामा शुद्ध हुनको लागि प्रयोगसमेत गरिन्छ । गाईलाई लातले छुनु हुँदैन, गाई मार्नु हुँदैन, गाईलाई काटी मासुको रूपमा प्रयोग गर्नु हुँदैन भनेर नै हिन्दू धर्मअनुसार सनातनदेखि निरन्तर रूपमा सम्मान गरी आएका छौँ । गाईलाई काट्न मार्न कानूनतः प्रतिबन्ध लगाइएको हुँदा जीवित गाई र गोरुहरू कानूनतः संरक्षित पशु हो भन्ने स्थापित सिद्धान्त रहेको छ । गाई संवैधानिक रूपमा हाम्रो राष्ट्रिय पहिचानसँग जोडिएको विषय मात्र नभइ हाम्रो धर्म, संस्कृति, सभ्यता र परम्पराको एक प्रतिक हुँदा गौरक्षा नेपालको एउटा राष्ट्रिय दायित्व पनि हो ।

धर्मनिरपेक्ष भारतको सर्वोच्च अदालतले कुनै पशुको मासु खान पाउनुपर्छ भन्ने मागलाई खारेज गरिदिएको छ । मासु खान पाउनु मौलिक अधिकार हैन, कसैको आस्था मौलिक हक हो भनेर फैसला गरेको छ । यतिबेला नेपाल पनि धर्मनिरपेक्ष राज्य हो । धर्मनिरपेक्षताको अर्थ धर्मको विरोध होइन । राज्यद्वारा गरिने निर्णय तथा राज्य सञ्चालनमा कुनै धार्मिक मतको प्रभावमा अर्को धर्म मत र विश्वासउपर थिचोमिचो गर्न पाइँदैन । सनातनदेखि चलिआएको धर्म संस्कृतिको रक्षा गर्नु पनि संविधानतः राज्यको कर्तव्य हो ।

धर्मनिरपेक्षताको अर्थ धार्मिक विषयमा राज्यले आँखै लगाउन हुँदैन भन्ने कदापि होइन । विश्वभर धर्मनिरपेक्षताको एउटै मोडल नरहेको सन्दर्भमा हाम्रो आफ्नो देशको परम्परा, परिवेश, जनव्यवहार र जनभावनाअनुकूल धर्म-संस्कृतिको संवर्द्धन गर्दै विकास र आधुनीकरणको मार्गमा अघि बढ्नुपर्छ । मासु खानु नखानु भन्दा पनि, खान पाउनुपर्छ पाउनुहुन्न भन्दा पनि कानुनले रोकेको कैद सजाय हुने फौजदारी अपराध सार्वजनिक रूपमा कदापि गर्न पाइँदैन । यसमा सरकार निरीह हुन छुट छैन । कानूनबमोजिम कारबाही नै एक मात्र विकल्प हो । ९० प्रतिशत भन्दा बढी ॐकार परिवार भएको यो मुलुकमा नै सनातनी हिन्दुमाथिको समाजिक दमन कतिन्जेल सहलान् र ? सरकार कानुनको शासनमा नचुकोस् कानुनको पालना गरोस् । नत्र संसारमा शान्ति होस्, आदिदैविक शान्ति होस्, आदिभौतिक शान्ति होस् र अध्यात्मिक शान्ति होस्- शान्तिका निम्ति नै तीन पटक ‘ॐ शान्ति’ उच्चारण गरिरहने ॐकार परिवारको धैर्यताको बाँध फुट्न सक्छ ।
जय मातृभूमि !

(लेखक ‘मातृभूमिका लागि नेपाली’का केन्द्रीय परिषद् सदस्य एवम् उपाध्यक्ष हुन् ।)

नरोत्तम श्रेष्ठका अन्य लेखहरू :

नेपाली सेना : विचलित कि कर्तव्यपरायण ? Nepali Digital Newspaper (ghatanarabichar.com)

पीपीईको चिहान ! Nepali Digital Newspaper (ghatanarabichar.com)

श्रमिक दिवसको दर्जन शुभकामना ! Nepali Digital Newspaper (ghatanarabichar.com)

राजनीतिक वितृष्णा : न्यून मतदान Nepali Digital Newspaper (ghatanarabichar.com)

‘कोरोना-कहर’का अवसरहरू Nepali Digital Newspaper (ghatanarabichar.com)