ललिता निवास प्रकरणमा सीआइबीको सिफारिसअनुसार किर्ते कसुरको मुद्दा दायर

ललिता निवास प्रकरणमा सीआइबीको सिफारिसअनुसार किर्ते कसुरको मुद्दा दायर


ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा किर्ते कसुरमा मुद्दा दायर गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गरेको अनुसन्धान प्रतिवेदनको सिफारिसका आधारमा सरकारी वकिलले उक्त कसुरमा मुद्दा दायर गरेको हो ।

सरकारी लिखत तथा दस्तखत किर्ते गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा दुई सय ९० जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ । मुद्दा दर्ता गरिएकामध्ये ५२ जनालाई जग्गा जफत प्रयोजनमा प्रतिवादी बनाइएको छ ।

सरकारी वकिलले सरकारी दस्तखत तथा लिखत किर्तेको कसुरमा संलग्न भएको देखिएका सर्वसाधारणविरुद्ध एक वर्ष कैद सजाय माग दाबी गरेको छ । सरकारी अधिकारी र मन्त्रीहरूलाई दुई वर्ष कैदको सजाय माग दाबी गरिएको छ ।

सरकारी लिखत तथा दस्तखत किर्ते गरी एक सय ४३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने सङ्गठितरूपमा काम भएको निष्कर्षसहित सीआइबीले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सीआईबीले सङ्गठित अपराध र किर्तेको कसुरमा दुई सय ८६ जनालाई प्रतिवादी बनाउन राय दिएको थियो ।