साइबर ब्यूरो निर्माणमा कोरियाली सहयोगप्रति उपप्रधानमन्त्री श्रेष्ठको आभार

साइबर ब्यूरो निर्माणमा कोरियाली सहयोगप्रति उपप्रधानमन्त्री श्रेष्ठको आभार


उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोगले शिष्टाचार भेट गर्नुभएको छ ।

आज गृह मन्त्रालयमा भएको सो भेटमा उहाँहरुबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले दक्षिण कोरिया नेपालको महत्वपूर्ण विकास साझेदार रहेको र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत नेपाल प्रहरी साइबर ब्यूरोको निर्माण र क्षमता विकासमा पुऱ्याएको सहयोगप्रति आभार प्रकट गर्दै धन्यवाद दिनुभयो ।

नेपालको मुख्य ध्येय गुणात्मक आर्थिक सामाजिक विकास रहेको र यसमा वैदेशिक लगानीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न हाल नेपालमा लगानीमैत्री वातावरण र आधार बनाइएको तथा सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनेहुँदा कोरियाली साथ र सहयोगको निरन्तरताको अपेक्षा राखेको बताउनुभयो ।

रोजगार अनुमति प्रणाली (इपिएस) कार्यक्रममार्फत दक्षिण कोरियाले धेरै नेपालीलाई रोजगारी प्रदान गरेकामा धन्यवाद दिँदै उहाँले उक्त कार्यक्रममा नेपालीको कोटा बढाउन मिल्ने सम्भावनातर्फ विचार गर्नसमेत आग्रह गर्नुभयो ।

काठमाडौँ र सोलबीच सिधा हवाई उडान सम्पर्क स्थापना गर्न सकेमा नेपाल आउने दक्षिण कोरियाली पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने, नागरिक-नागरिकबीचको सम्बन्ध थप प्रगाढ हुने र शान्ति एवम् सौहार्दताको सन्देशसमेत जाने उहाँको भनाइ थियो । गृहमन्त्री श्रेष्ठले नेपाल भ्रमण गर्ने कोरियाली नागरिकको सुरक्षामा निश्चिन्त हुनसमेत आग्रह गर्नुभयो ।

भेटमा राजदूत पार्कले शान्ति, नागरिक सम्बन्ध र समृद्धि नेपाल-दक्षिण कोरिया सम्बन्धका आधार भएको बताउनुभयो । ‘इपिएस’अन्तर्गत दक्षिण कोरियाले सबैभन्दा बढी नेपाली कामदार लिने गरेको र दक्षिण कोरियाली कामदार सरह सामाजिक सुरक्षा प्रदान गरेको उहाँले बताउनुभयो ।

इपिएस र कोइकामार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो । राजदूत पार्कले दक्षिण कोरिया नेपालको चौथो ठूलो विकास साझेदार रहेको र सामसुङलगायत विश्व प्रसिद्ध दक्षिण कोरियाली कम्पनीले आगामी दिनमा नेपालमा समेत उद्योग विस्तार गर्ने विश्वास दिलाउनुभयो ।

  • rss