एमसीसी कार्यान्वयनमा जाने समयमै एमसीसी उपाध्यक्ष एलफोर्ड नेपाल भ्रमणमा

एमसीसी कार्यान्वयनमा जाने समयमै एमसीसी उपाध्यक्ष एलफोर्ड नेपाल भ्रमणमा


file photo

संयुक्त राज्य अमेरिकीको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आइपुगेका छन् । नेपालसँगको एमसीसी सम्झौताको सुरुआतको अवसर पारेर एमसीसीका सम्झौता कार्य-सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल भ्रमणमा आएका हुन् ।

नेपालको नेतृत्वदायी भूमिका रहेको यस एमसीसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपालमा एमसीसीको कार्य अवधिभर बृहत्तर सरोकारवाला, नेपालका सरकार र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको दूतावासको भनाइ छ ।

‘यस सम्झौताको सफल कार्यान्वयन सुनिश्चित गर्न एमसीए-नेपालसँग साझेदारी गर्न हामी प्रतिबद्ध छौँ । साथै, सम्झौताका लक्ष्य समयमै हासिल गर्न संलग्न सबैले लगनशीलताका साथ काम गरिरहेका छौँ’, दूतावासले उल्लेख गरेको छ ।

भदौ १३ बुधबारदेखि नेपालमा ऊर्जा र सडक पूर्वाधार विकाससम्बन्धी परियोजनामा पाँच सय मिलियन अमेरिकी डलर अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयन गर्ने तयारी छ । एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको उल्लेख गर्दै दूतावासले उक्त व्याख्यात्मक घोषणासँग सहमत रहेको जनाएको छ ।

सम्झौताअनुसार पाँच वर्षमा परियोजना सम्पन्न गर्ने गरी कार्यान्वयनमा जाने समय यही भदौ १३ गते तोकिएको छ । यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा सम्झौता कार्य-ञ्चालनसम्बन्धी उपाध्यक्ष नेपाल आएका बताइएको छ ।