सुन तस्करी प्रकरणमा महरापुत्र राहुलसहित तीन जना पक्राउ

सुन तस्करी प्रकरणमा महरापुत्र राहुलसहित तीन जना पक्राउ


सिआइबीका एसएसपी आचार्य हङकङ प्रस्थान

विद्युतीय चुरोट (भेप)मा लुकाएर नौ किलो सुन तस्करी गरेको अभियोगमा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई सिआईबीले हिरासतमा लिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार ६० किलो सुन तस्करी प्रकरणमा गणेश पौडेल र किशोर बस्नेतलाई पनि पक्राउ गरिएका छ । उनीहरूसहित सुन तस्करी प्रकरणमा पक्राउ पर्ने कुल २५ जना पुगेका छन् ।

यसैक्रममा हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीसम्बन्धी सूचना सङ्कलनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एक जना उच्च अधिकृत आज हङकङ प्रस्थान गरेका छन् । सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई आवश्यक अनुसन्धानका लागि आज हङकङ पठाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

हङकङबाट ब्रेक शुमा हालेर ६० किलो सात सय १६ ग्राम सुन गएको साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

त्यसको १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सिआइबीले लिएको थियो । सिआइबीले यही भदौ ८ गते सुनसम्बन्धीका आवश्यक सूचना र जानकारी भए सिआइबीलाई उपलब्ध गराइदिन सार्वजनिक अनुरोधसमेत गरिसकेको छ । आफैँ पनि सुनका विषयमा सूक्ष्म अनुसन्धानमा लागेको सिआइबीले इन्टरपोलको समेत सहयोग माग गरेको छ ।

सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ । सुन प्रकरणमा प्रहरीले २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ, जसमा भारतीय र चिनियाँसहितका ६ जना विदेशी छन् । सिआइबीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको छ ।