सिटी एक्सप्रेस जापानद्वारा ‘सिटी मोवाइल वालेट’ सेवा सुरु

सिटी एक्सप्रेस जापानद्वारा ‘सिटी मोवाइल वालेट’ सेवा सुरु


  • विशेष प्रतिनिधि, जापान

सिटी एक्सप्रेस जापानले मोवाइल रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ। यसका लागि कम्पनीले मोवाइल एप्लिकेसन ‘सिटी मोवाइल वालेट’ सेवा सुरु गरेको छ । उक्त एप्लिसकेसन गुगल एप्सबाट सजिलै डाउनलोड गरी इमेलको मद्दतबाट रजिष्ट्रेसन गरी सेवा लिन सकिने कम्पनीले जनाएको छ।

‘सिटी मोवाइल वालेट’ नामक उक्त एप्लिकेसन मार्फत नयाँ रिसिभर थप गर्न र जुनसुकै समयमा संसारभरीबाट पैसा पठाउन मिल्ने व्यवस्था गरिएको छ। वालेटमा ३ तरिकाबाट रकम जम्मा गर्न सकिने कम्पनीको भनाइ छ ।

सिटी वालेट कार्डमा जम्मा गरेको रकम आफूअनुकुल समय र जुनसुकै स्थानबाट एक क्लिकमा पठाउन सकिने विशेषता उक्त एप्लिकेसनमा रहेको कम्पनीले जनाएको छ।

नयाँ एप्लिकेसनसँग कम्पनीले प्रयोगकर्तालाई रिवार्ड पोइन्टको पनि व्यवस्था गरेको छ। मोवाइल एप्लिकेसन डाउनलोड गरेर रजिष्ट्र पूरा हुनसाथ नयाँ सदस्यले ५ समय पोइन्ट रिवार्ड पाउने व्यवस्था पनि गरिएको छ । साथै साथीहरुले नयाँ सदस्य बन्नका लागि सिफारिस गरेमा थप ५०० पुरस्कार थपिने कम्पनीले जानकारी दिएको छ। यस्तै, हरेक पटक पैसा पठाउँदा सेवा शुल्कको १०५ पोइन्ट रिवार्ड प्राप्त गर्न सकिने छ।

आधुनिक प्रविधिलाई आत्मसात गर्दै ग्राहकको सुविधालाई ध्यानमा राखेर यस कम्पनीले विगतमा जापानकै जेपी बैंकको एटिएमबाट जुनसुकै समयमा पनि सजिलै पैसा पठाउन मिल्ने व्यवस्था गरेको थियो । आफ्नो सेवालाई थप परिमार्जित र परिस्कृत गर्दै सिटी एक्सप्रेसले पछिल्लो पटक डिजिटल मोबाइल रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ।

विगतका प्रयोगकर्ताले एप्लिकेसन अपडेट गर्नसाथ उक्त सुविधा सुविधा पाउने छन् । यस सेवामार्फत संसारभरीका २०० राष्ट्रहरुमा रकम पठाउन सकिने व्यवस्था रहेको छ। घरमै बसेर सजिलै पैसा पठाउन मिल्ने सुविधा यस एप्लिकेसनमा थप गरिएको कम्पनीले जनाएको छ।

सिटी एक्सप्रेसको मोवाइल रेमिट सेवामार्फत ग्राहकलाई अझै सहजता थपिएको सिटी एक्सप्रेस जपानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठले बताएका छन् । २००७ भन्दा अगाडि जपानबाट नेपालमा पैसा पठाउने कुनै पनि वैधानिक माध्यम नभएको समयमा सिटी एक्सप्रेसले त्यसको नेतृत्व लिएकाले आफूहरु नेपालकै दोस्रो ठूलो रेमिट कम्पनी बन्न सफल भएको उनले बताए।

‘सन् २००७ बाट जापानबाट नेपालमा पैसा पठाउनका लागि कुनै पनि वैधानिक माध्यम थिएन। जापानबाट गैरकानुनी ढंगबाट नेपालमा पैसा पठाउँदा त्यसको वैधानिकता र थुप्रै जोखिमहरु थिए। तर, हामीले कानुनी माध्यमबाट पैसा पठाउनका लागि पहल गऱ्यौँ । आज नेपालकै दोस्रो ठुलो रेमिट कम्पनी बन्न सफल भएका छौं। गत वर्ष नेपालमा १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। नेपाल भित्रिएको उक्त रेमिट्यान्समा हाम्रो हिस्सा २३ प्रतिशत छ। अहिले हामी नेपालकै सबैभन्दा बढी रेमिट ल्याउने दोस्रो स्थानमा छौं । अबको केही समयमा हामी पहिलो हुन्छौं’, उनले भने।

नेपालमा स्थापना भएको यस कम्पनीले जपान, कोरिया, मलेसिया तथा मध्यपुर्वि एसियाका देशहरु कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेविया लगायतका देशहरुबाट समेत आफ्नो सेवा दिइरहेको उनले बताए। यस्तै युरोपका देशहरु र संयुक्त राज्य अमेरिकासँग रेमिट्यान्स कारोबारका लागि लाइसेन्स लिने प्रकृया अगाडी बढेको श्रेष्ठले बताए। सिटी एक्स्प्रेस मनी ट्रान्सफरले जापानमा विगत १३ वर्षदेखि आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।