‘तेस्रोलिंगी पनि मानव नै हुन्, घृणा होइन माया दिनुहोस्’

‘तेस्रोलिंगी पनि मानव नै हुन्, घृणा होइन माया दिनुहोस्’


‘तेस्रोलिंगी नागरिकको पनि सन्तान हुन्छन् ?’ भन्ने समाज छ । अझ त्यसमाथि तेस्रोलिंगीको बच्चा भनेर कुरा काट्नेहरू छन् । तेस्रोलिंगी हनी महर्जन र ज्ञानी महर्जनले आफ्ना दुई सन्तानलाई शिक्षा दिने क्रममा यस्तै विभेद भोगे।

स्कुल पुर्‍याउन जाँदा होस् या लिएर फर्कंदा- ‘छक्का, हिँजडा’को छोराछोरी भन्ने शब्द प्रयोग गर्दा बालबालिकामा मानसिक रूपमा असर परेको हनी बताउँछन् । ‘मेरा बच्चालाई काउन्सिलिङ नै गराउन पर्‍यो,’समर्पण सभ्य समाज नेपालका सचिव समेत रहेका उनले प्रश्न गरे,‘के हामी मानव होइनौँ र ? के हाम्रा सन्तानले विना भेदभाव पढ्न पाउँदैनन् र ?’

उनले आफूहरूको पनि बाँच्ने अधिकार रहेको भन्दै सम्मानपूर्वक हेरिदिन अनुरोध पनि गरे। ‘हाम्रा बालबच्चाले पढ्नमा धेरै समस्या भोगिरहेका छन् ।

तेस्रोलिंगीको बालबालिकाले धेरै विभेद भोग्नुपरेको छ’, उनले भने,‘खाजा खान रेस्टुरेन्टमा जाँदासमेत दुर्व्यवहार भएको छ । त्यो म आफैले पनि महसूस गरेको छु । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक कुनै ग्रहबाट निस्केको होइन, सम्मानपूर्वक हेरिदिनुहोस्।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका बालबालिकाको शिक्षामा भइरहेको विभेद अन्त्य गर्ने उद्देश्यसहित ‘समाजले के भन्ला ?’ सडक नाटक आफ्नै जीवनसँग मेल खाने खालको रहेको उनले बताए ।

कीर्तिपुरको बाघभैरव मन्दिरअगाडि समर्पण सभ्य समाज नेपालले सडक नाटक प्रदर्शन गरेको हो । पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तको परिकल्पनामा प्रदर्शन भएको नाटकमा अभिनय गरेका नमस्तिका श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको बालबच्चाहरूलाई बाटोमा हिँडिरहँदा पनि नराम्रो व्यवहार भइरहेको बताए । ‘अरूले जस्तै समान हक अधिकारका लागि समर्पण सभ्य समाज नेपाल स्थापना भएको छ’, उनले भने,‘हामी जस्ता व्यक्तिलाई हक अधिकारबाट वञ्चित नगरियोस् ।’

गाईजात्राको अवसरमा अमेरिकी दूतावासको सहयोगमा समर्पण सभ्य समाज नेपालले सडक नाटकमार्फत समाजमा जनचेतना फैलाउने काम गरेको जनाएको छ। नील हिरा समाजका उपाध्यक्ष उमेश पाण्डेले आफूहरू यही देशको नागरिक भएको बताउँदै भने,‘हामीलाई पनि देश चलाउन पाउने अधिकार छ, यो अधिकार हनन भइरहेको छ ।’

उनले केटाकेटा र केटीकेटीबीच विवाह गर्ने कानुन बनाउन सरकारसँग माग पनि गरे । ‘आमाको कोखबाट छोरा र छोरी मात्रै जन्मँदैनन्, हामीजस्ता व्यक्ति पनि जन्मन्छन्। हामी जस्ता व्यक्तिले देश चलाउन सक्छौ। हामी पनि यो देशको नागरिक हौँ । हामीलाई पनि देश चलाउन पाउने अधिकार छ,’माया गुरुङ र सुरेन्द्र पाण्डेलाई देखाउँदै पाण्डेले भने,‘केटाकेटा र केटीकेटीबीच सेम सेक्स म्यारिज गर्न पाउनुपर्छ।’

नीलहिरा समाजकी कार्यकारी निर्देशक मनिसा ढकाल सडक नाटकबाट पुरातनवादी सोच परिवर्तन गर्न सहयोग पुग्ने अपेक्षा गरेको सुनाइन् । ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि समर्पण सभ्य समाज स्थापना भएकोमा शुभकामना दिन चाहन्छु’, उनले भनिन्,‘यो नाटकले दिमागको माइन्ड सेट परिवर्तन गर्छ भन्ने आशा लिएका छौँ।’

उनले मास्टर्स गरेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले रोजगारी नपाउने समस्या रहेको बताइन। ‘हामीमाथि परिवारबाट विभेद हुन्छ, स्कुलमा पनि छक्का हिँजडा भनेर जिस्क्याउँछन्। हामीजस्तो सन्तान जन्मेपछि अपहेलना गरेर तिरस्कार गर्छन्उ’, नले भनिन्, ‘हामीलाई पनि माया गरिदिनुहोस्। हामीलाई पनि स्वीकारिदिनुहोस्, घृणा होइन माया दिनुहोस्।’

कार्यकारी निर्देशक ढकालले आफू एक जना ट्रान्सजेण्डर भएर पनि मास्टर्स गरेको बताउँदै प्रमाणपत्र अनुसार काम नपाएको सुनाइन। ‘मास्टर्स गरेर पनि मेरो सर्टिफिकेट विकेको छैन। ट्रान्सजेण्डर भएकै कारण रोजगारी दिएनन्’, उनले भनिन्,‘अब त्यस्तो अवस्था आउन दिन हुँदैन । हामी बाटोमा आउने अवस्था नबनोस् ।’

सर्वोच्च अदालतको आदेश काठमाडौं जिल्ला अदालतले कार्यान्वयन नगरेपछि उच्च अदालत धाइरहेको माया गुरुङ र सुरेन्द्र पाण्डे ६ वर्षदेखि विवाह गरेर बसेका छन्। विवाह दर्ता भने गर्न पाएका छैनन् ।

सडक नाटक प्रदर्शनमा सुरेन्द्रले आफूहरूको विवाहले अहिलेसम्म कानुनी रूपमा मान्यता पाउन नसकेको बताए । ‘कानुनी मान्यता पाउनका लागि अदालतदेखि हरेक ठाउँमा हामीले सङ्घर्ष गरिरहेका छौँ’, उनले भने,‘समाजले पनि स्वीकार गर्नुपर्छ भनेर समर्पण सभ्य समाजले जुन काम गरेको छ त्यसलाई हामी धन्यवाद दिन चाहन्छौँ।’

उनले समाजको हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने बताए । ‘समाजको दृष्टिकोण परिवर्तन भयो भने देश परिवर्तन हुन्छ भन्ने हाम्रो नारा छ। सबैले हेर्ने नजर परिवर्तन गर्नुहोला। समाजले बुझेर सपोर्ट पाइन्छ भन्ने आशा गरेका छौ।’

सडक नाटक ‘समाजले के भन्ला ?’ यसअघि वसन्तपुरमा दरवारस्क्वाएरमा प्रदर्शन भएको थियो ।