हत्या अभियोगमा प्रदेशसभा सदस्य यादव पक्राउ

हत्या अभियोगमा प्रदेशसभा सदस्य यादव पक्राउ


सप्तरी क्षेत्र नम्बर ४ (२)बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार राजविराजबाट मधेस प्रदेशसभा सदस्य सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विसं २०६४ असार ९ गते सिंहको निर्देशनमा सप्तरीको साविकको बोदेबर्साइन गाविस वडा नम्बर ४ बाट अपहरण गरी गोविन्द चौधरीको हत्या गरेको आरोप छ ।

सोही दिन नेङ्गडा गाविस वडा नम्बर ५ वैरिया टोलमा पुऱ्याइ पाँच वटा गोली हानी सप्तरीको खोक्सर प्रवाहा गाविस-१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप छ । उक्त विषयमा जाहेरी परेपछि अदालतमा बयान दिन नआएर सिंह फरार भएका थिए । फरार सूचीमा रहेका उनलाई प्रहरीले पक्राउ गरी कारबाही गरेका थिएन ।

मृतकका दिदी धनगढी गाविस-३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंह नौ जनामाथि किटानी उजुरी हालेकी थिइन् । गोविन्द चौधरीको हत्याको आरोमा पक्राउ परेका सिंहलाई जिल्ला आदालत सप्तरीबाट म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिएका छन् ।