कोशी प्रदेश मुख्यमन्त्री बहाली-विवाद : विश्वासको मतको विवादमा आज पनि सुनुवाइ हुने

कोशी प्रदेश मुख्यमन्त्री बहाली-विवाद : विश्वासको मतको विवादमा आज पनि सुनुवाइ हुने


सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ सुरू भएको छ भने सोमबार समय अभावका कारण हेर्दाहेर्दैमा आज मङ्गलबार पनि सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको इजलासमा सुनुवाइ प्रारम्भ भए पनि सोमबार नभ्याएका कारण आजका लागि राखिएको हो ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशप्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाइ दायर गरेका थिए ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो ।