कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री श्रेष्ठ

कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री श्रेष्ठ


उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ ।

गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्नुहुँदै उहाँले भन्नुभयो- ‘ऐतिहासिक पर्यटकीय तीर्थस्थल कागबेनीको बस्ती पुनर्निर्माणको कामलाई सरकारले महत्वका साथ अघि बढाउँछ ।’

सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा बाढीका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण गरिने गृहमन्त्री श्रेष्ठले बताउनुभयो ।

कालीगण्डकी नदीको बगरमा थुप्रिएको नदीजन्य वस्तुका कारण उत्पन्न जोखिम तथा क्षति न्यूनीकरण गर्दै बस्तीलाई सुरक्षित बनाउने विषयमा ढङ्गले छलफल गरिने उहाँले बताउनुुभयो । प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय बनाइने गृहमन्त्री श्रेष्ठले बताउनुभयो ।

‘कोरला नाकालाई चीन र नेपालबीचको व्यापारिक नाकाका रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले गम्भीरताका साथ पहल गर्नेछ’, उहाँले भन्नुुभयो, ‘बेनी-जोमसोम-कोरला सडकमा बाह्रैमास यातायात सञ्चालनको व्यवस्था मिलाउन लागिपरेका छौँ ।’ क्षतिग्रस्त सडक, पुुल, खानेपानी, विद्युत् र सिँचाइ आयोजना पुनर्निर्माणको काम तत्काल अघि बढाइने उहाँको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले बाढीले क्षति गरेको कागबेनीको बस्तीको निरीक्षणका साथै स्थानीय तह, प्रशासन र सुरक्षा निकायका अधिकारीसित छलफल गर्नुभएको थियो । कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ ।

सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत भौतिक पूर्वाधारतर्फ रु २१ करोड दुई लाख बराबरको क्षति पुगेको तथ्याङ्क छ । स्थानीयका ५० घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ । बाढीबाट २९ घरमा पूर्ण क्षति तथा १५ घरमा आंशिक क्षति पुगेको थियो भने बाढीले बगाउँदा २४ पशुचौपाया मरेका थिए ।

rss