संस्कृतिसम्बन्धी नीति बन्ने

संस्कृतिसम्बन्धी नीति बन्ने

घ.वि. सम्वाददाता
0
Shares

नेपालमा पहिलो पटक संस्कृतिसम्बन्धी नीति बन्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति नीति बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको हो ।

मन्त्रीस्तरीय निर्णयानुसार कार्यदल गठन भएको मन्त्रालयले जनाएको छ । सोमबार सिंहदरबारमा भएको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन मन्त्रालयको आगामी कार्ययोजनाबारे बोल्दै पर्यटनमन्त्री किरातीले पहिलो पटक संस्कृति नीति बनाउन विज्ञ सरोकारवालासहितको कार्यदल गठन गरिने र उक्त कार्यदलले करिब दुई महिनामा प्रतिवेदन बुझाउने गरी समयावधि तोकिने जानकारी दिनुभएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भए पनि विगतमा संस्कृतिसम्बन्धी उल्लेख्य काम नभएको मन्त्री किरातीको धारणा छ । नेपाली समाज र संस्कृतिमाथि प्राज्ञिक अध्ययन गरेरमात्र समाज राष्ट्रलाई समृद्धशाली बनाउन सकिने भएकाले आगामी दिनमा संस्कृतिमाथि बृहत्तर अध्ययन गरिनुपर्ने मन्त्री किरातीको भनाइ छ ।

नेपालको पर्यटन नीति हवाई उड्डयन नीति र संस्कृति नीति पुरानै भएकाले यसबाट ठोस परिणाम निकाल्न नसकिने भएकाले पनि मन्त्रालय अन्तर्गतका तिनै क्षेत्रको नीतिनिर्माण गरिने मन्त्री किरातीले बताउनुभयो ।

कुलपति भुपाल राईको संयोजकत्वमा गठित १३ सदस्यीय समितिमा पूर्वव्यवस्थापिका सांसद सदस्य मल्ल के सुन्दर, भाषा आयोगका सदस्य डा अमर गिरी, संस्कृति महाशाखा प्रमुख दामोदर गौतम, संस्कृतिविद् डा प्रेम खत्री, संस्कृतिविद् डा डिल्ली ओली, पूर्वसचिव डा मानबहादुर विश्वकर्मा, प्राडा वीणा पौड्याल, देवशरण यादव, सांस्कृतिक अध्यता भोगिराज चाम्लिङ चलचित्र निर्देशक नवीन सुब्बा र सदस्य सचिवमा संस्कृति शाखा प्रमुख उपसचिव पुण्यमाया गरागार्इं रहनुभएको छ ।

कार्यदलका संयोजक कुलपति राईले राजनीतिको पनि माउ संस्कृति भए पनि यसबारे नेपालमा धेरै बहस हुन नसकेको भन्दै संस्कृति नीति जरुरी रहेको बताउनुभयो ।

कार्यदलले औपचारिक जिम्मेवारी लिएपछि सरसल्लाह गरेर बृहत् अध्ययन र सुझाव सङ्कलन सुरु गरिने उहाँले बताउनुभयो । कुलपति राईले ओझेलमा परेको सांस्कृतिक पाटोलाई उजागर गर्न बहस र आवश्यक सरसुझाव आदान–प्रदान गर्न पनि अनुरोध गर्नुभएको छ ।रासस