दश दिनदेखि बेपत्ता डाक्टर कोइरालाको मृत शरीर कोसीको भङ्गालोमा

दश दिनदेखि बेपत्ता डाक्टर कोइरालाको मृत शरीर कोसीको भङ्गालोमा


१० दिनदेखि बेपत्ता भएका डाक्टर प्रज्वल कोइरालाको मृत शरीर बुधबार सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित कोसीको भङ्गालोमा फेला परेको छ ।

झापाको दमक नगरपालिका-१ का डा प्रज्वल कोइराला उदयपुरको बेलका नगरपालिका-८ स्थित एक होटेलअगाडि गाडी राखेर सुनसरी र उदयपुर जोड्ने कोशी पुलमा मोबाइल, जुत्ता राखेर बेपत्ता भएका थिए ।

प्रहरीले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको डाक्टर कोइरालाको मृत शरीर सप्तकोसी नदीको भङ्गालो छुटेर टापु बनेको क्षेत्रमा भेटिएको सुरक्षा वेश चतराका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिएका छन् ।

माछा मार्न गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि गएर हेर्दा डा कोइरालाको फोटोसँग मिल्दोजुल्दो भएको उनले बताए । डाक्टर कोइरालाको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

भदौ १० गते आइतबार बेलुकी ड्युटी सकेर डा. कोइराला मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीबाट निस्किएका र सोही दिनको राति २ बजे कोसी पुलनजिकै गाडी राखेर बेपत्ता भएका थिए । प्रेम सम्बन्धमा असफल भएका कारणले कोसीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।