यौनिक अल्पसंख्यकका वैवाहिक सम्बन्धले पाउन सकेनन् वैधानिकता

यौनिक अल्पसंख्यकका वैवाहिक सम्बन्धले पाउन सकेनन् वैधानिकता


  • बसुन्धरा गौतम, काठमाडौं

नेपालमा लैंगिक तथा यौनिक अल्पसंख्यकको विवाहको अधिकार केवल संविधानमा मात्र सीमित रहेको तर व्यावहारिक रुपमा कार्यान्वयन नभएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । आज काठमाडौंमा मितिनी नेपाल संस्थाले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी अध्यक्ष लक्ष्मी घलानले आफू र आफ्नो पार्टनरको सम्बन्ध जोडिएको २४ वर्ष भइसक्दा पनि आफुहरुको सम्बन्धले विवाहको मूर्त रुप लिन नपाएकोमा दुःख व्यक्त गर्नुभयो । साथै उहाँले हालै मात्र सर्वोच्च अदालतले अस्थायी अभिलेख रहनेगरी दर्ता प्रक्रिया अघि बढाउनु भनेपनि यसलाई कागजी रुपमा मात्र समेटिएको तर व्यावहारिक रुपमा लागु हुन नसकेको गुनासो गर्नुभयो । नेपालको संविधान २०७२ को धारा १२, १८ र ४२ मा विवाहसम्बन्धी अधिकार उल्लेख भएपनि यस समुदायले कानुन बमोजिमका न्याय पाउन नसकेको उल्लेख गर्नुभयो ।

यस्तै, कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक सरिता के.सी.ले नेपाल विश्वको अभिलेखमा सन् २०१२ मा सँगै बस्न पाउने अधिकार सुनिश्चित गर्ने देशहरुमा तेस्रो स्थानमा रहेको र यो गर्व गर्नलायक रहेको बताउनुभयो । तर पनि विद्यमान सामाजिक जटिलता, अज्ञानता र गलत सोच भएका कारण समलिंगि जोडीका लागि विवाह फलामे बार बनेको उहाँले जिकिर गर्नुभयो ।

साथै, उहाँले आफ्नो समुदायका व्यक्तिलाई कुन संस्थामा अस्थायी अभिलेख राखिन्छ भन्ने कुराको समेत स्पष्ट जानकारी नभएकै कारण आफुहरु समस्यामा परेको बताउनुभयो । उहाँले दैवीप्रकोपबाट भएका क्षति, मृत्य लगायतका तथ्यांकमा समेत आफ्नो समुदायको गणना नै नहुने गरेको बताउनुभयो । त्यसरी अभिलेखीकरणमा छुटेपछि दैवीप्रकोपमा परेकाले पाउने क्षतिपूर्ति लगायतका अन्य सुविधाबाट समेत आफ्नो समुदाय बञ्चित रहेको बताउनुभयो । विशेषगरी लैंगिक अल्पसंख्यक समुदायले मानव भएर पनि मानवजस्तो जीवन जिउन र आफ्नो चाहनाअनुरुपको जीवन बिताउन नपाएको उहाँको गुनासो रहेको छ ।

कार्यक्रमका सहभागीहरु विश्वल न्यौपाने, जेसिका गौतम र सन्ध्याले यस समुदायको आत्मिक सम्बन्धमा पनि हिंंसा हुने गरेको स्वीकार गर्नुभयो। यस समुदायको सम्बन्ध थाहा पाइसकेपछि कतिपय परिवारले नै नस्वीकारेको अवस्थासमेत उहाँहरुले बताउनुभयो । साथै उहाँहरुलाई आफ्नो पार्टनरले पैसाको लागि धोका दिने, अफिसमा उहाँहरुको लैंगिक पहिचान खुलेपछि गलत व्यवहार गर्ने लगायतका समस्या भोग्नुपरेको जानकारी दिनुभयो ।

कार्यक्रममा उर्वशी बस्याल रेडियो सगरमाथा, नागरिक दैनिक पवित्रा ढकाल,अर्थबजार अनलाईन युवराज गौतम, भागीरथी पण्डित हेल्थपोष्ट नेपाल, सरोज सिंह थापा, गीता चिमोरिया लगायत संचारकर्मीहरुले लैंगिक अल्पसंख्यक समुदायको समलिंगी विवाहका बारेमा जिज्ञासाहरु राख्नुभएको थियो भने जिज्ञासाको समाधान कार्यक्रम संयोजक सरिता के.सी.ले गर्नुभएको थियो ।