बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा सात जनाको मृत्यु, दुई दर्जन घाइते

बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा सात जनाको मृत्यु, दुई दर्जन घाइते


बाँकेको शमशेरगञ्जमा रोकिराखेको एक ट्रकमा बस ठोक्किँदा सात जनाको मृत्यु भएको छ । दाङबाट बर्दियातर्फ गइरहेको ना ७ ख २३२१ नम्बरको बस रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

शुक्रबार राति ९ बजे भएको दुर्घटनामा सात जनाको मृत्यु भएको र करिव दुई दर्जन यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

डिएस्पी नारायण डाँगीले जानकारी दिएअनुसार उक्त दुर्घटनामा ठाकुरबाबा-७ का ६५ वर्षीय साधुराम थारु, ठाकुरबाबा-९ का ५० वर्षीय कांशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ठाकुरबाबा-८ का ४५ वर्षीय जुगबहादुर चन्द र पहिचान नखुलेका अर्का एक युवकको मृत्यु भएको छ ।

मृतकमध्ये जुगबहादुर चन्द बसचालक रहेका र सनाखत नभएका व्यक्ति बसकै स्टाफ भएको प्रहरीको भनाइ छ । बताइएअनुसार दुर्घटनामा परेको सो बसमा ४१ जना यात्रु सवार रहेका थिए । घाइतेको कोहलपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले जनाएअनुसार दाङबाट बर्दियातर्फ फर्कंदै गरेको ठाकुरबाबास्थित बेतनी सामुदायिक वन उपभोक्ता समूहको टोली दुर्घटनामा परेका हुन् ।