आफ्नो मृत्युबाट पाठ सिक्न मिल्दैन…

आफ्नो मृत्युबाट पाठ सिक्न मिल्दैन…


स्वर्ग छ कि छैन, कसैले देखेको छैन तर स्वर्गको परिकल्पना पुण्य या राम्रो काम गर्नेहरूका लागि गरिएको छ । पुण्यको अर्थ आफूले जीवनमा आर्जन गरेको यस्तो कमाइ जसले आफ्नो मृत्युपछि पनि अरुका अगाडि आफ्नो उपस्थिति जनाइराख्छ । पाप यस्तो कार्य मानिसहरूलाई चर्चा गर्न पनि जिउ सिरिङ्ग हुन्छ, डर लाग्छ ।
✍ बबिता बस्नेत

महाभारतमा यक्षले युधिष्ठिरलाई गरेका प्रश्नहरूमध्ये एक थियो- सबैभन्दा ठुलो आश्चार्य के हो ? जवाफमा युधिष्ठिरले भनेका छन्- ‘मृत्यु जीवनको अन्तिम सत्य हो तर मानिसहरूलाई आफ्नो जीवनको अन्तिम सत्य मृत्यु हो भन्ने लाग्दैन, त्यो नै सबैभन्दा ठुलो आश्चर्य हो ।’ हो, यो ठुलो आश्चर्य धेरै-थोरै हामी सबैमा लागु हुने गरेको छ । पछिल्लो समय यही २०८० साल भदौ २६ गते मंगलबार हामीले हाम्रा नेतृत्व पङ्क्तिमा रहेकाहरूको सबैभन्दा सुन्दर तस्बिर असाध्यै अप्रिय ठाउँमा उभिएको बेला देख्यौँ । संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको मृत्युपछि उहाँको पार्थिव शरीर वरपर उभिएर हाम्रो देशका सबै प्रमुख नेताहरू श्रद्धाञ्जली दिइरहेका थिए । सबैको मुहार निन्याउरो थियो, सबैको अनुहारमा अब हाम्रो समय पनि कति होला र ? भन्ने भाव देखिन्थ्यो । जुन आफ्ना समकालीनको मृत्युमा प्रायः मानिसहरूलाई हुने गर्छ । यसअघि यही २०८० सालको असार २७ गते माओवादी नेता तथा प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको मृत्युमा आर्यघाटमा नेताहरूको यस्तै तस्बिर देखिएको थियो ।

हाम्रा धर्मशास्त्रहरूमा पाप र पुण्य भन्ने शब्दलाई निकै महत्व दिइएको छ । स्वर्ग, नर्क, पाप, पुण्य सबै हामीले गर्ने परिणामका आधारमा परिकल्पना गरिएका कुरा हुन् । स्वर्ग छ कि छैन ? कसैले देखेको छैन तर स्वर्गको परिकल्पना पुण्य या राम्रो काम गर्नेहरूका लागि गरिएको छ । पुण्यको अर्थ आफूले जीवनमा आर्जन गरेको यस्तो कमाइ जसले आफ्नो मृत्युपछि पनि अरुका अगाडि आफ्नो उपस्थिति जनाइराख्छ । पाप यस्तो कार्य मानिसहरूलाई चर्चा गर्न पनि जिउ सिरिङ्ग हुन्छ, डर लाग्छ । ‘बिनास्वार्थ अरुको भलाइका लागि केही गर’ भन्ने सन्देश मृत्युसँग जोडिएका विभिन्न प्रसङ्गमा उल्लेख छ । तर हामी कुनै न कुनै रूपले आफ्नो स्वार्थसँग मात्रै जोडिँदा सार्वजनिक हितका कामहरू हुन सकेका छैनन् । एउटा सर्वसाधारण ब्यक्तिको हकमा यस्ता कार्यले उ र उसको परिवारलाई मात्र क्षति पुऱ्याउँछ तर सार्वजनिक ओहदामा बसेका मानिसका स्वार्थी क्रियाकलापले सम्बन्धित क्षेत्र र मुलुकलाई नै क्षति पुऱ्याउँछ ।

मानिस जतिसुकै पढेलेखेको, पदमा पुगेको, धन-सम्पत्ति भएको, नभएको, विद्वान्, ज्ञानी या मुर्ख जे भए पनि हामी कति समयका लागि यो पृथ्वीमा छौँ या हामीसँग कति समय छ भन्ने कसैलाई थाहा हुँदैन । जिन्दगीको सबैभन्दा ठुलो रहस्य र सत्य मृत्यु हो । मानिसको जीवनको सबैभन्दा ठूलो सीमितता भनेको पनि मृत्यु नै हो ।

राजनीतिक दलसम्बद्ध नेतृत्वमा रहेकाहरूले कुनैपनि बेला म मर्न सक्छु भन्ने कुराको ख्याल नगर्दा मुलुकले विकासको गति लिन सकेको छैन । सात प्रदेशहरू बने तर ती प्रदेशमा केन्द्रका नेताहरूले जे गर्छन् त्यही प्रवृत्ति दोहोरिँदा आफू आफूमै बढ्दै गएको खिचातानीले ब्यवस्थाप्रति नै मानिसहरूको दृष्टिकोण परिवर्तन हुन थालेको छ ।

मुलुक ब्यवस्थाले भन्दा बढी विधिविधान र विधानले भन्दा बढी विधानको प्रयोगकर्ताहरूले चल्छ । म बाँच्दै केही राम्रा काम गरुँ, म बाँच्दा नै देशलाई भ्रष्ट्राचार र बेथितिबाट मुक्त गरौँ, मर्नुअघि सबै मिलेर काम गर्नसक्ने वातावरणको निर्माण गरौँ भन्ने सोच सबैमा हुँदो हो त अहिलेको अवस्था आउने थिएन । रोजगारी छैन, रोजगारी सिर्जना गर्नका लागि कुनै भिजन र लक्ष्य छैन । पालिकाहरूको अवस्था त्यस्तै छ, प्रदेश र सङ्घको त्यस्तै छ । हामीसँग भएको बजेटको सही सदुपयोग गर्ने हो भने केही कल–कारखाना, उद्योगहरू स्थापना गर्न सकिन्छ तर त्यतातिर कसैको ध्यान छैन । विगतमा एउटा संसद्मा खिचातानी हुन्थ्यो अब सातवटै प्रदेशमा नेताहरूबीचको खिचातानी प्रमुख कार्य झैँ बनेको छ । राजनीतिक दलहरू सरकार बनाउने र ढाल्ने काममा मात्रै सीमित भएपछि मुलुकमा विकासको कामचाहिँ कसले गर्ने ? यदि म कुनैपनि बेला मर्न सक्छु भन्ने कुरा मानिसहरूमा हुँदो हो त आफू रहँदै राम्रा कामहरू गरुँ भन्ने मनमा आउने थियो तर हामी आफ्नो मृत्युको बारेमा प्रायः सोच्दैनौँ ।

मानिस जतिसुकै पढेलेखेको, पदमा पुगेको, धन-सम्पत्ति भएको, नभएको, विद्वान्, ज्ञानी या मुर्ख जे भए पनि हामी कति समयका लागि यो पृथ्वीमा छौँ या हामीसँग कति समय छ भन्ने कसैलाई थाहा हुँदैन । जिन्दगीको सबैभन्दा ठुलो रहस्य र सत्य मृत्यु हो । मानिसको जीवनको सबैभन्दा ठूलो सीमितता भनेको पनि मृत्यु नै हो । हरेक मानिस एक दिन मर्छ तर कहिले मर्छु भन्ने थाहा हुँदैन । कहिले मरिन्छ भन्ने समय मात्रै थाहा नपाउनुपर्नेमा मर्नुपर्छ भन्ने नै थाहा नपाएजस्तो गर्नु मानवजीवनको अर्को वास्तविकता हो । विगतमा राम्रो काम गरेकाहरूलाई हामी अहिलेसम्म पनि सम्झिरहेका छौँ । कसैले निर्माण गरेका भवनहरूमा बसेका छौँ । कसैले सङ्घर्ष गरेर ल्याएको स्वतन्त्रता उपभोग गरिरहेका छौँ । हाम्रो आफ्नो दायित्वचाहिँ के हो त ? हामी सबै राष्ट्रिय भूमिका निर्वाह गर्ने स्थानमा छैनौँ । हरेक मानिसको जीवनमा त्यस्तो अवसर आउँदा पनि आउँदैन । जतिलाई प्राप्त छ उनीहरूलाई मृत्युअघि नै मैले यो देशबाट बाहिरिँदै गरेका युवालाई आफ्नै देशमा गरिखाने ठाउँ बनाउन र नीति, नियम तथा कानूनको देश भनी चिनाउनुका लागि काम गर्नु आवश्यक छ ।

जीवन र मृत्युलाई लिएर चिन्तनमनन गर्ने मानिसले आफूसँग समय सीमित छ भनेर बुझेको हुन्छ । जीवनका सीमितताहरूको ज्ञानले मानिसलाई बाँच्न त सहज बनाउँछ नै केही राम्रा काम गरिहालुँ भन्ने पनि बनाउँछ । मानिसको सरदर आयुलाई हेर्दा बढीमा ८० या ९० वर्ष नै बाँच्ने रहेछ भने पनि त्यो समय भनेको कति हो र ? जिन्दगीको यो सीमिततालाई बुझ्ने हो भने देशको नेतृत्वमा रहेकाहरूको एकता अस्पताल र आर्यघाटमा मात्र नभइ देशको हित हुने हरेक कार्यमा हुनैपर्ने अवस्थामा मुलुक पुगेको छ ।

महाभारत युद्धको अन्त्यपछिको महाप्रस्थानमा द्रौपदी, सहदेव, नकुल, अर्जुन, भीम स्वर्ग जान पाएनन् किनभने उनीहरूले गरेको काम र सोचमा कुनै न कुनै स्वार्थ लुकेको थियो । जिन्दगीभरी आफ्नो स्वार्थ मात्रै सिद्ध गर्ने हो भने मृत्युपछि पनि स्वर्गमा स्थान र अनन्त शान्ति के पाइएला ?

यो संसार जति बुझ्न खोज्यो त्यति नै आश्चर्यजनक र रहस्यमयी छ । हामीले गहिरिएर बुझ्न खोजे पनि जिन्दगीको समय सकिन्छ, वास्तै नगरे पनि सकिन्छ । हामीले लिइरहेको सास अक्सिजन हो भनेर थाहै नपाइ कतिले यो संसार छोडेर गए । हामीले केही बुझ्नु–नबुझ्नुमा स्वयंलाई फरक परे पनि समयलाई केही फरक पर्दैन । बुद्धले कर्मसँगै सोचलाई पनि त्यत्तिकै महत्व दिनुभएको छ । जुन कुरा कृष्णले गीतामा पहिल्यै भन्नुभएको थियो । कृष्णले महाभारत युद्धमा अर्जुनलाई कर्म र प्रारब्धको विषयमा बताउँदै भन्नुभएको छ, हामीले गर्ने राम्रो-नराम्रो सबै काम कर्म हो । हरेक कर्मको प्रतिफल हुन्छ । राम्रो कामको प्रतिफल राम्रै हुन्छ र नराम्रो कामको प्रतिफल नराम्रै हुन्छ । हामीले गरेको कामको फल नै प्रारब्ध हो । आफैले गरेको कामको प्रतिफल भएका कारण प्रारब्ध टर्दैन । अघि या पछिको कुरा हो, तर मानिसले प्रारम्ब्ध भोग्नैपर्छ ।

मृत्युपछि स्वर्ग र नर्कको परिकल्पना गर्नुको कारण पनि बाँचुन्जेल राम्रो काम गरुन् भनेर नै हो । महाभारत युद्धको अन्त्यपछिको महाप्रस्थानमा द्रौपदी, सहदेव, नकुल, अर्जुन, भीम स्वर्ग जान पाएनन् किनभने उनीहरूले गरेको काम र सोचमा कुनै न कुनै स्वार्थ लुकेको थियो । जिन्दगीभरी आफ्नो स्वार्थ मात्रै सिद्ध गर्ने हो भने मृत्युपछि पनि स्वर्गमा स्थान र अनन्त शान्ति के पाइएला ? त्यसैले अपमान, प्रतिशोध, अहंकारबाट टाढा रहँदै राम्रा काममा हातेमालो गरौँ । पृथ्वीमा आफ्नो उपस्थिति ज्यादै छोटो समयका लागि छ । आफ्नो मृत्युबाट पाठ सिक्न मिल्दैन, अरुको देखेरै राम्रा कामका लागि हतार गरौँ ।