एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै महेश श्रेष्ठ

एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै महेश श्रेष्ठ


गैरआवासीय नेपाली संघको आगामी (२३–२५) कार्यकालको नेतृत्वका लागि गैरआवासीय नेपाली युवा अभियन्ता महेश श्रेष्ठले उम्मेदवारी घोषणा गर्न लागेका छन् । एनआरएनएका वर्तमान उपाध्यक्षसमेत रहेका श्रेष्ठले आज राजधानी काठमाडौंमा एक औपचारिक समारोह आयोजना गरी आफ्नो उम्मेदवारी घोषणा गर्ने जनाएका छन् ।

काठमाडौंमा आज आयोजना गर्न लागिएको उम्मेदवारी घोषणा कार्यक्रममा श्रेष्ठले भावी कार्यकालमा गरिने आफ्नो कार्ययोजनाका साथ अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

गैरआवासीय नेपाली संघको सफल कोषाध्यक्ष भनेर चिनिएका श्रेष्ठले विश्वभर रहेका प्रजातन्त्रमा आस्था राख्नेहरूको सद्भावको कारण आफू नेतृत्वमा आउन खोजेको बताएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिँदै गरेका श्रेष्ठले २३–२५ कार्यकालको लागि आफ्नो टिममा केन्द्रिय महासचिव र युरोप–संयोजकको उम्मेदवारबाहेक अन्य पदमा लगभग टुंगो लगाएका, तर महासचिव र युरोप संयोजक सम्बन्धमा निर्णय लिन उनलाई ठुलो दबाब परेको बुझिएको छ ।

जापाननिवासी गैरआवासीय नेपाली महेश श्रेष्ठले एसिया र मिडल इस्टमा रेमिट्यान्स ब्यवसायलगायत नेपालमा समेत विभिन्न क्षेत्रमा लगानी गरेका छन् । गैरआवासिय नेपाली संघलाई नयाँ शिराबाट अगाडि लैजानुपर्छ भन्ने सोच राख्ने श्रेष्ठसँगै वर्तमान अध्यक्ष बद्री केसी, रविना थापा र वर्तमान उपाध्यक्षसमेत रहेका आरके शर्माले निर्वाचन प्रक्रियामा भाग लिने बुझिएको छ ।