के फरक छ राष्ट्रप्रेमी र अवसरवादीबीच ?

के फरक छ राष्ट्रप्रेमी र अवसरवादीबीच ?


✍ बलराम सिलवाल

श्री गणेशाय नमो नमः । मनोविकार मिल्काएमा शरीर तन्दुरुस्त, मन चङ्गा । मनभित्रको दुर्वाशा गुम्सिंदो, बुद्ध दर्शनले न्याक्दो । दुनियाँभरिका प्राणी सर्जकको सिर्जना – कोही सुन्दर कोही कुरूप हुन्न । मान्छेलाई मन, व्यवहार, प्रवृति, आदत, बुद्दि, विवेक र आचरणले सुन्दर/कुरूप तुल्याउँछ । फलानो बदमास हो नभन्नुस्, तिलानोले बदमासी गरेको हो भन्नुस् । बदमास ओकल्दा व्यक्तिपरक, बदमासी उकेल्दा प्रवृतिपरक । व्यक्तिको निन्दा गर्ने होओइन, उसको प्रवृत्तिको आलोचना गर्ने हो । व्यक्ति विशेषको निन्दा तेस्रो व्यक्तिलाई सुनाएर ऊ सच्चिने हैन । जसको कमीकमजोरी छ, उसैलाई भन्देमा ऊ सच्चिन्छ ।

कसैको चित्त दुखाउन नपरोस्; कटु भाषा बोल्न नपरोस् र कुभलो चिताउन नपरोस् भन्ने उद्दाम चाहना किन्तु परिबन्दले मित्रुलाई शत्रु तुल्याउँदो । अर्कोलाई दोष किन लगाउन परो र ? आफ्नै प्रारब्धले यस्तो पारेको पो हो कि । अरू सम्पन्न हुँदा हामी किन विपन्न हुन पर्या हो ? सायद पश्चगामी सोचले पो हो कि । सुझनबुझका- अर्काको भेजाबाट सञ्चालित मनुवा बग्रेल्ती । सबै आफन्त आफ्ना हुँदैनन् । सबै पराई पराई हुँदैनन् । नाता पर्दैमा आफ्नो र नाता नपर्दैमा पराई भन्ने कुरो होओइन ।

एकताको जुइनो छिन्यो । मनुवा वाद विशेषमा अल्झ्यो/छिरल्लियो । किपट प्रतिशोध साँध्दो । जलाहारी, सुन, नक्कली भुटानी शरणार्थी, ललिता निवाशादि काण्डहरूले कानुनी राज्यको धज्जी उडाउँदो । हाम्रोमा व्यवस्थापिकाले ऐन कानुन बनाउँदो, न्यायपालिका आदेश दिंदो अनि बडादमीको महाआदेशले कार्यपालिका कार्यान्वयन लत्याउँदो । कुकर्मीले नि सर्खारलाई ध्वाँस दिंदो– दण्डहीनता/अराजकता बढेसि । हिन्दूत्वको नाउँमा दक्षिणावर्तबाट आएका तथाकथित धार्मिक गुरूहरूले हाम्रो सम्प्रभुतामा प्रहार गरे नि उनीहरूको पछि लाग्ने झुण्डलाई के विशेषण दिने हो ?

कुमेकीले जङ्गे पिल्लर मासेर सीमाना सार्दा नि कानमा तेल हालेर बस्ने राज्य प्रणालीको ताल ताजुब लाग्दो । आर्य अनार्यबीच जुहारी । को ठिक को बेठिक त शास्त्र/इतिहासले बताउला; मानवले मानवोचित व्यवहार चैं गर्नुपर्छ है । अर्काको बहकाउमा लाग्नुहुन्न; मिलेर बस्नुपर्छ । युरोपेली सङ्घ, साम्राज्यवादी अम्रिका र कुमेकीहरू नेपाल र नेपालीको अवसान गराउन घुँडा धसेर लागेका छन् । जे होस्, हामीले एकार्काको मूल्यमान्यता, भेषभूषा,आस्था, धर्म, संस्कृति र रीतिरिवाजको सम्मान गर्नुपर्छ । दुराचारी, अनाचारी, व्यभिचारी, पापाचारी र भ्रष्टाचारीको पतन अवश्यमेव । परिवार, समाज र मुलुक बदल्नु छ भने आफूबाट शुरु गर्नुपर्छ । गोलभिंडा खान थालेको नि तेह्र सय वर्ष भएछ । हेर्दा राम्रो रातो देखिए नि बिख थियो वा खाद्य फल थियो के थाहा ? शुरूमा एक जना साहसिलो मान्छेले गोलभिंडा खायो, ऊ मरेन । बिख भएको भए ऊ मर्न नि सक्थ्यो । अचेल दुनियाँ निर्धक्कसित गोलभिंडा खान्छ । पहिलो फड्को चाल्ने मनुवाले टण्टा झेल्नुपर्छ- टाउकोको टुटुल्को पिड्को अबिरो झैं ।

भन्ने कुरो त कतिपय, मनभित्रै गगल्साउँछ । पुस्तक पोलिन्छ, विचार डढ्दैन । खाकित मृतकलाई हार्दिक श्रद्धाञ्जली भन्नुपर्नेमा लाइक गरेर रिप लेखिन्छ । कस्तो अचम्म ?! मान्छे मर्दा नि लाइक हुन्छ र ? खाल्टोमा पुरिएको मृतकलाई पो रिप लेख्ने हो त । कि आफूले जान्नुपर्छ कि अर्कोबाट सिक्नुपर्छ । अहङ्कार गर्नुहुन्न, यसले सिध्याउँछ ।

राष्ट्र/राष्ट्रियता कति प्यारो हुन्छ भन्ने सन्दर्भमा बुद्ध दर्शनमा आधारित सुगाको कथा पाठकवृन्दको जानकारीको लागि प्रस्तुतित । धेरै वर्ष अघिको कुरो । जंगलमा जनावरहरू/पंक्षीहरूको साथमा एउटा सुगा नि बस्थ्यो । दिनहरू बित्दै गए । एकदिन त्यो जंगलमा चट्कने परेर डढेलो लाग्यो । ताकछोपुवा जनावर/पंक्षीहरू सुरक्षित स्थलतिर लागे तर सुगाले जंगल छोड्न चाहेन । बरु त्यसले त खोलोमा डुबेर आफ्नो जीऊमा टाँसिएको पानी छर्केर आगो निभाउने कोशिश गर्यो । उसले किञ्चित हरेस खाएन । उसको सत्प्रयास देखेर वरुणले सहयोग गरे- आगो निभ्यो । जंगल फेरि हराबरा भो । भागेर गएकाहरू फर्केर आए । यही फरक हो राष्ट्रप्रेमी र अवसरवादीहरूबीच ।

यस प्रबन्धले मानवीय मानसिकतामा थोरै परिवर्तन ल्याउन सके आफूलाई धन्य ठान्ने थिएँ । बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।