शव उठ्न दुई-चार दिन लाग्ने अवस्था कसले बनायो ?

शव उठ्न दुई-चार दिन लाग्ने अवस्था कसले बनायो ?


गरिव युवाहरूलाई वैदेशिक रोजगारमा धकेल्ने र उनीहरूले रगत र पसिनासँग साटेर पठाएको डलर प्रयोग गरेर धनीहरूले युरोप, अमेरिका तथा अष्ट्रेलियामा अलिसान महल खडा गर्ने दुर्भाग्यपूर्ण दुश्चक्र नेपालमा सुरु भएको छ ।
✍ महेन्द्र पाण्डे

कसैको निधनलगत्तै नकारात्मक प्रतिक्रिया दिने संस्कार नेपालीहरूको होइन । मान्छे जतिसुकै दुष्ट भएपनि मरेपछि दुःख प्रकट गर्ने नेपालीहरूको संस्कार हो । त्यसमध्ये पनि सुवासचन्द्र नेम्वाङको छवी समकालिन नेताहरूको तुलनमा स्वच्छ रह्यो । औंल्याउनै पर्ने अवगुण उनका थिएनन्, तर उनको निधनपछि सामाजिक सन्जालमा आएका कतिपय प्रतिक्रियाले भने हाम्रो समाज कतातिर जाँदैछ भन्ने प्रश्न गम्भीर रुपमा खडा गरेको छ ।

उदाहरणका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले समेत सामाजिक सन्जालमा लेखे– ‘काठमाडौंदेखि छोरो गाडी चढिसक्यो रे, आएपछि दागवत्ति दिन्छ’ भन्ने स्थितिबाट ‘अष्ट्रिेलिया, अमेरिकादेखि आज प्लेन चढ्ने रे, आएपछि दागवत्ति दिन्छ भन्नेसम्म पुगियो । प्रत्येक लाशले अब दागवत्तिका लागि विदेश कुर्नुपर्ने भयो । देश त बनाएकै रहेछौँ ।’ बालेन्द्र शाह त प्रतिनिधि उदाहरण मात्रै हुन् । शोक तथा श्रद्धान्जली प्रकटसँगै युवाहरूले सामाजिक सन्जालमा लेखे- ‘लासले चार दिनसम्म आफन्त कुर्नुपर्ने के देश बनायौ यार पाँच दशक राजनीति गरेर ?’ देशको नीति निर्माण तथा कार्यान्वयन तहमा सबै भन्दा लामो समय विताएका नेम्वाङका सन्तानले त स्वदेशमा आफ्नो भविक्ष्य देखेका रहेनछन् भने दूरदराजका सर्वसाधरण भुँइमान्छेका सन्तानको हालत के होला ? देश निर्माणको दायित्व बोकेका नेताहरूले त आफ्नै देशमा आफ्ना छोराछोरीको भविष्य देखेका छैनन् भने आम जनताका छोराछोरीले देशभित्र आफ्नो भविष्य कसरी सुरक्षित ठान्ने ? यो गम्भीर प्रश्न हो ।

हाम्रो सामाजिक परम्पराअनुसार छोरा-छोरी सकेसम्म हरदम बाबुआमाको सेवामा रहनुपर्छ । हरदम सेवा गर्न नसके बिरामी पर्दा त सेवा गर्नैपर्छ । बिरामी पर्दा पनि सेवा गर्न नसक्ने अवस्था पनि कहिलेकाहीँ आउन सक्छ, तर अन्त्येष्टिमा भने छोराछोरीको उपस्थिति अनिवार्य छ । पछिल्ला वर्षहरूमा हामीले यो संस्कार जोगाउन सकेनौँ । तथ्यांक हेर्ने हो भने देशका अधिकांश युवा विदेशमा छन् । गाउँघरमा बुढाबुढी मात्रै बाँकी छन् । उनीहरू मरेपछि लाश उठ्न कम्तिमा पनि ३-४ दिन पर्खनुपर्ने अवस्था बनेको छ ।

विगत एक वर्षको तथ्यांक हेर्ने हो भने दैनिक ८ हजार युवा विदेशिने गरेका छन् । यस हिसाबले वार्षिक ३० लाख युवा विदेसिने भए । नेपालमा वार्षिक ४ लाख शिशु जन्मने गरेको जनगणनाको तथ्यांक छ । एक वर्षभित्र जन्मने शिशु र एक वर्षभित्र विदेशिने युवाहरूको हिसाब गर्ने हो भने नेपालबाट नेपालीहरू रित्तिन अब केही वर्ष मात्रै बाँकी छ । अहिले विदेश जाने नेपाली युवाहरूको लहर हेर्दा आगामी ५ वर्षमा अधिकांश नेपाली विदेशमा हुनेछन् । पढेका जनशक्ति बाहिर जाँदा देशमा गुणस्तरीय जनशक्तिको अभाव हुनु स्वभाविकै हो यस्तो बेला । अधिकांश कलेज मर्ज हुनेछन्, बेरोजगारी झन बढ्ने छ । आगामी १० वर्षभित्र प्रहरी, आर्मी, सेना, उद्योगमा काम गर्ने व्यक्ति, कृषि गर्ने व्यक्ति मात्र हैन निजामति सेवामा काम गर्ने जनशक्तिको पनि अभाव हुनेछ । श्रमिक नै नभए पछि उद्योग धन्दा बन्द हुने भइहाले । विद्यार्थी नै नभए पछि स्कुल कलेज बन्द हुने भइहाले ।

राष्ट्रपति पौडेल र संविधानसभाका हालै दिवंगत अध्यक्ष नेम्वाङ त उदाहरण मात्रै हुन् । नेपालको नीति निर्माण तथा कार्यान्वयनको माथिल्लो तथा प्रभावकारी तहमा रहेका धेरैजसो नेता तथा कर्मचारीहरूका छोराछोरी विदेश भएको कुरा कटुसत्य हो । करिव एक वर्षअघि नेपाली काङ्ग्रेसका तत्कालिन वरिष्ठ नेता (वर्तमान राष्ट्रपति) रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले आँफूले लण्डनमा घर किनेको कुरा सगौरव सामाजिक सन्जालमा पोष्ट गरेका थिए । २०४८ सालदेखि हालसम्म लगातार सत्तामा रहेका बाबुका छोरा चिन्तन पौडेलले देश भित्र आफ्ना सन्ततिको भविष्य नदेखेरै लण्डनमा घर किनेका होलान् ।

तुलनात्मक रूपमा स्वच्छ छवि भएको मानिने राष्ट्रपति पौडेल र संविधानसभाका हालै दिवंगत अध्यक्ष नेम्वाङका सन्नतिको त यो हालत छ भने भ्रष्टाचारीहरूका सन्ततिको हालत के होला ? जातिय द्वन्द्व र गृहयुद्धले ग्रस्त भएका विश्वका केही देशहरूको पृष्ठभूमिसँग नेपालको वर्तमान अवस्था धेरै हदसम्म मिल्दोजुल्दो छ । ती देशहरूमा सर्वप्रथम भ्रष्टाचारले जरो गाड्यो । भ्रष्टाचारीले विदेशमा लगेर सम्पत्ति थुपोर्न थालेपछि सदाचारीहरू पनि देशभित्र बस्न सक्ने अवस्था रहेन । उनीहरू पनि पलायन हुँदै गए । वाध्यतावश विदेश पलायन भएका युवाहरूले स्वदेशमा फर्केर भ्रष्टाचारी शासकविरुद्ध आन्दोलनको विगुल फुके । तर जनता भन्दा भ्रष्टाचारी शासकहरू धेरै बाठा देखिए । भ्रष्टाचारी शासकहरूले जातिय तथा साम्प्रदायिक एजेण्डा उठाएर आफूविरुद्धको आन्दोलनलाई अर्कै दिशातिर मोडिदिए, जसका कारण जनता आपसमै लड्न थाले । भ्रष्टाचारीहरूले देश लुटिरहे ।

यही फर्मुला हाम्रो देशका भ्रष्टाचारीहरूले पनि अपनाइरहेका छन् । जातीय तथा साम्प्रदायिक द्वन्द्वको आगो झोसिसकिएको छ । यतिबेला उछालिएको गोरु काण्ड त्यसैको एउटा कडी हो । भारतीय ब्यापारीहरूले त धमिलो पानीमा माछा मार्ने प्रयत्न गरिरहेका हुन् ।

गरिव युवाहरूलाई वैदेशिक रोजगारमा धकेल्ने र उनीहरूले रगत र पसिनासँग साटेर पठाएको डलर प्रयोग गरेर धनीहरूले युरोप, अमेरिका तथा अष्ट्रेलियामा अलिसान महल खडा गर्ने दुर्भाग्यपूर्ण दुश्चक्र नेपालमा सुरु भएको छ । गरिवको रगत र पसिनामा धनीहरूले रजाइँ गर्ने दुश्चक्रमा नेपाल कतिसम्म फसेको छ, भन्ने एक-दुई वटा उदाहरण हेरौँ ।

उदाहरण नम्बर १

गत आर्थिक वर्ष विदेशी पर्यटकबाट नेपालले ६१ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ८० प्रतिशत बढी हो । तर विदेशीले नेपाल घुम्दा आउने रकमभन्दा दोब्बर रकम नेपालीले विदेश भ्रमणमा खर्चने गरेका छन् । नेपालीले गत आर्थिक वर्षमा मात्रै १ खर्ब ४४ अर्ब रुपैयाँ विदेश घुमेर सके । यसैगरी विदेशमा अध्ययन गर्न जाने नेपालीहरूले गत आर्थिक वर्ष १ खर्ब ४ अर्ब रुपैयाँ लगे । विदेश घुम्न जाने र पढ्न जाने नेपालीहरूले लैजाने रकममा हरेक वर्ष ५० प्रतिशतले वृद्धि हुने गरेको छ ।

भारत घुम्न जाने, भारत पढ्न जाने र भारतमा स्वास्थ्य उपचार गर्न जानेहरूले लगेको रकम भने यो तथ्यांकमा समावेश गरिएको छैन । मोटामोटी हिसाब गर्दा गत आर्थिक वर्ष विदेशी पर्यटक तथा विदेशमा बस्तु निर्यात वापत जति डलर आम्दानी भयो, त्यो भन्दा धेरै डलर विदेश घुम्न जाने, अध्ययन गर्न जाने र स्वास्थ्य उपचार गर्न जाने धनीहरूले लगेको स्पष्ट हुन्छ ।

उदाहरण नम्बर २

गत आर्थिक वर्ष मात्रै करिब १७ खर्ब रुपैयाँ बराबरको बस्तु आयात हाम्रो देशले गरेको छ । यो १७ खर्बमध्ये पनि आधाभन्दा बढी बस्तुहरू अत्यावश्यकीय होइनन् । विलासिताका बस्तुहरू हुन् । विलासिताका बस्तु उपभोग गर्ने भनेको पनि धनी वर्गले नै हो । विलासिताको बस्तु उपभोग गर्नु, विदेशमा घुम्न जानु, पढ्न भन्दै जानु, स्वास्थ्य उपचार भन्दै विदेश जानु भनेको मोजमस्ती नै हो । धनी वर्गले गर्ने मोजमस्तीका लागि विदेशी मुद्राको जोहो कसरी भइरहेको छ त ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने निकै कहालीलाग्दो अवस्था छ ।

गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या ४० प्रतिशतले बढेको तथ्यांक छ । जसका कारण रेमिटेन्समा अत्यधिक वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएकोमा गत आर्थिक वर्ष १२ खर्ब २० अर्ब रुपैयाँ भित्रिएको छ ।

वैदेशिक रोजगारीमा जाने भनेका गरिब युवाहरू हुन् । उनीहरूको रगत पसिनाको कमाइले नै मुलुक चलिरहेको छ भन्ने कुरामा कहीँ कतै द्विविधा छैन । तर उनीहरूका परिवार सधैँ पीडित छन्, ठगिएका छन्, कालाव्यापारीहरूको शोषणमा परेका छन् । मुलुकको धनीवर्गले गरिरहेको मोज मस्ती तिनै गरिब युवाहरूले रगत पसिनाबाट साटेर ल्याएको विदेशी मुद्रा हो । हाम्रो देशका व्यापारी व्यवसायीहरू फस्टाएको तिनै युवाहरूले विदेशबाट पठाएको रकमले हो ।

समाजवादको धज्जी

हाम्रो संविधानमा समाजवाद उन्मुख शब्द लेखिएको छ । विगत ३० वर्षको अवधिलाई हेर्ने हो भने अपवादबाहेक कम्युनिष्ट पार्टीहरू नै सत्तामा छन् । धनी वर्गसँग प्रसस्त कर लिएर तल्लो वर्गलाई भरपुर सुविधा दिइरहेका देशहरूलाई पुँजीवादी भन्दै अनेकथरी जार्गन प्रयोग गरेर गाली वर्षाउन नेपालका कम्युनिस्ट शासकहरू थाक्दैनन् । तर आफ्नो शासनमा भने गरिब वर्गको शोषण गरेर धनी वर्ग पोस्ने र धनी वर्गसँग कमिसन लिएर मोजमस्ती गर्ने प्रवृत्तिलाई निरन्तरता दिएका छन् । लाज घिन केही पनि बाँकी छैन ।

अपराध शासन सत्तामा बस्नेहरूले गरेका छन् । तर दोष लोकतन्त्रलाई दिन थालिएको छ । सबै भन्दा ठूलो दुर्भाग्य यही हो । आन्दोलन गर्नु पर्ने भ्रष्टाचारी विरुद्ध हो, तर गोरु काट्न पाउनुपर्ने की नपर्ने ? भन्ने विवाद घुसाएर जनतावीच द्वन्द्व सिर्जना गराउने प्रयास गरिएको छ । यी दुवै पक्षमा भ्रष्टाचारीहरूको लगानी छ । नेपाल मार्फत गोरुको मासु चीन निर्यात गर्न चाहने व्यापारी र गोरुको मासु निर्यात गर्दै आएका भारतीय व्यापारीहरूको स्वार्थको टकरावका पछाडि सोझा नेपाली जनतालाई फसाउने र भ्रष्टाचारको साम्राज्यलाई निरन्तरता दिने प्रयास भएको देखिन्छ ।

यति भन्दै गर्दा सम्पूर्ण दोष देशका नीति–निर्मातामाथि थोपर्न खोजिएको होइन । यसमा समाज परिवर्तनको पनि भूमिका छ । विश्वव्यापीकरणको प्रभाव नेपालमा पनि परेको छ । खासगरी पश्चिमा समाजको प्रभाव नेपालमा बढ्दै गएको अहिले होइन । अहिले त सतहमा प्रकट भएको मात्रै हो । पश्चिमा समाज भनेको चराचुरुङ्गी जस्तै हो । जसरी चराचुरुङ्गीका बचेरा जब उड्न थाल्छ तब उसले माउ र गुँड छाडेर स्वतन्त्रतापूर्वक छुट्टै संसारमा जिउन थाल्छ, त्यसरी नै पश्चिमा समाजमा पनि बालबच्चा जब बालिग हुन्छन् तब उनीहरू पनि बाबुआमाबाट छुट्टिएर नयाँ जीवन जीउन सुरु गर्छन् । यसलाई समाजशास्त्रीय दृष्टिकोणमा ‘इन्डिभिज्युअल सोसाइटी’ भन्ने गरिन्छ । नेपाली समाज पनि सामाजिक विकास क्रमसँगै ‘इन्डिभिज्युअल’ सोसाइटीतिर गइरहेको संकेत विभिन्न मानकहरूले देखाइरहेको छ । अहिले नेपाली समाजमा वृद्ध बाबुआमा गाउँमा, पढ्ने बालबच्चा सहरमा र कमाउने युवाहरू विदेशमा रहेको देख्न सकिन्छ । अहिले सामाजिक सन्जालमा २०४६ सालपछिको राज्यव्यवस्थाले सिर्जना गरेको हो भनेर जुन भाष्य निर्माण गर्न खोजिदैछ, त्यसमा पूर्ण रुपमा सत्यता छैन । किनभने यो भनेको विशुद्ध रुपमा ‘इन्डिभिज्युअल सोसाइटी’को उपज हो । तर पश्चिमा देशतिर वृद्ध अवस्थामा वृद्ध-वृद्धाहरूको व्यवस्थापन अत्यन्त राम्रो छ । आफ्ना सन्तति जहाँसुकै भए पनि उनीहरूलाई सुख तथा सन्तोषका साथ जीवन यापन गर्ने व्यवस्था राज्यले मिलाइदिएको छ । हामीकहाँ त्यो अवस्था छैन । त्यसैले अहिले विदेशिएका नेपाली युवाहरू स्वदेश फर्कने सम्भावना कम छ । किनकि बुढेशकालमा त्यहाँ झन् राम्रो व्यवस्था छ ।