आपराधिक कर्ममा फस्दै जापानवासी नेपाली !

आपराधिक कर्ममा फस्दै जापानवासी नेपाली !


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानमा पछिल्लो समय नेपालीहरू एकपछि अर्को ठगीसम्बन्धी अभियोगमा पक्राउ परेका खबर जापानी संचारमाध्यमहरूले प्रकाशन/प्रसारण गरेका छन् । गत अगस्ट महिनामा फुकुओका सेनमोन गाक्को पढ्दै गरेका विद्यार्थी अर्काको क्रेडिट कार्डको दुरुपयोग गरि सामान खरिद तथा पुनः बिक्रीको अभियोगमा पक्राउ परेका थिए भने त्यसको केही दिनमा चिबा प्रिफेक्चरमा अर्का एक नेपाली युवाले कन्विनिएन्स स्टोरबाट ह्वीस्की चोरेको तथा कर्मचारीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेको खबर प्रकाशन भएको थियो ।

त्यही शिलशिलाको निरन्तरता जस्तै गरि भदौ १२ का दिन फेरि सेन्दाइनिवासी कम्पनीमा कार्यरत दुई जना नेपालीले अघिल्लो वर्ष अर्काको सवारी चालक अनुमतिपत्र प्रयोग गरेर टोकियोभित्र रहेको मोबाइल फोन पसलबाट १५ वटा फोन सम्झौता गरि २ लाख ४७ हजार ५ सय येन बराबरको ठगी गरेको अभियोगमा पक्राउ परेका छन् ।

यसअलवा पछिल्ला दिन जापानमा नेपाली नागरिकहरूबाट गरिएका अन्य ठगी तथा यौन दुव्र्यवहारका घटनाहरू पनि प्रकाशनमा आएका छन् । जापानका नेपाली समुदायका विविध घटनाक्रमहरूमा प्रहरीसँग छलफल तथा समन्वय गर्दै आएकी एनआरएनए अभियन्ता संगिता अधिकारी सुवेदीका अनुसार पछिल्ला दिन जान-अन्जानमा नेपाली नागरिकहरूको गैरकानुनी कार्यमा संलग्नता बढेको बारे प्रहरीले पछिल्लो भेटमा समेत जानकारी गराएको थियो ।

अधिकारीले भनिन्, ‘जापान प्रहरीसँगको मिटिङबाट जानकारी प्राप्त भएअनुसार अहिले जापानमा बढ्दै गएको विभिन्न अपराधमा नेपालीहरू पनि मुछिने क्रम बढ्दो छ । केही दिनअघि एक नेपाली पुरुष ड्रग्स केसमा समाएका छन् । उनी अहिले अनुसन्धानकै घेरामा रहेको बुझिएको छ । साथै फ्रिमा मोवाइल पाईन्छ भन्दै विभिन्न बहानामा लालायित तुल्याएर मोवाइल भिडाउने र पछि अनावश्यक बिल पठाउने काण्डमा पनि नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसका साथै कतिपय अवस्थामा चाहिँ अन्जानमा झुक्किएर महिलाको शरीरमा छोइँदा पनि यौनहिंसा जस्तो केसमा वर्षौ जेलमा राखिएको समेत पाइएको छ । किन यस्तो गरिएको भन्दा प्रहरीले ‘घटना घटेपछि माफी नमाग्नु र माफी माग भनेर मौका दिँदा पनि अटेर गर्दा पीडित आक्रोशमा आई कानुनी प्रक्रियामा जाँदा यस्ता घटना हुने गरेको’ जवाफ दिने गरेको छ ।

जानजान गैरकानुनी काममा संलग्नहरूले त अवश्य पनि कानुनी कारबाही भोग्छन् नै, तर अन्जानमा भएका र कसैले दुरुपयोग गरेका केसहरूमा फसेकाको हकमा तिनलाई कसरी न्याय दिलाउने भन्ने सवाल पनि पैदा भएको छ ।