यसरी पनि हुँदैछ समाज टुक्र्याउने षड्यन्त्र

यसरी पनि हुँदैछ समाज टुक्र्याउने षड्यन्त्र


स्वयम्भू र चैत्य अलग-अलग हुन्

✍ मोहन लामा रुम्बा

स्वयम्भू चैत्यलाई हामीले एउटै अर्थमा बुझ्ने गरेका हुन्छौँ, तर शास्त्रीय हिसाबले स्वयम्भू र चैत्य अलग-अलग हुन् । स्वयम्भू उत्पन्न भएपछि त्यसलाई सुरक्षित गर्न अथवा छोप्नको लागि चैत्य निर्माण गरिएको हो, वास्तविक स्वयम्भू चैत्यको गर्भगृहभित्र रहेको हुन्छ ।

स्वयम्भू महापुराण अनुसार, स्वयम्भू पर्वतलाई सत्य युगमा पद्मगिरि, त्रेता युगमा गोश्रृंग, द्वापर युगमा बज्रकुट, कलियुगमा गोपुच्छपर्वत र नेपाल भाषामा साम्हयंगु पर्वत भनिन्छ । किनभने, यस पर्वतको आकार गाईको स्वरुप जस्तो देखिन्छ ।

यो गोपुच्छ पर्वतको अधिपति मालिक गणेश भगवान हुनुहुन्छ । एकपटक आचार्य पद्मसंभव (गुरु रेम्पुर्छे)ले चैत्यमा आइ गणेश भगवानलाई आमन्त्रण नगरीकन पुजा गर्दा पुजामा बाधा व्यवधान भएपछि त्यस पर्वतको स्वामी गणेश भगवान रहेकोे थाहा भएपछि गणेश भगवानको पुजा गर्नुभइ अनुष्ठान सफल भएको थियो भन्ने स्वयम्भू पुराणमा पाइन्छ ।

थचक्क बसेको गाईको जस्तो गोपुच्छ पर्वतको स्वामी गणेश भगवान् हुनुहुन्छ । त्यसको शिरमा स्वयम्भू हुनुहुन्छ । स्वयम्भूमाथि चैत्य रहेकोे हुन्छ । स्वयम्भू एक संस्कृत सब्द हो जसको अर्थ हुन्छ ‘स्व’- ‘आफैं’ र ‘भु’ जसको अर्थ हुन्छ ‘जन्म लिनको लागि’ अथवा ‘उत्पन्न हुनु’, अर्थात् उहाँ कुनै व्यक्तिद्वारा उत्पादन वा उत्पत्ति नभएको बरु स्वयम् अस्तित्वमा रहेकोे भन्ने हुन्छ । त्यसैले शिवको अर्को नाम हो स्वयम्भू अर्थात् स्व-उत्पन्न !

पशुपतिनाथको मन्दिर पनि स्वयम्भूनाथ नै हो, स्वयम् उत्पत्ति भएको ! गोपाल बंशावली अनुसार ‘बहुह्री नाम गरेको गाईले सधैं बागमती किनारमा दुध चढाउने गरेको र पछि खनेर हेर्दा त्यहाँ पशुपतिको ज्योतिर्लिङ्ग उत्पति भएको कथा उल्लेख भएर आउँछ भने स्वयम्भू महापुराणमा पनि स्वयम्भूको उत्पत्तिको कथा यसरी आउँछ-

‘ज्योतिरूपको रश्मि सूर्यको तेजजस्तै प्रकाशमान भएर दश दिशामा फैलिएको थियो । त्यस ज्योतिरूप श्री स्वयम्भू धर्मधातु जिनालयको उत्पत्ति भएपछि ब्रह्मा, विष्णु, महेश्वर, इन्द्र सकल देवगण धृतराष्ट्र, विख्धक, विरूपाक्ष, कुवेर, चतुर्महाराजाहरू आदि लोकपालगण, सकल नाग, सिद्ध, गरुड, विद्याधर, साध्यगण, यक्ष, गन्धर्व, किन्नर, राक्षस, ऋषि, मुनि, तपस्वी आदि सकलले ज्योतिरूप श्री स्वयम्भूको पूजा गरी स्तोत्र पढी वन्दना गरिरहेका थिए ।’

त्यसैगरी अगाडि आउँछ- ‘ज्योतिरूप श्री स्वयम्भूलाई कलिकालमा नष्ट भ्रष्ट होला भनी स्थूल विशाल शिलाले छोपी त्यस शिलाको माथि चैत्य निर्माण गरेर छत्र ध्वजापताका चढाई दश कर्म आदि प्रतिष्ठा गरेका थिए ।’ (स्वयम्भू महापुराण)

पशुपतिमा ज्योतिर्लिंग उत्पत्तिको कथा र स्वयम्भूमा ज्योतिरूपको तेज रश्मि उत्पत्ति भएको कथा एकै हुन् । त्यसैले जुन हामीले स्वयम्भू भन्छौँ त्यो त विशाल शिलाले छोपेर राखेको छ, त्यसमाथि मात्रै चैत्य बनाएको हो, गर्भगृहभित्रको स्वयम्भूको सुरक्षा गर्न । त्यसैले स्वयम्भू महाचैत्य भन्दा हामीले चैत्यको गर्भगृहभित्र रहेकोे ज्योतिरूप स्वयम्भू र चैत्य भनी सम्झिनु पर्छ ।

तसर्थ, सनातनीहरूले जानीनजानी पशुपति फलानो धर्म मान्ने समुदायको स्वयम्भूनाथ चैत्यचाहिँ फलानो धर्म मान्नेहरूको भन्दै आइरहेका छौँ, यो सरासर गलत हो । स्वयम्भू भनेको नै शिव हो शिव नै बोधिसत्व अवलोकितेश्वर हो, र अवलोकितेश्वर नै अमिताभ बुद्ध हुन् र अमिताभ नै आदि बुद्ध हुन् । त्यसैले हाम्रा यी अमुल्य सम्पदाहरू हाम्रा पू्र्खाहरूले हामीलाई एकापसमा तोड्नलाई होइन जोड्नलाई बनाएको हो ।

हामी ऐतिहासिक कालदेखि हाम्रो सामाजिक व्यवस्था धार्मिक व्यवस्था हामी एकापसमा अविच्चिन्न रूपमा जोडिँदै आइरहेका हौँ । यही हामी नेपालीहरूको अनुपम विशेषता पनि हो ।

आजभोलि पश्चिमी वायु चढेका दैत्यहरूले नेपाली अनुहारका केही टाठाबाठाहरूलाई ‘बौद्ध’को खोल ओढाएर भिक्षुको भेषमा कसैलाई धार्मिक जानिफकारको भेषमा जातीय विभाजन गराउन धर्मभेद, देवताभेद, जातिभेद, वर्णभेद गराउँदै समाजलाई टुक्राउँदैछ, जसको सबैभन्दा ठूलो र प्रत्यक्ष असर उपत्यकाको नेवारी समाजले टुक्रा-टुक्रा भएर भोग्नुपर्ने छ र, नजानिँदो तरिकाले भोग्न सुरु पनि भइसकेको छ ।

सचेत रहौँ, सजगता अपनाऔँ, बेलैमा चेतना भया ! जय सनातन !!