एनआरएनए केन्द्रिय उपाध्यक्षमा नारायण आचार्यको उम्मेदवारी घोषणा

एनआरएनए केन्द्रिय उपाध्यक्षमा नारायण आचार्यको उम्मेदवारी घोषणा


गैरआवासीय नेपाली संघको आगामी कार्यकाल २०२३–२०२५ का लागि नेदरल्याण्डनिवासी नारायण आचार्यले उम्मेदवारी दिएका छन् । आचार्य सङ्घको वर्तमान कार्यसमितिमा पनि उपाध्यक्ष रहेका छन् । आफूले दिएको योगदानलाई बदलिँदो परिस्थितिमा समयसापेक्ष तुल्याइ सङ्घलाई अझै नयाँ तवरले अगाडि बढाउनका लागि पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताएका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्डको अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य, युरोप क्षेत्रिय संयोजक हुँदै केन्द्रिय उपाध्यक्षको जिम्मेवारीमा पुगेका आचार्य नेपालमा रहँदा शंकरदेव क्याम्पसमा स्ववियु सभापति चुनिएर उत्कृष्ट कार्यसम्पादन गरिसकेका व्यक्ति भनेर डायस्पोरामा परिचित छन् ।

आफूलाई प्रजातान्त्रिक व्यक्तित्व भन्न रुचाउने आचार्यले आफ्नो उम्मेदवारी घोषणामा, ‘आफूले गैरआवासीय नेपाली सङ्घको अभियानमा आजसम्म दिएको योगदान, समर्पण र समन्वयको आधारमा विश्वभर रहनुभएका सङ्घका शुभचिन्तक मित्रहरूबाट आएको सुझावको आधारमा निर्णय लिएर अगाडि बढ्न चाहेको’ उल्लेख गरेका छन् ।

यस्तो छ उपाध्यक्ष प्रत्यासी आचार्यको वक्तव्य  

गैरआवासीय नेपाली सङ्घसँग सम्बन्धित आदरणीय सम्पूर्ण अग्रज, समकालीन, महाधिवेशन प्रतिनिधि तथा मेरा शुभचिन्तक साथीहरूमा नमस्कार !

गैरआवासीय नेपाली सङ्घको आगामी ११औं महाधिवेशनमा मेरो उम्मेदवारीका विषयमा चासो र चिन्ता ब्यक्त गर्नुहुने हजुरहरू सम्पूर्णमा आभार ब्यक्त गर्दछु । गैरआवासीय नेपाली सङ्घभित्र केही वर्षदेखि देखापरेको आन्तरिक खिचातानी तथा असमझदारीलाई अन्त्य गरी विदेशमा रहेका हामी सबै गैरआवासीयहरूले गैरआवासीय नेपाली सङ्घ लाई आफ्नो साझा घर र सम्पूर्ण प्रवासी नेपालीलाई आफ्नो साझा परिवार सम्झन सक्ने वातावरणको निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता छ ।

यही मर्मलाई आत्मसात गर्दै एक सवल तथा सबैलाई बिना पूर्वाग्रह नेतृत्व दिन सक्ने कार्यसमिति निर्वाचित गर्ने दायित्व तपाईं–हामी सामु देखापरेको छ । गैरआवासीय नेपाली सङ्घको स्थापनादेखि आजसम्मका विभिन्न कालखण्डमा धेरै असहज परिस्थितिहरु पनि देखापरेको हाम्रासामु ताजै छ ।

गत १०औं महाधिवेशनमा त सङ्घ झण्डै समानान्तर हैसीयतमै विभाजनको डिलमा पुगेको तीतो यथार्थ यहाँहरू सबैबीच अवगत नै भएको विषय हो । यसमा अग्रजहरुको अथक प्रयास, तपाईं हामीहरुको तीव्र दबाब तथा नेपाल सरकारको सुझाव र दबाबका कारण गैरआवासीय नेपाली सङ्घ ठूलो दुर्घटनाबाट बच्न सफल भएको थियो । तथापि, पूर्णरूपमा सबैलाई समेटेर महाधिवेशन गर्न सकिएन । अतः हाम्रासामु देखिएका विभिन्न चुनौतीहरुलाई सामना गर्दै सबै गैरआवासीय नेपालीहरुको साझा, सक्षम, पारदर्शी एवं सवल सङ्घ बनाउने अभियानलाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आउँदै गरेको यसको महाधिवेशनमा आफू उपाध्यक्ष पदमा पुनः उम्मेदवार बन्ने निर्णयमा पुगेको छु ।

मैले एनसीसी द नेदरल्यान्ड्सको अध्यक्ष, आइसीसी सदस्य, यूरोप क्षेत्रिय संयोजक तथा गत १०औं महाधिवेशनबाट आइसीसी उपाध्यक्ष भएर संघमा काम गर्ने अवसर प्राप्त गरेको अनुभवका आधारमा पनि आगामी कार्यकालमा संसारभर रहनु भएका ‘एनआरएन’का मुद्दाहरुमा आवाज उठाउन आफुलाई दृढ रूपमा समर्पित गर्ने छु । मेरो उम्मेदवारीलाई यहाँहरुले अनुमोदन गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।

यहाँहरुको सहयोगको अपेक्षामा…
नारायण प्रसाद आचार्य
उम्मेदवार : उपाध्यक्ष २३–२५
द नेदरल्याण्ड