१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना पक्राउ

१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना पक्राउ


सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा सङ्खुवासभा पाँचखपन नगरपालिका-५ का विवेक राई र सोही जिल्ला मकालु गाउँपालिका-६ का अजय राई रहेको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिएका छन् ।

पक्राउ परेकाको साथबाट प्रहरीले एक हजार दरका १५ लाख ८७ हजार रुपैयाँ नक्कली नोटसहित तीन थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका दुई जनाले काठमाडौंबाट नक्कली नोट छपाई गरी पूर्वी बजारमा ल्याएको प्रहरीको भनाइ छ । पक्राउ परेको नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाइएको प्रहरी उपरीक्षक रेग्मीको भनाइ छ ।

इटहरी बजारमा नक्कली नोटको कारोबार भएको गोप्य सूचनाको आधारमा इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । चाडपर्व नजिकिँदै गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । गिरोहमा सङ्लग्न रहेका अन्य व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

पक्राउ परेकाको बयानको आधारमा प्रहरीले अर्का एक जनालाई शुक्रबार बिहान काठमाडौंबाट पक्राउ गरेको छ । यसअघि पनि भारतीय सीमावर्ती क्षेत्रका जिल्ला झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा पाँच सय र एक हजार रुपैयाँका नक्कली नोट फेला परेका थिए ।