घुमुवा असई हाकिमको प्यारो भएपछि…

घुमुवा असई हाकिमको प्यारो भएपछि…


६ महिनामा तीन पटक असई साहको मलेसिया भ्रमण रहश्यपूर्ण !

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र श्रेष्ठका ‘घुमुवा’ असई श्यामसुन्दर साह गत वैशाखदेखि असोजसम्ममा तीन पटक मलेशियाको घुमघाम गरेर पुरानै पेशामा फर्किएका छन् । जवानदेखि असई हुँदासम्म कमै मात्रामा वर्दी पहिरिएका असई साह यति छोटो समयमा केका लागि तीन-तीन पटक मलेशिया पुगे भन्ने कुरा रहस्मय रहेको छ ।

आफू प्रदेशमा हुँदा असई श्यामसुन्दर साहको तस्करहरूसँगको मितेरी-सम्बन्धबारे राम्रो जानकार रहेका एसपी महेन्द्र श्रेष्ठले कुनै हालतमा घुमुवामा उनलाई नराख्ने अडान लिएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटको कमाण्डरका रूपमा सरुवा हुनेवित्तिकै पहिले त्यस्तो अडान बोकेका एसपी श्रेष्ठले मातहतका डिएसपीलगायत अन्य अधिकृतको भन्दा उनै विवादित असई साहको कुरा बढी सुन्ने गरेको बताइन्छ ।

पूर्व आइजीपी धिरजप्रताप सिंहको पनि प्रियपात्र रहेका असई साह सिंह एसपी हुँदा र प्रदेशको प्रमुख रहँदा राम्रो असुली गर्ने भएका कारण ‘घुमुवा’ बन्ने मौका पाएका थिए । सिंह आइजीपी हुँदा साहलाई एकल बढुवा गरेर पुरस्कृतसमेत गरेको सन्दर्भ अहिले पनि बेला-बेला प्रहरीभित्र चर्चाको विषय बन्ने गरेको छ ।

मधेस प्रदेशका २५ जना अन्य घुमुवाहरू काज सरुवा हुँदा यिनी साह एक जना मात्र कतै जानुपरेको छैन । पटक-पटकको मलेशिया भ्रमण र सधैं सादा पोशाकमा हिँड्ने साहलाई केका लागि कसको संरक्षण रहेको छ भन्ने रहस्यमय विषय बनेको छ । असई साहको प्रमुख धन्धा भनेको तस्करसँग मिलेर पैसा उठाउने हो भनी उनीनिकटकै प्रहरीकर्मीहरू बताउँछन् ।

नेपालबाट मटर, मदिरा पठाउने र भारतबाट लत्ताकपडा ल्याउने तस्करहरूलाई लाइन मिलाउने साहको प्रमुख काम हो । ताप्लेजुङ काज भएका साहलाई डिआइजी जनक भट्टराई र एआइजी मीरा चौधरीको दबाबमा रौतहटमै राखिएको पनि बताइन्छ । डिआइजी भट्टराई प्रदेशप्रमुख हुन् भने एआइजी चौधरी हेडक्वाटरमा कार्यरत छिन् ।