प्रेमिकाको हत्या गरेको आरोपमा ६ वर्षपछि प्रतिवादी पक्राउ

प्रेमिकाको हत्या गरेको आरोपमा ६ वर्षपछि प्रतिवादी पक्राउ


प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साविक काचन गाविस-६)का ३५ वर्षीय अरुणकुमार मिझारलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ विराटनगर महानगरपालिका-५ की ३२ वर्षीय ललिताकुमारी रामको हत्या गरी फरार रहेका मिझारलाई ६ वर्षपछि यही असोज ५ गते सप्तरी काचन वोदेबर्साइन नगरपालिका-८ काचनबाट पक्राउ गरिएको पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिएका छन् ।

कानूनबाट बच्न मिझारले देशै छाडेर बस्दै आएको एसपी मिश्रले बताजानकारी दिए । उनी मलेसिया, दुबई, भारतलगायतका मुलुकहरूमा लुकिछिपी बस्दै आएका थिए । हाल नेपाल आएको समयमा प्रतिवादी मिझारलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरको सहयोगमा सप्तरीबाट पक्राउ गरिएको हो ।

‘ललिता २०७४ भदौ २१ गते मोरङबाट काठमाडौं आएको परिवारले जानकारी दिएका थिए । धादिङको धुनीबेँसी नगरपालिका-९ टायलघरस्थित पृथ्वी राजमार्ग अँधेरीखोलामा २०७४ साल असोज १२ गते साँझ बेवारिसे दुर्गन्धित अवस्थामा उनलाई मृत भेटिएको थियो । मृतकले लगाएको कपडा चप्पल हेरी भाइले मृतक ललितालाई पहिचान गरेका थिए’, एसपी मिश्रले बताए ।

उनका अनुसार मृतक ललिता पेसाले स्टाफ नर्स हुन् । मृतकको मोबाइल तथा प्राविधिक अनुसन्धानपछि मृतक ललिता र प्रतिवादी मिझार प्रेम सम्बन्धमा रहेका थिए । उनीहरूबीचको सम्बन्धबाट मृतक ललिता गर्भवती रहेको खुलेको छ । उनीहरूबीच असमझदारीका कारण मिझारले हत्या गरेको पुष्टि भएको हो । अहिले मिझारलाई धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।