सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका एकै घरका बाबु छोराको एउटै चितामा अन्त्येष्टि गरिएको छ । सोमबार साँझ ६ बजेतिर ग्वारखोलाको चितामा अन्त्येष्टि गरिएको हो ।
स्थानीय सागर रोकाले दिएको जानकारीअनुसार दुर्घटनामा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका-१८ ग्वारखोला टोलका बुबा ५० वर्षीय गणेश बुढा र छोरा २५ वर्षीय भक्तबहादुरको एउटै चितामा अन्त्येष्टि गरिएको हो ।
दुवै जनाको सल्यान कपुरकोटमा गाउँपालिका-३ चोरखोला नजिकैको सेतापैरामा दुर्घटना हुँदा मृत्यु भएको हो । आफ्नै गाडीमा तरकारी ल्याउँदै गरेको अवस्थामा सोमबार बिहान साढे ६ बजेतिर जीप अनियन्त्रित भई पल्टिँदा घटनास्थलमै मृत्यु भएको थियो ।
छोराले गाडी चलाइरहेका थिए भने बुबा सोही गाडीमा सवार थिए । दुवै बाबु छोरा सल्यान, रोल्पालगायतबाट तरकारी ल्याएर दाङसहित बुटवल, नारायणघट, बाँकेलगायतका बजारमा बिक्री गर्दै आएका थिए । उनीहरू पाँच वर्षदेखि यसरी काम गर्दै आएको वडाध्यक्ष माधव वलीको भनाइ छ ।
रा १ च १०२५ नम्बरको जीप साढे तीन सय मिटर तल खस्दा टुक्राटुक्रा भएको थियो । सो दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका-२ निवासी ३५ वर्षीय नारायण योगी घाइते भएका छन् ।
प्रतिक्रिया