उषाले अहिले किन गरिन् यस्तो खुलासा ?

उषाले अहिले किन गरिन् यस्तो खुलासा ?


चर्चित अभिनेतृ एवम् मोडल उषा रजक एक प्रभावशाली सामाजिक अभियन्ताको भूमिकामा समेत देखिन्छिन् । उनले सामाजिक सञ्जालमा लेखेका स्ट्याटस तथा लोड गरेका भिडियो क्लिपले तत्काल असर देखाउँछन् । सामाजिक बेथिति अन्त्य तथा नियन्त्रणका लागि प्रभावकारी नतिजा देखाएका उषाका स्ट्याटसहरू प्रशस्तै भेटिन्छन् ।

नेपाली कलाक्षेत्रका अभिनेता/अभिनेतृमध्ये तुलनात्मकरूपमा उषा रजक एक बौद्धिक नायिकाको रूपमा पनि परिचित छिन् । जानाजान विवाद निम्तिने या कसैलाई विवादमा तान्ने काम उनीबाट भएको भेटिन्न । तर उषाले हालै खुलासा गरेको एक प्रसङ्गले यतिबेला नेपाली सिनेक्षेत्रका चर्चित अभिनेता, लेखक तथा निर्देशक अनुप बराललाई अप्ठ्यारोमा पारेको छ ।

उषाले बरालमाथि नेपोटिजमको आरोप लगाएकी छिन् । १७ वर्षअघिको एउटा प्रसङ्ग कोट्याउँदै उनले बरालमाथि यस्तो आरोप लगाएकी हुन् । बरालको ‘एक्टर्स स्टुडियो’ नामक अभिनय सिकाउने स्टुडियोबाट अभिनय सिकेकी रजकले बरालमाथि ‘नेपोटिजम’ र ‘फेबोरिजम’ गरेको आरोप लगाएकी छिन् । अभिनेत्री दिया मास्केलाई मात्र बरालले विशेष फेवर गर्ने र आएका सबै राम्रा रोलमा अनुबन्धित गराउने गरेको उनको आरोप छ ।

उषाले आफ्नो विगतलाई सम्झिँदै हालै सामाजिक सञ्जालमा लेखेकी छिन्– ‘एक्टर्स स्टुडियोको पहिलो ब्याचको विद्यार्थी म । १७ वर्षअघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल, आएका राम्रा स्क्रिप्ट र सबै मुख्य पात्रमा दिया मास्केलाई मात्र अनुबन्धित गर्नुहुन्थ्यो, अहिले पनि त्यही कुरीति कायम नै छ । गुरुबाट यो अपेक्षा गरिँदैन, कमसेकम मैले जानेको गुरुको परिभाषा यस्तो छैन ।’ आफू काष्ट भएको चलचित्रमा समेत रातारात धाँधली गरेर बरालले दिया मास्केलाई सो चलचित्र दिएको कुरा उषाले आफ्नो स्टाट्समा उल्लेख गरेकी छन् ।

उनले अगाडि लेखेकी छन्– ‘कागबेनी, नेपालको पहिलो डिजिटल चलचित्रको अडिसनबाट निर्देशक टिमबाट मुख्य पात्रमा म कास्ट भएकी थिएँ रे । यो कुरा चलचित्रको दुई प्रमुख पात्रले भन्नु भएको मलाई, तर रातारात म आउट र दिया मास्के इन हुनुभयो । त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ । त्यो दिन मैले एक गुरुको अर्कै रुप देखेँ । मैले जीवनको एक कालो पाटो देखेँ ।’

स्टाट्समा उनले आफूसँग हाल केही प्रमाण नभएको पनि बताएकी छन् । पहिला सिने क्षेत्रमा जस्तो कुरीति थियो, सो कुरीति अहिले पनि उस्तै रहेको उनको जिकिर छ । त्यस विषयमा आफूले कुरा गरेपनि अनुपले जवाफ नदिएको उषाले उल्लेख गरेकी छन् । ‘त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भा’को सर यस्तो भन्दा कता-कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नु भएको याद छ । १९ वर्षकी सायद मैले बुझिनँ अथवा बुझ पचाएँ र खुरुक्क गएर चुपचाप क्लासमा बसेँ’ उनले लेखेकी छिन्– ‘१७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिनँ हो म अलिकति त काँतर नै हो ।’