- सुरेन्द्र सुवेदी, काठमाडौं
करिव ३० हजार सर्वसाधारणलाई मिटरब्याजबाट ठगी गरेका केही ठग भूमिगत भएका छन् । प्रहरीले खोजी तीब्र बनाएपछि उनीहरू सम्पर्कमा आउनुको बदलामा घर–गाउँ नै छोडेर भूमिगत भएको प्रहरी जनाउँछ । फरारमा रहेका त्यस्ता व्यक्तिलाई खोजी गर्न आयोगले प्रहरीको सहयोग लिइरहेको छ ।
सम्पर्कमा आउन भन्दै अनुचित लेनदेन (मिटर ब्याजसम्बन्धी) जाँचबुझ आयोगले सूचना जारी गरेपछि मिटरब्याजीहरू सम्पर्कमा नआएका र खोजी गर्दा पनि फेला नपरेको आयोग सदस्य उत्तमराज सुवेदीले बताए । सदस्य सुवेदी भन्छन्, ‘उजुरी परेकामध्ये ६ हजार ७ सय ७२ मुद्धा मिलिसकेका छन् । जसबाट १ सय ८३ बिघा १९ कठ्ठा १२ धुर जग्गा पीडित कृषकले पाइसकेका छन् ।’
देशका ३१ जिल्लामा मिटरब्याजी नभएको अनुमान छ । ४६ जिल्लाबाट मात्र पीडितले निवेदन दिएकोले बाँकी जिल्लामा पीडितहरू नभएको अनुमान गरिएको हो । मिटरब्याजीहरू सबैभन्दा धेर मधेश प्रदेशमा छन् । त्यहाँका ८ वटै जिल्लामा १९ हजार ७ सय ५१ जना विपन्न ठगीमा परेका हुन् । सबैभन्दा बढी धनुषामा ३ हजार ६ सय १५ जना, बारामा ३ हजार ३ सय ५३ जना र सिराहामा २ हजार ९ सय १४ जना पीडित फेला परेको आयोगले जनाएको छ ।
चार प्रकारका पीडित
मिटरब्याजीबाट चार वर्ग ठगिएको देखिन्छ । ती चारमध्ये गरिव मजदूर धेरै ठगिएका छन् । गुजाराका लागि साहुसित ऋण लिने उनीहरू साहुको ठगीमा परेका हुन् । यस्ता पीडित करिव ५० प्रतिशत छन् । तिनीहरूको संख्या करिव १४ हजार रहेको आयोग सदस्य सुुवेदीले जानकारी दिए । गरिव मजदूरहरूले छोराछोरीको विवाह, ब्रतवन्ध, चाडपर्वका लागि जग्गा धितो राखेर ब्याजमा ऋण लिने गरेको पाइन्छ ।
दोश्रो वर्गमा मध्यम वर्गीय समुदाय छ । घर बनाउन, वैदेशिक रोजगारीका लागि विदेश जान, ब्यवसाय बढाउन यो वर्गले ऋण लिएको पाइन्छ । तेश्रोमा ठूला व्यापारी पनि ठगिएका छन् । ब्यापारको घाटा पूर्ति गर्न, ब्यापार बढाउन, महँगा गाडी किन्न, जुवातास खेल्न र थप सम्पत्ति बढाउन यो वर्गले ऋण लिएको अनुसन्धानबाट खुलेको छ । चौथोमा टा पल्टिएका ब्यापारी छन् । स्तरबाहेक जुवा खेलेर डुबेका, मोजमस्तीमा सम्पत्ति उडाएका, महंगा गाडी किनेका व्यक्तिहरू अन्नतः टाठ पल्टिएर ऋण लिँदै मिटर ब्याजीसित फसेको पाइन्छ ।
दोश्रो, तेश्रो र चौथो वर्गमा ठगिएका व्यक्ति क्रमशः करिव २० प्रतिशत दरको हाराहारीमा रहेका छन् ।
प्रतिक्रिया