- कपिलवस्तु प्रतिनिधि
सुनतस्करीको सन्दर्भले चर्चा बटुलिरहेको परिवेशमा रक्तचन्दनको तस्करीबारे खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले साढे ६ क्विन्टल रक्तचन्दन बरामद गरेपछि रक्तचन्दन तस्करी पुनः चर्चामा आएको हो ।
प्रहरीले रक्तचन्दनसहित ८ जनालाई पक्राउ गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा कपिलबस्तु शिवराज नगरपालिका ३ का टिकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिश पन्त, रामसेवक चौधरी, दीपक कार्की र अर्घाखाँची जिल्लाको पाणिनी गार्उपालिका ७ निवासी गोकुल दर्लामी तथा मालारानी गाउँपालिका ३ का नीमबहादुर नेपाली रहेका छन् ।
अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १ सय ५० ग्राम रक्तचन्दन बुद्धभूमि नगरपालिका वडा नं. १ पत्थरकोटबाट नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर थापाले जानकारी दिए ।
रक्तचन्दन ढुवानीमा प्रयोग गरिएको लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताइएको छ । रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया