पैगम्बरको विरुद्धमा स्टाटस लेख्नेमाथि कारवाही माग गर्दै नेपालगंजमा विरोध प्रर्दशन

पैगम्बरको विरुद्धमा स्टाटस लेख्नेमाथि कारवाही माग गर्दै नेपालगंजमा विरोध प्रर्दशन


सामाजिक सद्भावमा खलल पुऱ्याउनेहरुमाथि विद्युतीय अपराधको मुद्दा चलाइने

बाँकेको वर्षौंदेखिको सामाजिक सद्भाव बिगार्ने काम धर्मको नाममा केही व्यक्तिले गरेको भन्दै त्यस्तालाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरिएको छ । आइतबार सामाजिक तथा धार्मिक सद्भावका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको बृहत् बैठकमा सहभागीहरुले धर्मको नाममा सद्भाव बिगार्नेलाई कारबाही गर्न सुझाव दिएका छन् ।

व्यक्तिगत कुरालाई सामाजिक सञ्जालमा राखेर ठूलो बनाउन खोज्नेको पहिचान गरेर कारबाही गर्नका लागि स्थानीय प्रशासनसमक्ष सामाजिक सद्भाव समितिका संयोजक फिरोज हल्वाई, वडा नं. ५ का अध्यक्ष सराफत अलि शेष लगायत मुस्लिम धर्मका अगुवाहरुले आग्रह गरेका हुन् ।

इस्लाम धर्मका विरुद्धमा विवाद स्पद भिडियो, स्टाटस लेख्ने र सेयर गर्नुका साथै पैगम्बर मोहम्मदका विरुद्धमा समाजिक संजालमा लेख्नेहरु माथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा नियन्त्रणमा लिई कारवाही गर्न मुस्लिमहरुले किटानी नाम सहित ज्ञापन पत्र बुझाएका छन् । सामाजिक संजालमा स्टाटस लेख्नेहरुको विरुद्धमा नेपालगंजमा मुस्लिमहरुले प्रर्दशन समेत गरेका थिए ।

ज्ञापनपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चाले विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू उत्पादन गरी सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रदर्शन गर्ने र धार्मिक आस्थामाथि अघात पुग्ने कुनै कार्य नगर्न नगराउन सबैसँग अपिल गर्दै इस्लाम धर्मको आस्थामाथि चोट पुग्ने गरी स्टाटस लेख्नेहरु माथि ४८ घण्टाभित्रै विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा चलाउने प्रतिबद्धता गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी आचार्यले धर्मसम्बन्धी विवादमा सभा-जुलुस नगर्न नगराउन सम्बन्धी पक्षहरुसँग आग्रह गर्दै समाजमा सदभाव बिगार्न भूमिका खेल्ने जुन धर्मको जुनसुकै स्तरको व्यक्ति भए पनि नछोडने चेतावनी दिए ।

सदभाव समितिका संयोजक फिरोज हल्वाइले सम्प्रदायिक सद्भाव बिगार्ने काम कहीँकतैबाट हुनु समाजको लागि ठीक नभएकाले यस्ता गतिविधि गर्नेको पहिचान गरेर कारबाही गर्नका लागि सुझाव दिएका थिए । बैठकमा बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठोर, अनुसन्धानका प्रमुख मोहन कुमार लगायतको सहभागिता रहेको थियो ।