- सुरेन्द्र सुवेदी, काठमाडौं
देशमा आर्थिक मन्दी चरमरूपमा भइरहेकोले ब्यापार, व्यवसाय धराशायी बनिरहेका छन् । यही सयममा विदेशमा पनि मन्दीको असरले देशमा उत्पादित सामानको निकासीमा ह्रास आउन थालेको छ ।
नेपालबाट विश्व-बजारमा निकासी हुने हस्तकलाका सामानको निकासीमा २१ प्रतिशत ह्रास आएको यसको ज्वलन्त उदाहरण हो । विगत वर्षमा वार्षिक १२ अर्ब रुपैयाँबढीको निकासी हुने नेपालका हस्तकलाको ब्यापार गत आर्थिक वर्षको साउन मसान्तसम्ममा घटेर ९ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । नेपाल हस्तकला महासंघका निमित्त कार्यकारी निर्देशक ऋषिराज सुवेदीका अनुसार २ अर्ब ५२ करोड रुपैयाँले निर्यात घट्नुलाई सामान्य रूपले लिन सकिन्न ।
नेपालबाट गलैँचा, पस्मिना, सेरामिक, काष्ठकला, मिथिला कला, हातेकागज, फेल्ट (ऊनीबाट बन्ने सामान), बाँस, अल्लो, केराबाट बनाएका सामान र मूर्तिहरू प्रमुखरूपमा निकासी हुने गरेका छन् ।
महासंघका अनुसार नेपालबाट हस्तकलाका सामान अधिकरूपमा अमेरिका जाने गरेको छ । त्यसपछि डेनमार्क, जर्मन, बेलायत र चीनमा निकासी हुन्छ । ‘पछिल्लो समय अमेरिकामा पनि मन्दी सुरु भएको चर्चासँगै हस्तकलाका सामान निकासीमा पनि असर पुगेको पाइन्छ’, महासंघका निमित्त कार्यकारी निर्देशक सुवेदीले भने ।
देशमा हस्तकलामा ३६ विधामा सामान उत्पादन हुने गरेका छन् । धातु-मूर्ति, थाङ्का-पौवा, मिथिला कलाजस्ता विधामा ८० प्रकारका सामान उत्पादन हुन्छन् । महांसघका अनुसार करिव ४ हजार सदस्य हस्तकलामा आवद्ध छन् तर तीमध्ये १ हजार ६ सयमात्र सक्रिय रहेका छन् । मन्दी, कच्चा पदार्थको अभाव, युवापुस्तामा पेशाप्रतिका आकर्षण नहुनु वा सीप पुस्तान्तरण गर्न नसक्नुजस्ता कारणले हस्तकला उद्योग पनि घाटामा चल्ने गरेको व्यवसायीहरूको भनाइ छ ।
सरकारले पनि हस्तकलालाई प्रोत्साहन गर्न सकेको छैन । विगतमा वार्षिक २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्दै आएको सरकारले चालु आर्थिक वर्षकालागि जम्मा ७ लाख रुपैयाँमात्र उपलब्ध गराउने बजेटमा उल्लेख छ । आर्थिक मन्दी, सरकारी बेवास्ता र पुस्तान्तरण नहुँदा हस्तकला उद्योग दिनदिनै बन्द हुने अवस्थामा पुग्न लागेका छन् ।
प्रतिक्रिया