ट्राफिक प्रहरीले सवारी अनुशासन उल्लङ्घन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको निष्कर्ष निकालेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको सवारी दुर्घटनाको विश्लेषणमा अधिकांश दुर्घटना तीव्र गति, ट्राफिक सङ्केत वा इशाराको उल्लङ्घन गरेको पाइएको हो ।
त्यसका बाहेक मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनेजस्ता चालकको लापरबाही पनि देखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । ‘तीव्र गति, जीवनको क्षति’ भन्ने ट्राफिक प्रहरीको नारा नै रहेको र अहिले अवस्था पनि त्यस्तै भइरहेको उहाँले बताउनुभयो ।
यस्तै सडक र सवारी साधनको खराब अवस्था, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभावमा पनि दुर्घटना बढिरहेको उहाँले बताउनुभयो । यसमा मुख्य गरी जनचेतना जगाउनुपर्ने आवश्यकता औँल्याइएको छ । त्यसैले अहिले उपत्यकामा ट्राफिक सप्ताहमार्फत सचेतना अभियान थालिएको उहाँले बताउनुभयो । यो क्रमलाई सप्ताहका रूपमा मात्रै सीमित नगरी नियमित गरिने उहाँले जानकारी दिनुभयो ।
पछिल्लो पाँच वर्षमा देशभर झण्डै १३ हजार मानिसको गाडी दुर्घटबाट मृत्यु भएको छ । हजारौँ घाइते भएका छन् । गत एक वर्षमा मात्रै देशमा झण्डै तीन हजारले दुर्घटनाबाट ज्यान गुमाएका छन् । सवारी साधनको सङ्ख्यामा आएको वृद्धिसँगै दुर्घटना पनि बढीरहेको प्रहरीको दाबी छ ।
त्यसैले चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक सचेतनालाई अभियानका रूपमा अघि बढाउनुपर्ने प्रहरीको निष्कर्ष छ ।
प्रतिक्रिया