एनआरएनए युरोप-संयोजकमा सागर सुवेदीको उम्मेदवारी

एनआरएनए युरोप-संयोजकमा सागर सुवेदीको उम्मेदवारी


यस्ता छन् सुवेदीका प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन नजिकिएको छ । यही असोज ३० देखि कात्तिक ३ गतेसम्म (१७–२० अक्टोवर) एनआरएनए महाधिवेशन आयोजना हुँदैछ । हरेक दुई वर्षमा आयोजना हुने एनआरएनए महाधिवेशनबाट संघको नयाँ नेतृत्वको छनोट हुने प्रावधानअनुसार विगतमा झैँ यसपटक पनि एनआरएन अभियन्ताहरू चुनावी मैदानमा उत्रिएका छन् । आ-आफ्नो उम्मेदवारी घोषणा गर्दै साथ-समर्थन तथा मत माग्ने क्रमले तीव्रता लिएको छ । यसैक्रममा एनआरएनएका उदीयमान युवा अभियन्ता सागर सुवेदीले पनि युरोप-संयोजकको उम्मेदवारी घोषणा गर्दै आफूलाई मैदानमा उतारेका छन् ।

मातृभूमिप्रति अत्यन्त लगाव राख्ने समाजसेवी युवा हुन् सागर सुवेदी । करिव अढाइ दशक अवधिदेखि अष्ट्रिया रहँदै आए पनि मातृभूमिप्रति अत्यन्त लगाव राख्ने उनी नेपालमा लादिएको सङ्घीय गणतान्त्रिक प्रणालीप्रति असन्तुष्टि जनाउँछन् । जबर्जस्त लादिएको प्रणाली र पात्रहरूका कारण नेपाल आज दयनिय अवस्थामा पुगेको उनको ठहर छ । एक बौद्धिक युवाको छवि बनाएका सागर आफ्ना लेख-रचना एवम् सार्वजनिक अभिव्यक्तिको माध्यमबाट नेपालजस्तो मुलुकका लागि राजसंस्थाको अभिभावकीय भूमिका अपरिहार्य रहेको प्रतिक्रिया दिन हिच्किचाउँदैनन् ।

राजनीतिक आस्था जेसुकै भएपनि गैरआवासीय नेपाली संघको माध्यमबाट मातृभूमिसँग जोडिएर केही फरक कार्य गरी देखाउने हुटहुटी बोकेका सागर सुवेदी एनआरएनएमा समेत सुधार र परिवर्तनको खाँचो देख्छन् । गैरआवासीय नेपाली संघको पछिल्लो बिग्रेको छविलाई सुधार गरी बेग्लै उचाइमा पुऱ्याउने लक्ष्य बोकेका उनले आफ्नो उम्मेदवारीको आधिकारिक घोषणा गर्दै भनेका छन्-

‘गैरआवासीय नेपाली संघमा आवद्ध युरोपवासी आदरणीय केन्द्रिय प्रतिनिधिज्युहरू, युरोप-संयोजकका लागि मैले तय गरेको नारा ‘आम गैरआवासीयको युरोप-नेतृत्व आम गैरआवासीय’ लिएर तपाईंहरू माझ आइरहेको छु । तपाईं केन्द्रिय प्रतिनिधिज्युहरू जस्तै म पनि एक सामान्य गैरआवासीय व्यक्ति हुँ, जसले गैरआवासीय नेपाली संघको पछिल्लो बिग्रेको छविलाई सुधार गरी बेग्लै उचाइमा पुऱ्याउने लक्ष्य राखेको छ । मैले सदैव भनिरहेको विषय भनेको संस्था र यसमा आवद्ध पदाधिकारीहरू वैधानिक अनुशासनमा रहनुपर्दछ, यो मेरो विशेष मान्यता हो । संघभित्र वैधानिक अनुशासन कायम भएको खण्डमा यसको गुण र गाथा दोश्रो पुस्तामा हस्तान्तरण हुने मेरो बुझाइ छ । त्यसैले आफ्नो करिव अठारमहिने युरोप-उपसंयोजकको कार्यकालमा मैले वैधानिक अनुशासन कायम राख्दै समयले भ्याएसम्म आफ्नो तर्फबाट संघलाई योगदान दिने प्रयास गरेँ/गरिरहेको छु ।’

‘पेसाले एकेडेमिक आपतकालीन नर्सिङ अधिकारीको रूपमा युरोपकै ठुलो मानिने मेडिसिन विश्वविश्वविद्यालय भियनामा कार्यरत रहेको छु । तपाईंहरूको विश्वासले निर्वाचित हुने अवसर मिल्यो भने मैले आफ्नो दुईवर्षे युरोप संयोजक कार्यकालमा केही गर्न सकिने ठोस विषयलाई तपाईंहरूसमक्ष बुँदागत रूपमा राख्न चाहन्छु ।’

१) युरोपस्थित हरेक नवनिर्वाचित एनसीसीको अध्यक्ष तथा महासचिवहरूलाई कम्तिमा एकहप्ते संस्थागत कोचिङको अनिवार्य ब्यवस्था गर्ने । यसो गर्दा निर्वाचित भएर तपाईं-हाम्रो सेवामा आउने पदाधिकारीहरूलाई संस्था तथा आफ्नो कर्तव्य/दायित्व बुझ्न सजिलो हुने, जिम्मेववारी बहन प्रक्रिया सहज तुल्याउन मद्दत गर्ने लगायतका काम हुनेछन् ।

२) सामुहिक लगानी भनेर संघको प्रारम्भिक योजना भएता पनि आज कुल गैरआवासीयहरूको करिव २ प्रतिशत व्यक्तिहरूले आफ्नो लगानी गरेर आफै मुनाफा कमाएको अवस्थामा अब यस विषयमा सानो लगानीबाट पनि उस्तै किसिमको प्रतिफल दिने लगानीका विषयमा विज्ञहरूलाई समावेश गरी बृहत रूपमा योजना बनाएर कार्यान्वयनका लागि अगाडि बढ्ने छु ।

३) नेपालको राजनीतिक नेतृत्वलाई यहाँबाट टिकेट काटेर, होटल बुकिङ गरेर रिझाउँदै उहाहरू सँग तस्बिर लिई आफ्नो रवाफ देखाउन भन्दा छिमेकी मुलुक भारतको गुजरात राज्यका तत्कालिन मुख्य मन्त्री नरेन्द्र मोदीले ‘एनआरआई’लाई विमानस्थलमा रातो कार्पेट राखेर स्वागत गरेजस्तै नेपालका राजनीतिजीवीबाट पनि गैरआवासीय नेपाली संघमा आवद्ध बक्तित्वहरूले आफ्नो जन्मभूमिमा गरेको योगदानका कारण आत्मीय स्वागत हुने वातावरण निर्माणको सुरुवात गर्नेछु । यसको लागि एक छुट्टै विज्ञ सल्लाहकार समिति गठन गरेर कार्यान्वयन दिशामा लैजाने प्रयास गर्नेछु ।

४) युरोप महादिपमा लोकप्रिय खेल फुटबललाई नेपाली युवा पुस्तालाई एकआपस जोड्ने माध्यम ‘फुटबल’ बनाउँदै एनआरएनए युरो कप आयोजना गर्ने, यसको लागि हरेक वर्ष एक पटक युरोप स्तरमा अलग-अलग मुलुकहरूमा यस्तो प्रतियोगिताको आयोजना गर्ने, जसमा यसमा आवद्ध हरेक एनसीसीले आफ्नो मुलुकको एक टिम निर्माण गरी त्यसलाई तयार गरेर एनआरएनए युरो कप प्रतियोगितामा प्रतिष्पर्धा गर्न पठाउने । यसका लागि सरोकारवालाहरूको सहयोगमा बजेट र छुट्टै योजनासमेत बनाएर यथासम्भव छिटो कार्यान्वयनको दिशामा अघि बढ्ने छु ।

५) राजनीतिक आस्था सबैका हुन सक्लान्, ती आस्थाहरूलाई मेरो सम्मान छ, मेरो पुस्तामा त झन् कुनै न कुनै आस्थाको ट्याग बोकेर आज हामी युरोपमा छौँ, यहाँ हुर्कंदै गरेको भोलिको पुस्ताले नेपाली राजनीतिक पार्टीको ट्याग नबोक्ने हुँदा, संघमा आउने व्यक्तित्व राजनीतिक पार्टीको झण्डा लिएर भन्दा आफ्नो कार्यक्षमताको आधारमा संघमा आउने वातावरणको अवस्था सिर्जना गर्न पहल गर्नेछु । मैले गर्ने कार्यसम्पादनमा कुनै राजनीतिक रङ्ग नभरी आफ्नो कार्यसम्पादन गर्नेछु ।

६) विधानले सिर्जना गरेको युरोप क्षेत्रको समितिलाई ससक्त बनाउँदै स्वायत्त, अनुशाशित एनसीसीहरूको पक्षमा काम गर्ने कार्यतालिका निर्माण गरेर सोहीअनुसार काम गर्नेछु ।

७) एनआरएनए युरो कप फुटबललाई अहिलेको इआरएम जस्तै बनाउने छु ।

८) क्षेत्रिय बैठकमा अनावश्यक अतिथि बोलाएर निद्रा लाग्ने भाषणहरूलाई बन्द गर्दै अनावश्यक कार्यक्रमसमेत लाई हटाएर एनसीसीको प्रमुख भूमिका बन्ने क्षेत्रिय बैठकको आयोजना गर्नेछु । जसबाट एनसीसीमा रहेर काम गरिरहनुभएका युवा र महिला दिदीबहिनीलाई सँगै हिँड्न सक्ने सम्मानजनक स्थिति बनाउन काम गर्नेछु ।

९) हात्तीको दाँत जस्तो भूमिकाविहीन बनाइएको वर्तमान आइसीसी सदस्यलाई एनसीसीको आइसीसीसँगको पुल बनाउने दिशामा जिम्मेवारी प्रदान गर्ने तुल्याइ आइसीसी सदस्यको महत्व उच्च बनाउँदै सशक्त भूमिका प्रदान गर्ने परिपाटीको निर्माण गर्नेछु ।

१०) हरेक निर्णय गर्नुभन्दा पहिला गैरआवासीय तथा यससँग सम्बन्धित रहनुभएका क्षेत्रगत विज्ञसँग राय लिने र ती निर्णयहरूमा पारदर्शिता गराउने काम गर्नेछु ।

११) समाजलाई योगदान दिने हरेक व्यक्तित्वलाई उनीहरूको कार्यको आधारमा मुल्यांकन गर्ने काम गर्नेछु ।

१२) केन्द्र (आइसीसी) का हरेक वैधानिक निर्णयमा काम गर्नेछु, साथै हरेक संघका सदस्यको सुझाव र सल्लाहलाई सम्बन्धित ठाउँमा पुऱ्याउँदै कार्यान्वयनको लागि काम गर्नेछु ।

१३) विषयगत शिक्षालाई नेपाल र युरोपका विश्वविद्यालय, प्राविधिक विद्यालयबाट ज्ञान र सिप आदानप्रदानको लागि ठोस योजना बनाएर काम गर्नेछु । विशेषगरी नर्सिङ शिक्षासँग सम्बन्धित विषयलाई यहाँका निकायहरूमा जोडी समन्वय गराइ स्तर अभिवृद्धिका लागि काम गर्नेछु ।

१४) युरोपको आकाशमा नेपाली जहाज ल्याउने काम एक युरोप संयोजकले गर्न सक्दैन । यो युरोपियन हवाई नीति र यसको सुरक्षासँग सम्बन्धित भएकोले मैले यहाँ अहिले नै केही बाचा गर्न नमिल्ला ।

१५) संस्थाको आर्थिक गतिविधिलाई पारदर्शी बनाउँदै उच्च प्राथमिकता दिएर काम गर्नेछु । क्षेत्रिय बैठकहरूमा आजसम्म देखिएको आर्थिक अस्पष्टतालाई प्रस्ट पार्नेछु ।

१६) आजसम्म आयोजना गरिएका क्षेत्रिय बैठकहरूमा गरिएका घोषणा पत्रहरूलाई संकलन गरेर आजसम्म ती घोषणामा के काम भएका रहेछन् भन्ने विषयमा तपाईंहरूलाई जानकारी गराउने छु ।

१७) उप-संयोजक सहकर्मीहरूको उच्च सम्मान हुने गरी कार्यविभाजन गरेर काम गर्नेछु भने महिला र युवा-संयोजकहरूको कार्यमा यथासक्य योगदान दिनेछु ।

१८) बाँकी विषय तपाईं आम गैरआवासीय मित्रहरूले दिएको सुझावका अधारमा आफ्नो कार्यसम्पादन गर्नेछु ।